Best Online News From Nepal

रुसमा ६१ जना सवार विमान दुर्घटनाग्रस्त

रुसको दक्षिणी शहरमा रोस्तोभ-अन-दोनमा अवतरण गर्ने क्रममा ६१ जना सवार फ्लाइदुबईको विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार दुर्घटनापछि विमानमा सवार ५५ जना यात्रु र ६ जना चालक दलका सदस्यको मृत्यु भएको छ।

फ्लाइदुबईको बोइङ ७३८-८०० विमान स्थानीय समय अनुसार बिहान चार बजेतिर अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर आगो लागेको थियो।

दुर्घटनाको कारण थाह भइसकेको छैन, तर बाक्लो हुस्सु र हावाहुरी दुर्घटनाको कारक मानिएको छ।

अवतरण

दुर्घटनाको बेला विमानभित्र विष्फोट र आगलागी भएका विवरणहरु आएका छन्।

समाचारहरुमा जनाइए अनुसार सो विमान अवतरण गर्ने पहिलो प्रयासमा विफल भएपछि करिब दुई घन्टा आकासमा घुमेको थियो।

दोस्रो अवतरण प्रयासमा सो विमान दुर्घटनाग्रस्त हुन पुग्यो।

विमानमा सवार अधिकांश यात्रु रुसी नागरिक भएको एक रुसी अधिकारीले बताए।

उद्धार

विमानमा तीन जना विदेशी नागरिक रहेको अपुष्ट खबर छ।

सञ्चारमाध्यमले जनाएअनुसार दुर्घटना स्थलमा करिब ७०० उद्धारकर्ता खटिएका छन्।

फ्लाइ दुबईले आफ्नो फेसबुक पेजमा दुर्घटनाबारे जानकार रहेको र त्यसबारे उसले अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।

Source: BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *