Best Online News From Nepal

विद्युत् अनियमितताका कारण धमाधम बन्द हुँदै उद्योग व्यवसाय

दैनिक ९ देखि १२ घण्टासम्मको लामो लोडसेडिङ र लो भोल्टेजका कारण बाँके जिल्लाका अधिकांश उद्योगहरुले आफ्नो उत्पादन नै बन्द गर्नु परेको छ । उद्योग संचालन गर्ने समयमै बिद्युत आपूर्ति बन्द गरिँदा र बिद्युत आएको बेला समेत भोल्टेज निकै कम हुँदा अधिकांश उद्योगहरु सञ्चालन हुन सकिरहेका छैनन् ।  सोही कारणले अधिकांश उद्योग संकटमा परेको उद्योगी व्यवसायीको गुनासो छ ।

लामो समयको अघोषित नाकाबन्दीबाट आजित भएका जिल्लाका उद्योगहरु हाल आएर बिद्युत अनियमितता र भोल्टेजको समस्याले झन् संकटमा परेका छन् । भारतबाट निकै कम बिद्युत आएको जनाउँदै बिद्युत प्राधिकरणले दैनिक ९ देखि १२ घण्टाभन्दा पनि बढी कटौती गर्न थालेपछि नेपालगञ्जको जनजीवन निकै प्रभावित भएको छ । लोडसेडिङका कारण बिद्युतबाट संचालन हुने व्यवसायहरु पूर्णतया ठप्प भएका छन् ।

केही समय यता शुरु भएको लोडशेडिंग र बिद्युत अनियमितताले गर्दा ठुला साना सबै उद्योगको उत्पादन नै घट्न जाँदा उद्योगीले ठुलो हानी व्यहोर्नु पर्ने अवस्था आएकाले यसको विकल्प खोज्नुपर्नेमा उद्योगीहरुले जोड दिएका छन् । नेपालगञ्जको बढ्दो विद्युत समस्या समाधानका लागि राष्ट्रिय प्रसारण लाइनबाट १० मेगावाट विद्युत तत्काल उपलब्ध गराउनु पर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघको माग छ । माग पुरा नभए आन्दोलन शुरु गर्ने निर्णय भैसकेको नेपालगञ्ज उद्योग बाणिज्य संघले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइनबाट १० मेगावाट विद्युत पठाउन प्रशासनको अगुवाइमा नेपालगञ्ज उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाले सर्वपक्षिय निर्णय गरेर केन्द्रमा पठाएका छन् । सो बारेमा केन्द्रमा छलफल भैरहेको र छिटै निर्णय आउने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *