Best Online News From Nepal

लामो समयपछि टुंगियो पाँचथर–धनकुटा सडकको विवाद, जेठको पहिलो सातादेखि निर्माण थालिने

लामो समयको रस्साकस्सीपछि पाँचथर–धनकुटा आर्थिक केन्द्र जोड्ने मोटरबाटोको सम्झौता भएको छ । जिविस पाँचथर र फिदिम–रानीगाउँ, यासोक–खाल्डे–आङना, मौवा–कुरुले, धनकुटा उपभोक्ता समितिबीच मोटरबाटो निर्माणका लागि सम्झौता भएको हो ।

स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले सडक निर्माणमा विवाद भएपछि प्रारम्भिक रुपमा गरिएको सर्वेक्षणअनुसार नै मोटरबाटो निर्माण गर्ने गरी सम्झौता भएको बताए । उपभोक्ता समितिकोे निर्देशिकाअनुसार नै सो सम्झौता भएको र फेरि पनि विवाद भए योजना नै रद्द हुने बताए । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर कार्कीले अब जेठको पहिलो सातादेखि नै निर्माणको काम सुरुवात गर्ने बताए । उनले आर्थिक वर्षको अन्त्यसम्ममा सकिने गरी काम थालिने उल्लेख गरे ।

मोटरबाटोको आङना–३ हात्तीबारडाँडादेखि मौवाको त्रिवेणीखण्डमा विवाद भएको थियो । आङना र मौवाका माथिल्लो भेगका सरोकारवालाले हात्तीबारडाँडा हुँदै थेपाङ–सान्धाने, श्यामशेर गाउँ हुँदै त्रिवेणी जोड्नुपर्ने भन्दै हस्ताक्षर जिविसमा बुझाएका थिए । दुवै गाविसका तल्लो भेगका सरोकारवालाले भने प्रारम्भिक सर्वेक्षण भएकै ट्र्याकलाई कायम गर्दै सम्झौता गरी पाऊँ भनी हस्ताक्षर नै बुझाएका थिए । योजनामा विवाद भएपछि लामो सयमदेखि सम्झौता हुन सकेको थिएन । मोटरबाटो निर्माणका लागि जिविसले १५ लाख ८० हजार १ सय ६० रुपैयाँ विनियोजन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *