Best Online News From Nepal

राजाका गीतमा स्वर भर्दै बूढापाका

 

Shivahari Ghimire : तबेला, धिमेबाजा र बासुरको सुमधुर धुन । धुनसँगै जोसिलो स्वर भर्दैछन्, अनुहार चाउरिएका पाका पुस्ता। बूढापाकाको स्वरले युवा र विदेशी पर्यटकको ध्यान विस्तारै खिँच्दै छ । उनीहरू स्वर सुन्न त्यहाँ झुम्मिँदै छन्। सबैले चाखलाग्दो पारामा बूढापाकालाई नियाल्दै छन् । कोही उनीहरूसँगै स्वरमा डुब्न खोज्दैछन्।

गएको मंगलबार पाटन दरबार क्षेत्रमा पर्ने कात्तिक डबलीमा यस्तै दृश्य देखियो । मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि पाटनमा मल्ल राजाका गीत गाइन्छ । ज्या पुन्ही (जेठ पूर्णिमा ) को उपलक्ष्यमा हरेक वर्ष यसरी नै सिद्धिनरसिंहका गीतमा पाटन क्षेत्रका बूढापाकाले स्वर भर्ने गर्छन् ।

पुराना रागसहितको गीतले दरबार क्षेत्र गुन्जित हुन्छ । यी गीतमा पाका केही पुस्ताले स्वर भर्छन् । गाउन अप्ठेरो र पुरानो रागलाई समात्न नयाँ पुस्ताले नसकेको पाटनका सहमान बज्राचार्यले बताए । उनले भने, ‘पुराना राग अहिलेकाले गाउन सक्ने खालमा छैनन्, निकै मेहनेत गर्नुपर्छ, यी गीतमा आउने पिढीको आर्कषण निकै कम देखिन्छ ।’असारलाई राजा सिद्धिनरसिंह मल्लले संगीत दिवस पनि भनेका थिए । सोही अवसर पारेर राजा सिद्धिनरसिंह मल्लको सिंहासन राखिने प्रचलन छ । प्रत्येक वर्ष डबलीमा तीनै राजाले राग भरेका संगीतमा स्वर दिन बाक्लो उपस्थिति हुन्छ ।मल्ल वंशको शासन समाप्त भएको साढे दुई सय वर्षपछि पनि पाटनमा मल्ल राजाका गीत गाइन्छ । ज्या पुन्ही (जेठ पूर्णिमा ) को उपलक्ष्यमा हरेक वर्ष यसरी नै सिद्धिनरसिंहका गीतमा पाटन क्षेत्रका बूढापाकाले स्वर भर्ने गर्छन् । पुराना रागसहितको गीतले दरबार क्षेत्र गुन्जित हुन्छ ।

नेवार समुदायले ज्या पुन्ही (जेठ पूर्णिमा)लाई लामो दिनको रूपमा पनि लिन्छन् । पाश्चात्य जगतमा जुन २१ लाई सबैभन्दा लामो दिन घोषणा गरिएको छ । हामी कहाँ ज्या पुन्ही (जेठ पूर्णिमा) लामो दिन मानिन्छ । करिव चार सय वर्षअघिदेखि तिथि अनुसार आजको यो दिनलाई नै लामो दिन मान्न थालिएको हो।

‘वर्षभरिमा ज्या पुन्ही (जेठ पूर्णिमा)लाई सबभन्दा लामो दिन मानिन्छ, पाटनका सम्पदा प्रेमी अजरमान जोसीले भने, ‘सो दिन राजा सिद्धिनरसिंह मल्लले रचेका ३६ राग गाइन्छ । त्यसमध्ये एक राग मेघमलाहार राग हो ।’ उनका अनुसार यो रागले मेघ गर्जनको स्वागत गर्छ । यो राग गाएपछि बर्खा लाग्ने र पानी पर्छ भन्ने किंवदन्ती छ ।’ यो गीत गाएलगत्तै उपत्यकामा पानी पनि पर्छ भन्ने जनविश्वास छ ।

सिद्धिनरसिंह मल्लले रचेका रागमध्ये मेघमलाहार, मल्हा, मालोव, जयश्री, धनाश्रीलगायत राग अहिलेसम्म पनि अत्यन्तै लोकप्रिय छन् । गुरुप्रथा अनुसार पाकाले सिकाउँदै आएकाले अहिलेसम्म यो परम्परा जीवित रहेको हो । सिद्धिनरसिंहले रचेका रागलाई ललितपुरको मंगलबजारस्थित चारनारायण मन्दिर प्रांगणस्थित कात्तिक डबलीमा प्रत्येक वर्ष मंसिरदेखि मञ्चन गर्ने चलन छ।

‘हाम्रो आफ्नै साँस्कृतिक मूल्य र मान्यता छ, विगतमा पुष्टि भएका कतिपय संस्कतिलाई पनि हामीले वास्ता गरेनौं,’ संस्कृतिविद् हरिराम जोशीले भने, ‘हामीले हाम्रो प्रचलनलाई सूचीकृत एवं उद्घोष गर्न नसकेकाले पुराना संस्कृतिको जरो उखेलिने अवस्थामा पुगेको छ ।’ उनले राजा सिद्धिनरसिंहको बेलामा गाइएका धेरै राग र संगीत पाटन क्षेत्रको संस्कृति र परम्परा जोडिएको बताए । तीनलाई नयाँ पुस्ताले अनुशरण गर्दै संरक्षण गर्न उनले आग्रह समेत गरे ।

संस्कृतिविद् सत्यमोहन जोशीले पहिले–पहिले पुराना र र संगीतका स्वर भर्ने धेरै भए पनि अहिले त्यो संख्या घटेको बताए । उनदे सिद्धिनरसिंह मल्लका गीत र रागमा जति सुने पनि नपुग्ने गहिरो भाव लुकेको बताउँछन् । ‘मल्ल राजाका पालामा गीत–संगीत फरक धारमा गाइन्थ्यो, त्यतिबेलाको संस्कृति र देवी देवताको अवस्थालाई गीतमा समेटिएको हुन्थ्यो,’ उनले भने, ‘बिस्तारै पुरानो कला संस्कृति लोप हुँदै जाने अवस्थामा छ ।’ उनका अनुसार सिद्धिनरसिंहले जेठ र असारमा विभिन्न गीत र संगीतको रचना गरेका थिए ।

प्रजा जति सबै खेती गर्न जाने भएकाले जेठ र असारमा दरबारमा राजालाई दिन कटाउन समेत मुस्किल हुने गथ्र्यो । त्यसबेला उनले गीत रचना गरेको उनको तर्क छ।राजा सिद्धिनरसिंहले रचेका ३२ मध्ये १५ राग लोप भइसकेका छन् । बाँकी राग संरक्षणका लागि कात्तिक नाच संरक्षण समिति र ललितपुर संरक्षण केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएका छन्।

देवता र समयसँग जोडिएका गीत

‘कपु लपु वस म्हस नीर निचरण
कियल ककन वि, धुच्छेगलि वसत ।।

बासस मुसानस गला गजि यस
मोल माल हाल वस आभरन हेस ।।’

अर्थात्
‘कपुरजस्तो शुद्ध वर्ण तिम्रो,

हातमा नागको बाला,
ओढ्छौं बाघको छाला

यही हो तिम्रो शरीरको वस्त्र
गाँजा भाङ धतुरो सेवन गर्ने,

मुण्ड माला तिम्रो अस्त्र ।’
‘कर्पुर गौरम् करुणा वतार…’कै शैलीमा रचना गरिएको यो गीत र मल्ल वंशीय राजा सिद्धिनरसिंहले रचेका हुन् । शिवभक्तिमा उनले रचेको यो गीत पाटन क्षेत्रमा चर्चित छ । बूढापाकाको मन मनमा झुन्डिएको छ । सामान्य पूजाआजाको बेला पनि बूढापाकाले यही गीत गाउने गरेको भेटिन्छ । सिद्धिनरसिंहले नयाँ राग रच्न पाटन दरबारको सिद्धिनरसिंह चोकअगाडि आफ्नो गद्दीमा कलाकारलाई डाके । करिब एक महिनाको समयमा राजाले ३२ राग सिर्जना गरे । आफूले असारमा ३२ राग रचेकाले राजा सिद्धिनरसिंह मल्लले असारलाई संगीत दिवसको महिना भनेर नेपाल सम्वत् ७४० मा सुरु गरेका थिए ।