Best Online News From Nepal

विक्रमादित्य उज्जैनका , नेपालका वा अन्यत्र कहाँका राजा थिए ? नेपालमा किन मनाउने गरियो विक्रमी संवतको नयाँ बर्ष ?

प्रवीण अधिकारी
17630153_616730461866793_2227313464623198402_n

==========================
यस आर्यावर्तको इतिहाँसमा राजा त थुप्रै भए , तर , विक्रमादित्य जस्ता चक्रवर्ती भई आफ्ना यश र कीर्ति विश्वभरि फैलाउने सीमितपनि हुन सकेनन | उनको जस्तो ख्याति त्यसपछिका कुनैपनि कनिष्ठहरुले कायम राख्न सकिएको देखिएन | उनको एतिहाँसिक महत्व कति थियो? भन्नेकुरा जान्न गोमती पुत्र शाकर्णि , चन्द्रगुप्त द्वितीय र स्कन्द गुप्त आदिले विक्रमादित्य विशेषण धारण गरेर गौरवान्वित हुन पुगेको हेर्दा चाल पाइन्छ | विक्रमादित्य सम्वन्धी तथ्यकुराहरु सरितसागर ,जैन ग्रन्थ , वैतालपंचविंशति , सिंहासन द्वात्रिंशिका , प्रवन्ध चिन्तामणि , पंचदण्डछत्रप्रबन्ध , भविष्य पुराण र पुराना संस्कृत ग्रन्थहरु हेर्दा भेटिन्छ | भविष्य पुराणले शकहरुको नाश र सनातन धर्मको श्रीवृद्धिकोलागि विक्रमादित्यले जन्म लिएका थिए भनेर लेखेको छ | वायु पुराण ,मत्स्य पुराण र विष्णु पुराणले गर्दभिल्ल वंशका राजाहरुको वर्णन गर्दा विक्रमादित्यको समेत वर्णन गरेर राजा विक्रमादित्यको एतिहांसिकता पुष्टि गरेको छ | प्राचिन आर्यावर्त क्षेत्रको इतिहास सँग इनको नङ्ग र मासुको सम्बन्ध रहेको पाइन्छ | तत्कालिन आर्यावर्तका उनी प्रभावशाली व्यक्तित्व मात्र थिएनन बरु महभारतकालिन युधिष्ठिरका समतूल्यपनि हुन पुगेका थिए | त्यसैले आफ्नो छुट्टै संवत ” विक्रम संवत ” (यसलाई भारतमा मालवपनि भन्ने गरिएको थियो ) चलाउन पुगेका थिए | इनको शासन व्यवस्था अरब मुलुकहरु हुँदै मिश्रसम्म पुगेको थियो | उनको नाउँ तत्कालिन सम्पूर्ण विश्वसंग परिचित हुन पुगेको कुरो ” सिरुलओकुल ” जस्तो प्राचिन अरवी ग्रन्थले पुष्टि गरिरहेको छ | (https://pparihar.com/2015/05/01/inscription-of-hindu-king-vikramaditya-in-kaba/, http://www.hindustantimes.com/bhopal/vikramaditya-steps-out-of-fables-into-history/story-myf7AvIkAVrySbYfSVuV2I.html ) | त्यतिखेरको चलन अनुसार कुनै पनि राजाहरुले ठूल ठूला अवसर पारेर आफ्ना नागरिकहरुको ” ऋण मूक्त ” गर्दै चक्रवर्ती हुन पुगेको खण्डमा त्यो कुरोको चिह्न स्वरुप नयाँ संवत चलाउने गर्दथे | सम्राट विक्रमादित्य आजभन्दा २२७४ वर्ष अघि जन्मि यस भूखंडका शासक हुन पुगेका थिए | विक्रम सम्बतको सुरुवात ई. पू. ५६ बर्ष ८ महिना १५ दिनको दिन भएको थियो | विक्रमादित्यले शकहरुमाथि गरेको विजयको कथा कलाकाचार्य ,कथानक र कथासरित्सागरमा लेखिएको छ |

विक्रम संवत र विक्रमादित्य
=================
विक्रम संवत , विभिन्न साहित्यिक र एतिहाँसिक कृतिहरुमा विक्रमादित्यले शकहरुलाई उन्मूलन गरेको उपलक्षमा चलाएको हो भनि बताइएको छ भने यो संवतको प्रयोग नेपाल र भारतमा भेटिएको शिलालेखहरूमा ” वसु नव अष्टो वर्षागतस्य कालस्य विक्रमाख्यस्य ” भन्दै गरिएको देखिन्छ | विभिन्न कारणले नेपालमा यो संवतको प्रयोग चौथो शताब्दीदेखि भएको पाइन्छ भने यसै संवतलाई मालव संवत भनि पाँचौ शताब्दिदेखि भारतमा प्रयोग भएको देखिन्छ – ” श्री मलिव गणाम्नाते प्रशस्ते कृत संज्ञिते , एक सस्त याधिके प्रापते समाशत चतुष्टये ||” (मालव संवत ४६१) | विक्रम संवतको विषयमा पश्चिमा विद्वानहरुले विभिन्न मत पोखेका छन – डा. हार्न्ले ,डा.किलहार्नले विक्रमादित्य कुनै राजा नभई ५४४ ई.मा मालावाको राजा यशोवर्मनले हुणराजा मिहिरकुललाई हराएपछि विक्रमादित्यको उपाधि धारण गरेका हुन भने | यै विजयपछि मालव संवत विक्रम संवत हुन् पुग्यो भन्न भ्याए | डा. स्मिथ र डा. भनडारकरले मालव संवतलाई विक्रम सम्बत बनाउने राजा चन्द्रगुप्त द्वितीय थिए जसको उपाधि विक्रमादित्य थियो भनेर लेखे | डा. फलित , प्रो.कनिघम र प्रो. मार्शलले कनिष्क नै विक्रम संवतको प्रवर्तक हुन भने | गाथा सप्तशती (पहिलो शताब्दी ) भन्ने ग्रन्थले विक्रमादित्य प्रतापी ,उदार र महादानी राजा थिए भन्दै उनले शकहरुमाथि विजय पाएको उपलक्षमा आफ्नो राज्यमा लाखौँ रुपियाँ उपहार स्वरुप बाँडेर विक्रम संवत शुरु गरे भनि लेखेको छ – ” विक्रमादित्योपि भ्रितास्य करे लक्षम ददाति “-गदाधर | गुणाढ्य ( ७८ ई . ) को ब्रिहद्कथामा आधारित सोदेव कृत ” कथासरितसागरमा ” उज्जैनको राजा विक्रमादित्य परमारवंशी महेंद्रादित्यको छोरा भएको र उनले शकहरुलाई पराजित गरेको उपलक्ष्यमा मालव गणस्थिति संवत चलाए जुन विक्रम संवत भएर प्रचलित हुन् पुग्यो भनेर लेख्यो | त्यसग्रन्थले विक्रमादित्यको राज्याभिषेकको वर्णन गर्यो र विक्रमादित्य बाबु छोरा दुवै शैव भएको कुरो जनायो | सर विलियम जोन्स ,विसेंट स्मिथ ,स्टेन कोनो तथा एड्गर्तोंन आदि पाश्चात्य विद्वानहरुले विक्रमादित्यको एतिहांसिकतालाई मान्यता दिएको देखिन्छ |

धेरै स्वदेशी तथा विदेशी आलोचकहरुले विक्रमादित्यको एतिहांसिकतालाई स्विकार्न सकेको देखिंदैन | विक्रमादित्यको नाउँ, प्रसिद्धि , काम र कार्यकाललाई लिएर नेपाल ,भारत र विश्वका इतिहाँसकारहरु कहिल्यै एकमत हुन सकेकोपनि पाइंदैन | धेरै विद्वानहरुले ” विक्रमादित्य ” लाई उपाधिमानि यो शब्दलाई चन्द्रगुप्त द्वितीय , शिलादित्य र स्कन्दगुप्तसंग जोडेर हेर्ने गरेको पाइन्छ | कसैको भनाइमा इतिहाँसमा थुप्रै विक्रमादित्य नाउँ गरेका राजाहरु भएको र यो संवतको विषयमा त्यसै हो भन्न नसकिने दलिल दिएको देखिन्छ | त्यसैले पाश्चात्य ,नेपाली ,भारतीय , वामपन्थी विद्वान परम्पराले उनको एतिहाँसिक अस्तित्वलाई स्विकार्न नसकेको कारण विक्रमादित्य व्यक्ति विशेषको नाउँ नभई एउटा उपाधि र विशेषण मात्र हुन् पुगेको छ भने कसै कसैले विक्रमादित्यको विक्रम +आदित्य समास गरि विक्रमादित्य शब्द अर्थ्याउने प्रयाश गरेको पाइन्छ | शिलालेख ,मूद्रा र अन्य एतिहाँसिक सामाग्रीहरु भेटिएमात्र कसैको एतिहांसिकता प्रमाणित हुन सक्छ भन्ने हो भने , आजका दिनमा धेरै महापुरुषहरुको अस्तित्व यो विश्वबाट हराउन पुग्ने थियो | अयोध्याका राजा राम र युधिष्ठिरहरुपनि नामेट हुन पुग्ने थिए | कुनैपनि सक्षम राजाले आफ्नो नाउँमा संवत नचलाएर अर्काको संवत परिवर्तन गरि चलायो भन्नेकुरापनि राम्रो मान्न सकिन्न | त्यतिखेर गुप्तहरुको आफ्नै स्वतन्त्र संवत रहेको थियो भने चन्द्र गुप्त द्वितीयले आफ्ना पूर्वजको संवत त्यागेर विक्रम संवत स्वीकारे भन्ने कुरो स्वाभाविक देखिन आउँदैन | विभिन्न खेमामा बाँडिएका इतिहांसकारहरुले जानी नजानी वा पूर्वाग्रही भएर विक्रमादित्य सम्बन्धी एतिहाँसिक तथ्यहरु बंग्याउने प्रयाश गर्दा यस क्षेत्रको सम्पूर्ण इतिहाँस कुहिरो भित्र रहन पुगेको कारण विक्रमादित्य भन्ने राजा एक मिथकीय चरित्रमा सीमित भएर रहन पुगे हो | १६ औं शताव्दीपछि अंग्रेजको नीति पछ्याई वामपन्थी इतिहाँसकारहरुले भ्रमपूर्ण कुरो छरिदिदा विक्रमादित्यकालिन संसार अज्ञानताको कुहिरोमा मूर्खभई बाँच्न विवश भएको हो |

विक्रमादित्य पुरुषार्थी नाउँ थियो , कुनै उपाधि थिएन | काश्मिरी राजतंरगिणी अनुसार विक्रमादित्यले आफ्नो राजपरिषदका सदष्य , नव रत्न मध्येका एक पात्र महाकवि मातृगुप्त (कालिदासलाई ) कश्मीर निमित्त बनाएर पठाएका थिए | भविष्य पुराण अनुसार उनकै नाति / पनाति शालिवाहनले शकहरुलाई हराएर त्यसैको स्मृतिमा शालिवाहन संवत शुरु गराएका थिए | यो शक संवतपनि धार्मिक कृत्य गरिंदा नेपालमा अझै प्रयोग हुने गरेको छ | महापुरुषहरुको नाउँलाई परवर्तीहरुले आफ्नो उपाधिको रुपमा प्रयोग गर्नु यो संसारभरिको चलन हो , त्यसैले चन्द्र गुप्त द्वितीय ,शिलादित्य , स्कन्द गुप्त र कुमार गुप्तहरुले उनको नाउँ उपाधिको रुपमा धारण गर्न पुग्नु सामान्य मानिएको हो | विक्रमादित्य यति माहान थिए कि उनको नाउँ पछिका राजाहरुकोलागि एउटा उपाधि र पदवी हुन पुगेको थियो | उनीहरुको भनाइमा विक्रमादित्यको राजतन्त्रात्मक व्यवस्थामा भएको गुणहरुकोकारण विक्रमादित्यलाई त्यसको प्रतीकको रुपमा स्विकारिन पुग्दा उनको नाउँ ” वैभव र साम्राज्यको ” प्रतिक हुन पुगेको थियो | अर्को कुरा , विक्रमादित्यले चलाएको संवत उनको व्यक्तित्वको ऊँचाइको कारण नभई तिथि , बार, नक्षत्र , योग , करणको सामुहिक प्रयोग गरि सौर्य र चान्द्र मासलाई एकैसाथ प्रस्तुत गर्न सक्षम भएका कारण प्रचलनमा आउन सकेको हो | तर , पश्चिमी इतिहाँसकारहरुले विक्रमादित्य एक उपाधि मात्र हो भन्नु एकदमै हास्यास्पद तर्क हो |

यो पनि हेरौं :-
————-
यो रुमदेशधिपति शकेश्वरं जित्वा गृहीत्वोज्जयिनी महाहवे |
आनीय संभ्राम्य मुमोचयत्यहो स विक्रमार्कः समस हयाचिक्र्मः||
(- ‘ज्योतिविर्दाभरण ‘नामक ज्योतिष ग्रन्थ २२/ १७ बाट )

यो श्लोकले भन्दछ रुमदेशधिपति अर्थात रोम देशको राजालाई त्यतिखेर शकराज भन्ने गरिन्थ्यो , लाई पराजित गरि राजा विक्रमादित्यले बंदी बनाएर उज्जैनी नगरमा घुमाई छोडे | यो त्यही शौर्य हो जसलाई पाश्चात्य देशका ईशाई वर्चस्व भएका इतिहाँसकारहरुले पचाउन नसक्दा र यसबाट जोगिन यसलाई संधै मिथक भनेर टार्ने गरे | उनीहरुको रटान यो कुरो सही होइन भन्नु मै सीमित छ | अब ,बिचारौं हाम्रो कुरो गलत हो भने तिनको कुरो के आधारमा सही मान्न सकिएला ? रोमको इज्जत जोगाउन र आफुलाई ठूलो जनाउन विक्रमादित्यको अस्तित्वनै अस्विकार गर्दा भगवान श्री राम र श्री कृष्णपछि सबै भन्दा लोकप्रिय चरित्र बनाउन पुगेका सम्राट विक्रमादित्यको नाउँ विक्रम संवत मै मात्र सीमित हुन पुग्नेछ | बेताल पच्चीसी र सिंहासन बतीसीको नायक भाष्कर पुराणमा आफ्नो सम्पूर्ण वंश वृक्ष सहित उपस्थित हुँदापनि मासिन पुग्नेछन | इनको बेलिविस्तार लाउने सूर्यमल्ल मिश्रण कृत वंश भाष्कर कृति ओझेलमा पर्न जानेछ भने आजको दिनमा उनकै वंशका प्रशिद्ध राजाहरुको नाउँमा राखिएको ठाउँहरु नामेट हुन पुग्नेछन | त्यो भन्दा पनि ठूलोकुरो उनको साम्राज्यको अंग बन्न पुगेको भारत , चीनको केहि भाग , भूटान , तिब्बत , पाकिस्तान , अफगानिस्तान, रूस , कजाकिस्तान , अरब क्षेत्र , सीरिया, टर्की , म्यान्मार ,श्री लंका आदि संधिकृत क्षेत्र झूठो ठहरिनेछ | त्यो कुरोको पुष्टि “Sayar -UI -Okul ” Makhtal -e – Sultania / Library in Istanbul , Turky हेर्दा थाहा हुनेछ | विक्रमादित्यले धर्मराज युधिष्ठरको काँधबाट संवत चलाउने जुवा खोली आफ्नो काँधमा थापेका थिए र कलिगत काल अंकित गरि समयको सुव्यवस्थित गणितीय विभाजन गरेर विक्रम संवत चलाएका थिए |

महाकवि कालिदासले दिएको विक्रमादित्यको परिचय
=================================

कालीदासका ग्रन्थहरु पल्टाउँदा विक्रमादित्यको नाउँ विक्रम सेन भएको र उनी नबोवाहनको नाति र राजा गंधर्वसेनका छोरा भई जन्मिएको थाहा पाइन्छ | यिनीहरु दुई भाई थिए – विक्रमादित्य र भर्तृहरी , जो चर्चित शासक र अर्को शासक हुँदै सन्यास लिन पुगेका थिए | इनको जन्म कलिसंवत ३००० वर्ष बितेपछि , अर्थात १०१ बर्ष ईशा भन्दा पहिले भएको थियो र इनले १०० वर्ष सम्म शासन गरेका थिए ( गीता प्रेस, गोरखपुर भविष्यपुराण, पृष्ठ २४५ ) | यिनी ईशा मसीह भन्दा केहि बर्ष अघि जन्मिएका थिए | उनी चक्रवर्ती सम्राट भई आफ्नी कीर्ति फैलाउन सकेका कारण उनको शासन व्यवस्था अरब मुलुक (प्राचीनकालमा राजा विक्रमादित्यको साम्राज्य अरब देशसम्म फैलिएको थियो |तुर्कीको इस्ताम्बुल शहरको प्रसिद्ध पुस्तकालयमा ” मकतब-ए-सुल्तानिया ” मा रहेको ऐतिहासिक ग्रन्थ “सायर-उल-ओकुल”, को पेज ३१५ मा राजा विक्रमादित्य सम्बन्धी एउटा विवरणमा भनिएको छ “ इट्राशाफ़ई सन्तु इबिक्रामतुल फ़ाहालामीन करीमुन यात्राफ़ीहा वायोसास्सारु बिहिल्लाहाया समाइनि एला मोताकाब्बेरेन सिहिल्लाहा युही किद मिन होवा यापाखारा फाज्जल असारी नाहोने ओसिरोम बायिआय्हालम। युन्दान ब्लाबिन कज़ान ब्लानाया सादुन्या कानातेफ़ नेतेफ़ि बेजेहालिन्। अतादारि बिलामासा-रतीन फ़ाकेफ़तासाबुहु कौन्निएज़ा माज़ेकाराल्हादा वालादोर। अश्मिमान बुरुकन्कद तोलुहो वातासारु हिहिला याकाजिबाय्माना बालाय कुल्क अमारेना फानेया जौनाबिलामारि बिक्रामातुम ” (पेज ३१५ साया-उल-ओकुल, जसको अर्थ हो “यादगार शब्द”)| “…ती मान्छे भाग्यशाली हुन् जसले राजा विक्रमको राज्यमा जीवन व्यतीत गर्यो , ती धेरै दयालु, उदार र कर्तव्यनिष्ठ शासक थिए हरेक व्यक्तिको कल्याण चाहान्थे | तर हामी अरवीहरु भगवानदेखि टाढा आफ्ना कामुक इन्द्रिय आनन्दमा हराएका थियौं , निकै अत्याचार गर्दथ्यौं , अज्ञानता र अंधकार हाम्रो चारैतिर थियो | जसरी भेंडाले आफु अनुकुल जिउन गोठालो संग संघर्ष गर्नु पर्दछ त्यसरी नै हामी अरवीहरु आफ्नो अज्ञानता संग संघर्षरत थियौं , चारै तर्फ गहन अंधकार थियो | तर विदेशी हुँदा हुँदै पनि , शिक्षाको उषाकालको दर्शन हामीलाई राजा विक्रमादित्य ले दिएको क्षण अविस्मरणीय थियो | उनले आफ्नो पवित्र धर्म हाम्राविच प्रसार गरे , आफ्ना देशमा भन्दा तेजीला विद्वानहरु यस देशमा पठाएर उनले यहाँ शिक्षाको उज्यालो फैलाए |यी विद्वान र ज्ञाताहरुले हामीलाई भगवानको उपस्थिति र सत्य सही मार्ग औंल्याएर ठूलो परोपकार गरे | यी सबै विद्वानहरु राजा विक्रमादित्यको निर्देशनमा आफ्नो धर्मको शिक्षा दिन यहाँ आएका थिए …”| ) सम्म फैलिन पुगेको थियो | तर , ती विक्रमादित्य उज्जैनका वा नेपालका कहाँका राजा थिए ? भंनेकुरो विद्वान इतिहांसकारहरुले खुट्याउन , निष्पक्ष भई पत्तालाउन | ती सम्राट अशोक भन्दा कति शक्तिवान र वैभवशाली थिए ? नेपालसम्म तिनको अधिपत्य थियो , थिएन ? तत्कालिन नेपालको राजा को थियो ? नेपालमा तिनका समकक्षी कुन लिच्छवि राजा थिए ? अंशुवर्मा आदि हुन कि होइनन ? पत्ता लाउनु जरुरी छ किनभने इतिहाँस झेलझाल गर्ने , टालटूल गरि गोलमटोल गर्ने विषय वस्तु होइन , कसैले गर्नपनि मिल्दैन | विक्रमादित्यको दरवारमा धन्वंतरी , क्षपणक , शंकु ,वेताल भट्ट , घटखर्पर , वररुचि , अमरसिंह , वराहमिहिर , महाकवि कालीदास जस्ता व्यक्तित्वहरु नव रत्नको रुपमा रहेका थिए | महाकवि कालिदास र ज्योतिषाचार्य वराहमिहिर जस्ता प्रकाण्ड विद्वान उनको दरवारमा शोभायमान भएको देखिंदा उनी कत्ति प्रभावशाली सम्राट थिए ? भन्नेकुराको कल्पना गर्न सकिन्छ | विक्रम संवतका प्रवर्तक विक्रमादित्यलाई कालिदासको ज्योतिर्विदाभरण ग्रंथले यसप्रकार चिह्नाएको छ :-

कालिदास रचित ज्योतिर्विदाभरणको अध्याय-२२ को श्लोकहरु हेरौं –

कालिदास-ज्योतिर्विदाभरण-अध्याय२२-ग्रन्थाध्यायनिरूपणम्-
————————–————————–—————
श्लोकैश्चतुर्दशशतै सजिनैर्मयैव ज्योतिर्विदाभरणकाव्यविधा नमेतत् ॥ᅠ२२.६ᅠ॥
विक्रमार्कवर्णनम्- वर्षे श्रुतिस्मृतिविचारविवेकरम्ये श्रीभारते खधृतिसम्मितदेशपीठे।
मत्तोऽधुना कृतिरियं सति मालवेन्द्रे श्रीविक्रमार्कनृपराजवरे समासीत् ॥ᅠ२२.७ᅠ॥
नृपसभायां पण्डितवर्गा-शङ्कु सुवाग्वररुचिर्मणिरङ्गुदत्तो जिष्णुस्त्रिलोचनहरो घटखर्पराख्य।
अन्येऽपि सन्ति कवयोऽमरसिंहपूर्वा यस्यैव विक्रमनृपस्य सभासदोऽमो ॥ᅠ२२.८ᅠ॥
सत्यो वराहमिहिर श्रुतसेननामा श्रीबादरायणमणित्थकुमारसिंहा।
श्रविक्रमार्कंनृपसंसदि सन्ति चैते श्रीकालतन्त्रकवयस्त्वपरे मदाद्या ॥ᅠ२२.९ᅠ॥
नवरत्नानि-धन्वन्तरि क्षपणकामरसिंहशङ्कुर्वेतालभट्टघटखर्परकालिदासा।
ख्यातो वराहमिहिरो नृपते सभायां रत्नानि वै वररुचिर्नव विक्रमस्य ॥ᅠ२२.१०ᅠ॥
यो रुक्मदेशाधिपतिं शकेश्वरं जित्वा गृहीत्वोज्जयिनीं महाहवे।
आनीय सम्भ्राम्य मुमोच यत्त्वहो स विक्रमार्कः समसह्यविक्रमः ॥ २२.१७ ॥
तस्मिन् सदाविक्रममेदिनीशे विराजमाने समवन्तिकायाम्।
सर्वप्रजामङ्गलसौख्यसम्पद् बभूव सर्वत्र च वेदकर्म ॥ २२.१८ ॥
शङ्क्वादिपण्डितवराः कवयस्त्वनेके ज्योतिर्विदः सभमवंश्च वराहपूर्वाः।
श्रीविक्रमार्कनृपसंसदि मान्यबुद्घिस्तत्राप्यहं नृपसखा किल कालिदासः ॥ २२.१९ ॥
काव्यत्रयं सुमतिकृद्रघुवंशपूर्वं पूर्वं ततो ननु कियच्छ्रुतिकर्मवादः।
ज्योतिर्विदाभरणकालविधानशास्त्रं श्रीकालिदासकवितो हि ततो बभूव ॥ २२.२० ॥
वर्षैः सिन्धुरदर्शनाम्बरगुणैर्याते कलौ सम्मिते, मासे माधवसंज्ञिके च विहितो ग्रन्थक्रियोपक्रमः।
नानाकालविधानशास्त्रगदितज्ञानं विलोक्यादरा-दूर्जे ग्रन्थसमाप्तिरत्र विहिता ज्योतिर्विदां प्रीतये ॥ २२.२१ ॥

विक्रम संवत सम्वन्धी तथ्यहरु
===================
कालिदास रचित ” ज्योतिर्विदाभरण ” ग्रन्थ अनुसार सो ग्रन्थ कलि संवत ३०६८ बर्ष व्यतित भएपछि लेखिएको थियो | यसको अर्थ त्यो ग्रन्थ ईसा भन्दा ३४ बर्ष पहिले लेखिएको थियो | यस ग्रन्थअनुसार राजा विक्रमादित्यले ३०४४ कलिबर्ष बितेपछि अर्थात ईशापूर्व ५७ बर्ष पहिले विक्रम संवत चलाएका थिए | कल्हणको ‘राजतरंगिणी’ अनुसार १४ ई. को छेउछाउ कश्मीरमा युधिष्ठिर वंशको राजा हिरण्य नि:संतान भई मरेपछि अराजकता फैलिँन पुग्दा त्यहाँको मन्त्रीहरुको सलाहअनुसार राजा विक्रमादित्यले मातृगुप्त (कालिदास)लाई कश्मीर राज्यको हेरविचार गर्न पठाएका थिए भनिएको देखिन्छ | विक्रमादित्यको प्रशस्ति गान गरिएका दुईटा पुस्तक भेटिञ्छन – बेताल पच्चीसी (बेताल पञ्चविंशति) र सिंहासन बत्तीसी (सिंहासन द्वात्रिंशिका) | भारतीय विद्वानहरुका अनुसार – नेपालको गोपालराज वंशावली अनुसार कलिसंवत ३०४४ तदनुसार ईस्वी पूर्व ५७ बर्ष पहिले नेपालमा लिच्छवि राजाको समयमा (ईसापूर्व पहिलो शताब्दी) राजा विक्रमादित्य नेपाल आएका थिए | विक्रमादित्य नेपाल आएपछि नेपालका लिच्छवि राजाले त्यस उपलक्ष्यमा विक्रम संवतको शुरुवात गराएका थिए | चैत्र शुक्ल प्रतिपदादेखि नव बर्ष फेरिएर बैशाख १ गतेदेखि बर्षको गणना मानिने विक्रम संवतको प्रयोग नेपाल र भारतमा प्रसस्त गरिंदै आएको भएपनि नेपालमा चाहिं सरकारी र राष्ट्रिय महत्व समेत बोकी प्रचलित छ भने पाकिस्तान जस्तो मुसलमान बाहुल्य देशबाट उर्दू र सिन्धी भाषामा प्रकाशित हुने समाचार पत्रहरुमा प्रयोग गरिंदै आएको पाइन्छ |

विक्रम सम्बत भित्रको विशेषता
====================
काल वा समयले सम्पूर्ण ब्रह्मांड र सृष्टिमाथि आफ्नो प्रभुत्व जमाएको हुन्छ | त्यो तथ्य बुझेर आधुनिक विज्ञानले कालको मापन ईकाईको सूक्ष्मतम अंशलाई सेकेंड र महानतम अंशलाई शताब्दी भन्ने गरेको छ भने विगतकालमा समयको सूक्ष्मतम अंशलाई परमाणु र महानतम अंशलाई ब्रह्म भन्ने गरिएको थियो | कालिदासले ज्योतिर्विदाभरण ग्रन्थमा सर्वप्रथम यो कलियुगिन विश्वमा ६ व्यक्तिहरुको नाउँमा समयको मापक चक्र संवतको रुपमा चल्नेछ भनेर उल्लेख गरेका थिए | ती ६ व्यक्तिहरु थिए – युधिष्ठिर, विक्रम, शालिवाहन, विजयाभिनन्दन , नागार्जुन र कल्की(चल्न वांकी ) | त्यतिखेर प्राचीन सप्तऋषिहरुले चलाएको संवत ( सप्तर्षि ७६७६ ई. पू.) मात्र चलनचल्तीमा थियो , त्यसैलाई अपडेट गर्दै चलाउँदा माथि उल्लेख गरिएका ६ बटा संवतहरु अस्तित्वमा देखा परेका थिए | हाम्रो सनातनी परम्परामा , काल गणना क्रमश: प्रहर, दिन ,रात, पक्ष, अयन, संवत्सर, दिव्य वर्ष, मन्वन्तर, युग, कल्प र ब्रह्माको गणना गर्ने गरि गरिएको हुन्छ | त्यसमा सृष्टिको चक्रीय अवधारणा स्वीकार गरिएको हुन्छ | त्यसैकारण सनातनी हिंदूहरुले कालको स्वरुपलाई कल्प, मन्वन्तर, युग (सतयुग,त्रेता,द्वापर र कलियुग) आदिमा विभाजन गरि त्यसको पुनरावृत्ति पटक पटक हुने उदघोष गर्न पुगेका हुन | यस अवधारणा अनुसार आजको विश्व ब्रह्मको दोश्रो परार्धको श्वेतावाराहकल्पको वैवस्वत मन्वरको २८ औं कलियुगमा चल्दैछ | यसअनुसार कलियुगको समाप्ति चक्रिय नियम अनुसार हुनेछ र पुन: सत्य युगको पदार्पण हुनेछ भन्ने विश्वाश रहेको छ | हिन्दू कालगणना अनुसार यस पृथ्वीमा जीवनको शुरूआत आजभन्दा लगभग २०० करोड़ वर्ष पहिले भएको थियो | त्यो शुरुवात पद्धतिलाई गणना गर्न सक्ने यो संसारमा कुनै त्यस्तो समय मापन र निर्धारण पद्धति छ भने त्यो सनातनी हिंदूहरुको प्राचीन वैदिक ऋषिहरु प्रदत्त पद्धति मात्र हो | यस पद्धतिलाई विदेशमा सर्व प्रथम ईरानी ,यूनानीहरुले र पछि अरब , मिस्रवाशीहरुले पछ्याएका थिए | तर , कालांतरमा ती देशहरुमा बदलिएको धर्म , संस्कार र संस्कृतिले यसको प्रचलन र स्वरूपमा परिवर्तन ल्याइदिंदा , विक्रम सम्वतको विश्वव्यापी प्रभावबाट तर्सिन पुगेका पश्चिमाहरूका सम्राट जुलिअस सीजरले पौष महिनादेखि क्यालेण्डरको शुरुवात गराउन पुगेका थिए |http://en.wikipedia.org/wiki/Julius_Caesar | फ़ारसी विद्वान , लेखक, वैज्ञानिक, धर्मज्ञ तथा विचारक अलबेरूनीले आफ्ना ग्रन्थहरुमा श्रीहर्ष, विक्रमादित्य, शक, वल्लभ र गुप्त संवत गरि पाँचबटा संवतहरुको उल्लेख गरेको देखिन्छ |

प्राचिन सनातन परम्परामा आधारीत सौर्य पात्रो ,जो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो , शक् सम्बत भन्दा १३५ बर्ष जेठो , कलि सम्बत भन्दा ३०४४ बर्ष कान्छो , नेपाल सम्बत् भन्दा ९३६ बर्ष ६ महिना जेठो , हिजरी सम्बत भन्दा ६३६ बर्ष जेठो छ | भाषा वंशावलीले नेपालमा लिच्छवी राजा धर्मागतको शासनकालमा उनको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा ( हालको नारायणहिटी ) बनाएको र त्यसैबेलादेखि विक्रम संवत् नेपालमा प्रचलनमा ल्याएको भन्ने उल्लेख गरिएको छ | साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरी आएको देखिन्छ | आजको दिनमा नेपालमा विक्रम सम्बतको प्रयोग वि.स.३८६ मा भएको देखिन्छ तर इतिहाँस अन्वेषक शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालमा प्रयोग भएका सबै सम्बतहरु विक्रम संवत हो भनि किटानी गरिदिएका छन् | तसर्थ , नेपालमा विक्रम सम्बतको प्रयोग यसको सुरुवाती चरणदेखि भएको हो भन्ने देखिन्छ | यो सम्बत चन्द्रमास तथा सौर्य मासमा आधारित छ र यसले प्राचीन हिन्दू पंचांग ( तिथि ,बार ,नक्षत्र ,योग ,करण ) र वैदिक पंचांग पद्धति अनुशरण गरेको छ | सनातन बैदिक पद्धतिले अनुशरण गराएको शिद्धान्तनै यस सम्बतको मेरुदण्ड हो |

बिबाहादौ स्म्रितः सौरौ यग्यादौ शावन स्म्रितः !
शेषे कर्मणि चान्द्र स्यादेशः मासबिधि स्म्रितः !!

बैदिक पद्धतिमा बिबाह , ब्रतबन्ध आदिकुरा सौर्य मास अनुशरण गरी गर्नु , यज्ञ यज्ञादी कार्य उदय तिथि अनुसार गर्नु ( जसलाई शावन मासपनि भनिन्छ ) , जन्म, मरण, श्राद्धादि कर्म तत्कालिन तिथि र नक्षत्रानुसार गर्नु ( चान्द्र मास अनुसार ) भन्ने बचन भएकोले यी तिनै कुराहरु समेटी यसलाई निर्माण गरिएको छ | जो प्राचिन बैदिक संस्कृति जोगाउन सक्षम छ | यो सम्बत तिन किसिमको काल गणनामा आधारित छ | पहिलो तिथि अनुसारको सावन मास ( शुक्ल पक्ष र कृष्ण पक्ष ), नक्षत्र वा चान्द्र मास ( हिंदूहरुको श्राद्ध,जन्म तथा अन्य पौष्टिकादी कर्महरु संग सम्बन्धित ) ,सौर्य मास बिबाह र ब्रतबन्धकोलागि ख्याति प्राप्त छ |

ब्रह्माण्ड पुराण अनुसार : –

चैते मासी जगद ब्रह्मा ससर्ज प्रथमेSहनि !
शुल्क पक्षे समग्रम तु तदा सूर्योदयो सति !!

अर्थात यस संसारको शृष्टि ब्रह्माजीले चैत्र शुक्ल पक्ष प्रतिपदा तिथिको सूर्योदयकालमा गरेका थिए | त्यसकारण यो सम्बत्सर प्रत्येक बर्ष चैत्र शुक्ल पक्ष परेवा तिथिमै फेरिन्छ त्यो दिन जे वार पर्दछ त्यसवार सम्बन्धी ग्रहलाइ त्यो बर्षको राजा तथा बैशाख १ गते पर्ने वार सम्बन्धी ग्रहलाई त्यो बर्षको मन्त्रीग्रह मानिन्छ | बैशाख १ गते सूर्यको संक्रमण पृथ्वीको घुमाइका कारण पुनः ३६५ दिन ६ घण्टा १९ मिनेट बितेपछि त्यै राशीमा रहन आइपुग्ने हुनाले यो दिन नव बर्षको रुपमा मानिएको हो | यहि सिद्धान्त नै यो सम्बतको आधारशिला भएको कारण सनातनी हिंदू वा वैदिक पाञ्चाङ्ग पद्धति अनुसार समय गणना गर्ने प्रणाली आजको दिनमा विक्रम संवत भित्रमात्र जीवित रहन पुगेको छ | बाह्र महिनाको एक वर्ष र सातदिनको एक सप्ताह राख्ने चलनको सुरुवात विक्रम संवतबाटै भएको हो | यसमा महिनाको हिसाब सूर्य र चंद्रमाको गति अनुसार निर्धारण गरिएको कारण बाह्र राशी बाह्र , महिनाको नाउँ हुन पुगेको हो | प्राचिन हिन्दू पद्धति अनुसार सूर्य जुन दिन , जुन राशिमा प्रवेश गर्दछ त्यो दिनलाई संक्रांति भनिन्छ र पूर्णिमाका दिन, चंद्रमा जुन नक्षत्रमा रहन पुग्दछ त्यै नक्षत्रको आधारमा त्यो महिनाको नाउँ राखिएको हुन्छ | अर्थात , प्रत्येक पूर्णिमाको दिन रहन आउने नक्षत्र ( विशाखाबाट बैशाख , जेष्ठाबाट जेठ .पूर्वाषाढाबाट आषाढ , श्रवणबाट श्रावण, पूर्वा भाद्रपदबाट भाद्र , अश्विनीबाट आश्विन , कृतिकाबाट कार्तिक , मृगशिराबाट मंशीर , पुष्य बाट पौष , मघाबाट माघ , पूर्वाफाल्गुनीबाट फाल्गुण र चित्राबाट चैत्र ) त्यो महिना चल्ती भएको हुन्छ | यो सम्बत नेपालमा प्रचलित बिधि र परम्परा अनुकुल छ | यसमा चैत्र शुक्ल प्रतिपदादेखि संवतसर फेरिन्छ भन्नेकुरालाई स्वीकारिएको छ | यो संवत भित्र चलेका महिना विदेशी संवत जस्तो कुनै देउता , राजा या संख्यावाचक कृत्रिम नाम होइन | यो पूर्णतः तिथि मिती ,अंशमा आधारित भएको कारण यी सबै कुरा सूर्य-चन्द्रको गति अनुसार गणना गरिएको हुन्छ | अंग्रेज़ी शिक्षादीक्षा र पश्चिमी संस्कृतिको प्रभावको कारण आज सबैले ईस्वी संवत स्वीकारेर नेपाली तिथि ,महिनाको काल गणनाको विधिबाट सबै अनभिज्ञ हुँदै गएपनि हाम्रो देशको सांस्कृतिक पर्व , उत्सव ,राम, कृष्ण, बुद्ध, जस्ता महापुरुषहरुको जन्म जयन्ति आजका दिनमापनि विक्रम संवतको काल गणनाको हिसाबले नै मनाइएका हुन्छन | बिहे बटुलो , ब्रतबन्ध ,जन्मोत्सव शुभ मुहूर्त , तिथि ,श्राद्ध,तर्पण आदि सामाजिक कार्यहरु समेत यसै अनुसार गरिन्छन , त्यहाँ ईश्वी संवतको कुनै गुञ्जाइस रहँदैन | त्यसैले यो विक्रम संवत , आजको संसारमा आफ्नो अंग उपांग समेटेर पूर्णत: वैज्ञानिक सत्य भएर उभिन सकेको हो | यसले सौर्य मास र चान्द्र मास बिचमा आउने फरक ११दिन १ घण्टा १२ मिनेट १९ सेकेन्डलाई प्रत्येक २ बर्ष ८ महिना पछि अधिकमासको रुपमा मिलान गर्दछ | अधिकमास भनेको एउटा चन्द्र मास भित्र २ बटा सूर्य संक्रान्ति पर्नु हो |

निष्कर्ष
=====
इतिहाँस एकेडमिक जिज्ञासाको विषय वस्तु मात्र होइन ,यसको संबंध कला , कालबोध ,जातीय स्मृति , क्षेत्रीय पहिचान र मानवीय स्वाभिमान संगपनि रहेको हुन्छ | हाम्रो मानव सभ्यतापरक दृष्टिसंग रहेको हुन्छ | त्यसैकारण हामीले हाम्रा पुर्खाहरुको इतिहाँस केलाएर हाम्रो वर्तमान सामाजिक जीवनको भविष्यको स्पष्ट दिशा , आफ्नो मूल सभ्यता तर्फ उन्मुख भईरहने प्रवृत्ति मूलक दृष्टि खोज्ने प्रयाश गर्न सक्नु पर्छ | विक्रम संवतको इतिहाँस हाम्रालागि यसै रुपमा प्रासंगिक ठहरिन पुगेको हो र त्यसैकारण हामीले प्रत्येक बर्षको बैशाख १ गतेको नयाँ बर्ष मान्ने गरेका हौँ | विक्रम संवतले हामीलाई हाम्रो पुरुषार्थ प्राप्तिकोलागि अग्रसरहुने प्रेरणा मात्र दिएको छैन ,बरु यसले हाम्रा तत्कालिन पुर्खाहरुको वैदिक ज्ञान विज्ञानप्रतिको गहन दृष्टि र दखल समेत उजिल्याई दिएको छ | निस्पक्ष भएर लेखिने इतिहाँसले तथ्य परक बाटो समाउँदछ | तर , यसको अर्थ त्यो तथ्य भन्ने चिजको निर्धारण आफ्ना मनले छानेको किताव , प्राचीन ग्रंथ, शिलालेख या आफु अनुकुलका पुरातात्विक सूचनाहरुमा मात्र सीमित हुनु हुँदैन | आपसी खिचातानी र सत्य छोप्न एकदमै विरोधी भई लेखिएकोपनि हुनु हुँदैन | नेपालमा चलन चल्तीका सबै संवतहरुको सिद्धान्त प्रष्ट छ | सबै उत्तिकै महत्वपूर्ण हुन सक्लान | तर ग्रह , नक्षत्रलाई पाञ्चाङ्ग लेख्नेले चल मानेर गणना गरेपनि वा अचल मानेर गणना गरेपनि सूर्य र चन्द्र ग्रहणको समयमा कहिल्यै फेर बादल आएको छैन भंनेकुरा मात्रपनि विचार गर्न सकिएको खण्डमा सनातनी पूर्वीय ज्ञानको गहिराई आंकलन गर्न सकिन्छ र त्यस्तो गणनाको वैज्ञानिकता माथि कुनै किसिमको आंच कहिल्यैपनि आउन सक्ने छैन | त्यसैले नेपालका सबै पात्राहरुले सूर्योदय र सूर्यास्तकालको समय घड़ी, पला र विपला सम्म शुद्ध निकाल्न सकेको हो | त्यसैले ईशाई संवतको अवैज्ञानिकता र विक्रमाब्दको सर्वलौकिकता र वैज्ञानिकता समेटिएको तथ्यहरु सनातनी हिंदू समाजको वैश्विक स्तर हेरी प्रचार प्रसार गर्न सकिए यो विक्रम संवत अझै सर्वव्यापी र लोक कल्याणकारी हुँदै जानेछ भन्नेकुरा नकार्न सकिन्न | नव बर्ष वि.स.२०७४ सबैकोलागि शुभ होओस | सबैको जय होस …..अस्तु ||| – प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *