रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका लागि पछिल्ला दुईवटा निर्वाचनमा उम्मेदवार रहेका मिट्ट रोम्नी र जन म्केनले यसपालि उम्मेदवारी दौडमा अगाडि रहेका डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्।
रोम्नीले ट्रम्प ‘हेपाहा’ र ‘ठग’ भएको भन्दै मुलुकलाई नेतृत्व दिन उनी उपयुक्त नभएको बताए।
उनले भने, “डोनल्ड ट्रम्पको व्यक्तिगत क्षमताहरुबारे सोच्नुस् त। एकजना हेपाहा, लोभी, तडकभडक गर्ने, स्त्री जातिप्रति द्वेष राख्ने र नाटक गर्ने। कल्पना गर्नुस् तपाईंका छोराछोरी र नातिनातिनाले उनीजस्तै काम गरे भने के तपाईंले स्वागत गर्नुहुनेछ?”
रोम्नीले भनेका छन्, ट्रम्पमा न त राष्ट्रपति बन्ने स्वभाव नै छ न त निर्णय गर्ने क्षमता नै। बिहिबार युटाहमा बोल्दै रोम्नीले भने, “यदि पार्टीको तर्फबाट ट्रम्प उम्मेदवार छानिए सुरक्षित र समृद्ध भविष्यको संभावना न्यून हुनेछ।”
‘विफल उम्मेदवार’
यसैगरी सिनेटर जन म्केनले राष्ट्रिय सुरक्षासम्बन्धमा ट्रम्प बेखबर रहेको र उनले अवलम्बन गरेको नीति खतरनाक भएको भन्दै आलोचना गरेका छन्।
जवाफमा ट्रम्पले रोम्नीलाई पछिल्लो राष्ट्रपतीय निर्वाचनमा बराक ओबामासँग हारेका एकजना ‘विफल उम्मेदवार’ र ‘एक निष्प्रभावी कलाकार’ भएको संज्ञा दिएका छन्।
मेनमा एउटा सभालाई संबोधन गर्दै ट्रम्पले भने, “मैले मिट्ट रोम्नीलाई समर्थन गरेको थिएँ, मेरो समर्थन पाउन उनले विन्ती गरेका थिए, अहिले तपाईंले हेर्न सक्नुहुन्छ उनी कति वफादार रहेछन्।”
रोम्नीले हालसम्मकै सबैभन्दा नराम्रो चुनावी प्रचारप्रसार गरेको भन्दै ट्रम्पले राम्रो गर्न सकेको भए सन् २०१२ मा बराक ओबामालाई हराउन सक्ने बताए।
Source: BBC