Best Online News From Nepal

राजनीति मात्रै मौलाएको देशमा, निमिट्यान्न छ आर्थिक स्थिती

राजनीति राष्ट्रको मेरुदण्ड हो । मुलुकको हरेक पक्षसँग राजनीतिको प्रत्यक्ष सम्बन्ध हुन्छ । मुलकको विकास निर्माण, नितीनियम, कार्यान्वयन, उद्योग व्यवसाय, गरीबी, रोजगारी लगायतका हरेक विषयसँग राजनिती जोडिएर आउँछ । त्यसैले, मुलुकको राजनितीक अवस्था सुदृढ नहुँदासम्म मुलकको विकास निर्माणले गति लिन नसक्ने कुरा निश्चित छ । नेपाल लामो समयदेखि राजनीतिक अस्थिरताको शिकार भइरहेको छ । राजनितीले एक फोहोरी खेलको रुपमा सर्वसाधारणमाझ आफ्नो छाप बसाएको छ । फलस्वरुप राजनिती तथा नेतृत्वकर्तामाथि जनताको विश्वास गुम्दै गइरहेको छ । जनताको समर्थन पाउन नसकेकै कारण नेपालका हरेक शासकले असफल नेतृत्वको ट्याग पाइरहेका छन् ।

२००७ सालदेखि नै संक्रमणकालीन अवस्थाबाट नेपालको राजनीति गुज्रिरहेको छ । २००४ सालदेखि अहिलेसम्म आउँदा ७ ओटा संविधान बनिसके । तर, कुनै पनि संविधान दिगो भएन । न शासन व्यवस्था दिगो हुन सक्यो न शासकले नै आफ्नो पदावधि पूर्ण रूपमा बिताउन पाए । मुलुकको शासन व्यवस्था परिवर्तन गर्ने, स्वतन्त्रताको अधिकारको प्रत्याभूति गर्ने जस्ता कुराहरुलाई लिएर थुप्रै लडाईँ भए, थुप्रै शहिद भए । तथापि, मुलुकको संरचनागत परिवर्तनलाई मात्र मुख्य एजेण्डा बनाइँदा मुलुकको आर्थिक समृद्धिको पाटो नै विलिन हुन पुग्यो । जति नै लडाईँ तथा द्धन्द्ध गरिएतापनि जनताले चाहेजस्तो आर्थिक परिवर्तन पाउन सकेनन् ।

देशको अर्थतन्त्रलाई बलियो बनाउने कुनै पनि आधार नेपालसँग छैन । दिनदिनै बढिरहेको परनिर्भरताको उपजस्वरुप आज नेपाली जनताको जीवनस्तर कष्टकर बन्दै गइरहेको छ । मुलुकका उद्योगधन्दाहरु बन्द, हड्ताल, इन्धन अभाव लगायतका समस्याबाट पिल्सिइरहेका छन् । मुलुकमा रोजगारीको वातावरण नहुँदा मुलुक बनाउने कर्मठ हातहरु दैनिक १५ सयको संख्यामा विदेशिरहेको अवस्था छ । आफ्नो देश बनाउने हातहरुलाई विदेशमा मजदुरी गर्न पठाएर रेमिट्यान्सले धानेको अर्थतन्त्र भन्दै हामी गर्व गरिरहेका छौँ । मुलुकको विकास निर्माणका लागि अनुदान र सहयोगको आशामा बसिरहेका छौँ ।

