Best Online News From Nepal

विद्यालय छाड्दै घरेलु कामदार

– सञ्चिता घिमिरे

ललितपुर, १२ जेठ (रासस) ः सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् ।

शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कँदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ । तीन वर्ष पहिले भने झण्डै बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या ९० जनासम्म पुगेको थियो ।

वैशाखमा भर्ना भएका जम्मा विद्यार्थीमध्ये चैतसम्ममा ५० देखि ६० जनासम्म कम हुने गरेको विद्यालयकी शिक्षिका मुना शर्माले बताउनुभयो । काठमाडौँ उपत्यकाका नगर क्षेत्रका अरु विद्यालयमा जस्तै सो विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । आसपासका क्षेत्रमा अरुका घरमा काम गर्ने घरेलु कामदार बालबालिका सबैभन्दा बढी छन् । उहाँ भन्नुहुन्छ, “घरधनीले ल्याएर भर्ना त गर्छन् तर उनीहरु कति समयसम्म पढ्छन्् भन्ने टुंगो हुँदैन ।”

सो विद्यालयबाट बाहिर निस्केका विद्यार्थी आफ्नो गाउँका विद्यालयमा गएर पढ्छन् वा पढ्दैनन् भन्ने जानकारी विद्यालयसँग हुँदैन । विद्यालयले एक–दुई पटकसम्म विद्यार्थी किन नआएको भन्ने खोजी गर्छ । बालबालिकालाई काममा राख्ने घरधनीलाई पनि घर गएको बाहेक अरु जानकारी नहुने अर्की शिक्षिका राज्यलक्ष्मी अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पनि घरसम्मबाट पत्ता लगाउन सक्दैनौँ ।”

अधिकांश घरेलु कामदार बालबालिका साथीभाइको लहैलहैमा काठमाडौँ आएका हुन्छन् । दशैँम घर जान पाएपछि कतिपय बालबालिका फर्किएर नआउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपयले पहिले नै घर जाने योजना हामीलाई सुनाउँछन् ।” काम गर्न बसेको घरमा नराम्रो व्यवहार हुँदा अधिकांश बालबालिका फर्किएर विद्यालय नआएका हुन् ।

कतिपय सुकुम्बासी बस्तीका वा मजदूरी गरेर जीविकोपार्जन गर्नेका सन्तान सो विद्यालयमा अध्ययनरत रहेको शिक्षिका अर्याल बताउनुहुन्छ । अभिभावकले आसपासका क्षेत्रमा काम गर्दा विद्यालयमा भर्ना भएका बालबालिका अभिभावकले अन्यत्र काम पाउँदा अन्तै सर्छन् । कतिपयले भने डेरा जता स¥यो उतै पढ्ने गर्छन् । उहाँले भन्नुहुन्छ, “त्यसैले पनि विद्यालयमा कतिपय विद्यार्थी विद्यालय छाड्ने र नयाँ विद्यार्थी भर्ना हुन आउने भइरहन्छ ।”

विद्यालयका माथिल्ला कक्षाभन्दा तल्ला कक्षाबीचमा पढाइ छाड्ने बढी पाइएको शिक्षिका शर्मा बताउनुहुन्छ । सबैभन्दा बढी कक्षा ५ सम्मका विद्यार्थीबीचमा विद्यालय छाड्छन् । विद्यालयका माथिल्ला कक्षामा पुगेपछि भने काम गरेको घरमा नराम्रो व्यवहार हुँदा पनि पढ्छु भनेरै बस्ने विद्यार्थी धेरै छन् । उहाँ भन्नुहुन्छ, “आठ÷नौ पुगेका विद्यार्थीमा अब एक÷दुई वर्ष त हो मेहनत गरेर पढ्छु, त्यसपछि घर फर्कन्छु वा अरुतिर जान्छु भन्ने हुन्छ ।” अरुको घरमा काम गरेर पनि मेहनत गरी पढेका विद्यार्थी धेरै भेटिन्छ ।

बीचमा विद्यालय छाड्नेमा छात्राभन्दा छात्रको संख्या बढी छ । केटाहरु विद्यालय छाडेर कोही घर फर्कन्छन् । उमेर अलि भएका भारतलगायत देशमा रोजगारीका लागि जाने शिक्षिका अर्यालले बताउनुभयो । केटाजसरी केटीहरु एक्लै घर फर्कन पनि आँट गर्दैनन् । उहाँ भन्नुहुन्छ, “छात्राहरु विद्यालय नआउन पनि दशैँ नै कुरेर बस्छन् ।”

अरु सामुदायिक विद्यालय जसरी यो विद्यालय पनि आर्थिक रुपमा विपन्नका विद्यार्थी पढ्ने विद्यालय बनेको छ । अभिभावकलाई चासो कम हुने विद्यार्थी छन् । घरेलु कामदार विद्यार्थीका घरधनी बालबालिकाको पढाइको अवस्थाका बारेमा बुझ्न आउँदैनन् । आमाबाबुसँग बस्ने विद्यार्थीको पनि अभिभावक विद्यालय आउन चाहँदैनन् । शिक्षिका शर्मा भन्नुहुन्छ, “अभिभावकसँग सल्लाह गरेर विद्यार्थीका लागि केही गर्न पाउँदैनौँ ।”

यहाँ अध्ययनरत घरेलु कामदार विद्यार्थीमध्ये कतिपय यी वर्षमा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाले लगेका छन् । विद्यालयमा आएर विद्यार्थीलाई हिंसा नसहन र हिंसा हुँदा फोन गर्न संस्थाले नम्बर दिएको शिक्षिका अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिंसामा परेका बालबालिका अहिले सजग भएर फोन गरेर आफैँ संस्थासमेत जान्छन् ।”

विद्यार्थी टिकाउनका लागि विद्यालयले संस्थाको सहयोगमा खाजा, शैक्षिक सामग्रीलगायत कुरा निःशुल्क शुरु गरेको छ । विद्यालयमा अहिले झण्डै ३०० विद्यार्थी अध्ययनरत छन् ।

RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *