Best Online News From Nepal

विवाह र त्रि-ऋण 

वैदिक संस्कृतिमा विवाह संस्थाको स्थापना देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट उन्मुक्तिका लागि भएको हो | विवाहसंस्थाको अभावमा मनुष्यले उपरोक्त ऋण तिर्न सक्दैन | मनुष्यको सम्पूर्ण जीवन देव-कृपामा आधारित भएकोले यज्ञआदिका माध्यमबाट देवताहरूलाई धन्यवाद गर्नुपर्छ |

विद्याध्ययन गरेर मनुष्यले ऋषि ऋणतिर्न सक्छ | यदि कुनै मान्छे निरक्षर, अनपढ, अशिक्षित वा अपठित भएर मर्छ भने तेसको मोक्ष हुँदैन | वेद-उपनिषद्को अध्ययन गर्नेले मात्र ऋषि ऋण तिर्न सक्छ | यसरी विवाह संस्थाले हरेक मान्छेको लागि शिक्षाको ग्यारेन्टी गर्छ | गुरुकुल स्थापित गरेर, पुस्तकहरू लेखेर, मन्दिर, पाटीपौवा बनाएर, ज्ञान-विज्ञानको विस्तार गरेर मात्र मान्छेले ऋषि ऋण तिर्छ |

मान्छेको जन्म मातापिताबाट हुन्छ | हरेक व्यक्तिले आफ्ना पूर्वजहरूप्रति धन्यवाद दिनुपर्छ | विवाह नगरी सन्तान हुँदैनन् | सन्तानले मात्र आफ्ना पूर्वजलाई सम्झिन्छन् | नेपालमा कुलानी-पूजाका माध्यमबाट हामीले पितृहरुप्रति धन्यवाद ज्ञापन गरिरहेका हुन्छौं | पूर्वजहरूको सम्झना गर्न र तिनलाई धन्यवाद दिन १५ दिन (पितृपक्ष) ब्यबस्था गरिएको छ भने विधिपूर्वक गरिने श्राद्ध र दैनिक सन्ध्या वन्धनका वेला दिने तर्पण र ऋषि-तर्पणी आदि पितृऋणतिर्ने वैदिक विधान हुन् | वुवाआमाको सेवा गर्नु त सबैभन्दा ठूलो कर्तब्य नै हो | तेसैले मातृदेवो भव: पितृदेवो भव भनिएको हो | यी सबैको लागि सन्तान शिक्षित हुनैपर्छ |

विवाह संस्था नै एकमात्र एस्तो प्रणाली हो जसले सन्तान उत्पत्ति गरेर कुलपरम्परालाई निरन्तरता दिन्छ |वैदिक विवाह एउटा आध्यात्मिक संस्कार हो | जसमा एउटा युवक वा युवतिले ब्रह्मचर्य आश्रममा रहेर गुरुकुलबाट आवश्यक शिक्षा प्राप्तिपछि संसारिक जीवन (गृहस्थ) स्वीकार गरी संगै वस्न स्वीकार गर्छन् |

यसरी वैदिक विवाह वैदिक आदेश हो जसमा बाँधिएपछि दूईजना स्त्री र पुरुषले समस्त गृहस्थ धर्मको पालन गर्दै दान,यज्ञ, परोपकार, गर्दै देवऋण र पितृऋण तिर्छन् भने आफ्ना सन्तानलाई पढाएर ऋषिऋण तिर्छन् |