प्रशस्त स्रोत, साधन र सम्भावना भएर पनि त्यसको परिचालनको लागि आवश्यक नीति नहुँदा मुलुकको आर्थिक अवस्था खस्किँदो अवस्थामा छ । स्याउ उत्पादन हुने ठाउँको स्याउलाई बजारसम्म ल्याउन नसकेर कुहिने गरेको छ । पर्यटकीय सम्भावना बोकेका स्थानमा आवश्यक पूर्वधारको विकास हुन नसक्दा ओझेलमा परेका छन् । औषधिमा समेत परनिर्भर नेपालका करोडौँ मूल्यका जडिबुटीमा नेपाल सरकारको ध्यान पुग्न सकिरहेको छैन । इन्धनको अभावको समस्या पटकपटक झेलिरहँदा पनि स्वदेशकै जलविद्युत् उत्पादन क्षमताको प्रयोग हुन सकिरहेको छैन । भएका उत्पादनहरुमा पनि लगानीका लागि विदेशीलाई नै गुहार्नुपर्ने अवस्था छ । त्यस्तै, मुलुकमा राजनितीक पार्टीको संख्या दिनप्रतिदिन बढिरहँदा उद्योगका संख्याहरु घटिरहेका छन् । राजनितीक पार्टीका द्धन्द्धमा सँधै आर्थिक क्षेत्र पिल्सिने गरेको छ । उर्वर भूमि भएका स्थानमा दिनानुदिन वस्ती बसाइँदैछ भने आम्दानीको दोब्बर लगानी लाग्ने स्थानमा खेती गरेर कृषिमा व्यवसायिकता ल्याउने कुरा गरिँदैछ । कुखुरा पाल्नको लागि दानादेखि चल्लासम्म आयात गरिन्छ, तरकारी खेतीका लागि वीउदेखि मल तथा औषधीसम्मका लागि विदेशीको भर परिन्छ ।
समग्रमा भन्नुपर्दा, राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र, कानुनी शासनको अभाव र कमजोर सुरक्षास्थिति भएकाले नेपालमा वैदेशिक हस्तक्षेपले प्रश्रेय पाइरहेको छ । भाइ फुटे गभार लुटे भनेझैँ नेपालभित्रको द्धन्द्धको फाइदा बाह्य मुलुकहरुले लिइरहेका छन् । बाह्य मुलुकहरुलाई नेपाली जनता, नेपाली स्रोत तथा साधनलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सहज वातावरणको निर्माण हामीले गरिदिएका छौँ । विदेशीले हात हाल्ने भनेकै संकटग्रस्त स्थानमा हो । जहाँ संकट छ त्यहाँ सहयोगको नाममा चलखेल गरी आफ्नो स्वार्थपूर्ति गर्न पाइने भएकाले नै अस्थिर मुलुकमा विदेशीको उपस्थिति उल्लेख्य हुन्छ र हस्तक्षेप पनि बढी नै हुन्छ । वैदेशिक सहायता र समस्याको समाधान गर्ने नाममा आधुनिक शैलीको साम्राज्य नै विस्तार हुन्छ । नेपाल लामो समयदेखि वैदेशिक हस्तक्षेपको शिकार हुँदै आएको छ । अघिल्ला दिनहरूमा दक्षिणी हस्तक्षेप मात्र झेल्दै आएको नेपालले पछिल्लो समय पश्चिमी हस्तक्षेप समेत झेल्नुपरेको प्रष्टै देखिन्छ ।

तसर्थ, मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन विनाआधारका भाषण काफी छैन । आफूले गरेका बाचा पूरा गर्न सक्ने खुबी नेतृत्व पक्षसँग हुनु जरुरी छ । साथै, मुलुकका सम्भावना पहिचान गर्ने मात्र हैन त्यसको प्रयोग पनि सही समयमा सहि तरिकाले गर्नु जरुरी हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको, नेपालभित्रका प्राकृतिक स्रोत र साधन जस्तै, बनजंगल, उर्वर भुमी, नदीनाला, हिमालयहरुका साथै सांस्कृतिक विविधता लगायतका सम्पत्तिहरु नै मुलुकको आर्थिक समृद्धिको आधार हुन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यसका साथै, देश बनाउँछु भनेर नेतृत्व तहमा पुगेका राजनितिज्ञहरुले जनताको मन जित्न सक्ने खुबी पनि राख्नुपर्छ ।

मुलुक असफलतातिर मोडिनुमा नेतृत्व पक्षको मात्रै हात छ भनेर सोच्नु नेपालीको अर्को भुल हो । यसमा जनताको पनि भूमिका रहन्छ । पछिल्लो समयमा नेतृत्व तहमा पुगेका कसैले पनि जनताको पूर्ण साथ पाएका छैनन् । नेतृत्व चयन भएको भोलिपल्ट देखि नै उसको खेदो खन्न थाल्नु नेपालीको फेसन जस्तै बनिसकेको छ । बारम्बार नेतृत्व परिवर्तन गरिरहनुभन्दा, भएकै नेतृत्वका राम्रा कार्यलाई साथ दिने, नराम्रा कार्यमाथि खबरदारी गर्ने र आफ्ना माग र आवश्यकता पूरा गर्न सरकारलाई साथ दिने परम्परा अपनाउनु जरुरी हुन्छ । कुन पार्टीको सरकार भन्दा पनि सरकार भित्र रहेका नेताहरु कत्तिको विश्वसनीय र क्षमतावान् छन् भन्ने कुराका आधारमा मात्रै सरकारको मुल्यांकन गर्नुपर्छ ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *