Best Online News From Nepal

यो नै राष्ट्रघात हो, आत्मघात हो , सन्तानघात हो, मानवताको अपमान हो, आफैले आफूमाथि गरेको अन्याय हो ।

Keshav Prasad Bhattarai

ठ्याक्कै चार बर्ष अघिको कुरा –

१ – भोट सडकमा माग्न बसेको विभिन्न रुपका माग्नेलाई दिइने भिक्षा होइन, त्यो त आफ्नो विवेक, विश्वाश र राष्ट्र , जनता, आफू र आफ्नै सन्तानको भविष्य प्रतिको हाम्रो इमान्दारिता सावित गर्ने सबै भन्दा ठूलो साक्ष र प्रमाण हो ।

२. नेतृत्व भनेको पद होइन, जिम्मेवारी हो र जिम्मेवारी प्रतिको प्रमाणित र परिणाममूलक प्रतिवद्धता हो । त्यसैले देशमा जे भैरहेको छ त्यसको लागि मूलत: भारत, अमेरिका, चीन वा युरोप अरु कोही नभएर हाम्रा नेतृत्व भनिएकाहरु नै जिम्मेवार हुन ।
यिनीहरुको अभाव र कमजोरीको लाभ देश बाहिरका शक्तिले उठाएका मात्र हुन ।
र त्यो स्वाभाविक हो ।

३. सबै कुरा गर्ने भारत, चीन, अमेरिका र युरोप नै हो भने, उनीहरु नै सबै थोक हुन् भने हामीलाई प्रचण्ड, सुशील र झलनाथ, बैद्य, महन्थ वा गच्छेदार किन चाहियो ?

किन यिनको नेतृत्वको दल चाहियो ? विघटन गरिदिए भै गयो नी ।

त्यसैले दोष अरुका थाप्लामा थोपरेर होइन, दोष आफूले सकारेर दोष रहित बाटो पहिल्याउने हो ।
जो त्यो गर्छ त्यो नेता हो ।

४. हाम्रो देशको ठूलो अभाव नेता भन्दा पनि नेताका र विदेशीका चाकर शिक्षित ? वुद्धिजीवी ? हुन ।
बुद्द्धिजीवीहरुलाई देशलाई चाहिने ज्ञान र बुद्धि र ज्ञानको विकाश गर्न, पेशाकर्मीहरुलाई देश र जनतालाई आवश्यक पेशागत ज्ञान, शीप र कौशल आर्जन गर्ने र देशको पक्षमा लगानी गर्ने , न्यायकर्मीहरुलाई जनतालाई न्याय दिन र नेतृत्वलाई देश र जनताको लागि राम्रो नेतृत्व दिन र उत्तरदायी हुन भारत . . . . आदिले छेक्ने हुन ?

५. अरुलाई दोष दिएर आफू चोखो देखिन खोज्ने कथित सबै नालायक हुन, कायर हुन , देश र जनताका लागि बोझ हुन ।

त्यसैले आफ्नो नीजी महात्वाकांक्षाको लागि पद बटुल्न खोज्ने लोभी र जो संग पनि लम्पसार पर्न सक्ने आत्मसम्मान नभएका कायरहरुलाई होइन,

ज्ञान पनि भएका, आफूमा पनि उर्जा पनि भएका, देश र जनताको शक्ति पनि जानेका, देश विदेशको बारेमा पनि जानेका-पढेका, बुझेका, परि आउँदा राष्ट्रको लागि जुन सुकै भूमिका निर्वाह गर्न सक्ने योग्य -आफ्नो विश्वासका दलका त्यस्ता मानिसलाई मात्र भोट दिउँ ।

त्यस्ता मानिस संसद/ संविधान सभामा पुगे देश आफैं उठ्छ ।
दया, मायाका पात्रलाई कल्याण केन्द्रमा; र क्षमता र विश्वाशका पात्रलाई संविधान सभामा ।

६. हाम्रो भोट हामी र हाम्रा सन्तान र देशको भविष्यको कुंजी हो, देशको स्वततन्त्रता, संवृद्धि र सार्वभौमिकताको लागि सबै भन्दा शक्तिशाली लगानी हो ।
अचूक अश्त्र हो ।

हामी विरामी भयौं भने उपचारको लागि राम्रो डाक्टर खोज्छौं , छोरा छोरीलाई पढाउन राम्रो स्कूल र शिक्षक खोज्छौं , आफ्नो घर बनाउन राम्रो इन्जिनीयर ठेकदार , मिस्त्री, ज्यामी खोज्छौं , बजारमा सामान किन्दा – खोज्दा सकभर गतिलो, टिकाउ खोज्छौं , रोज्छौं ।

अनि आफू,आफ्ना सन्तान र देशको लागि नेता र हाम्रो प्रतिनिधि रोज्दा निकम्मा, कायर, लाचार, कायर र लोभी ?

७. यो नै राष्ट्रघात हो, आत्मघात हो , सन्तानघात हो, मानवताको अपमान हो, आफैले आफूमाथि गरेको अन्याय हो ।

आफैंले राष्ट्रमाथि, आफूमाथि र आफ्ना सन्तान दर सन्तान माथि अन्याय गर्न हुन्छ भने अरुले . . . ?

त्यसैलाई आफूलाई र आफ्ना सन्तानका लागि राम्रो राष्ट्र र समाज बनाउन आफैंले पहिला पाइला चाल्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *