Best Online News From Nepal

यातायात क्षेत्रमा वर्तमान परिस्थितीको धक्का : पलायन हुँदै व्यवसायी

चालु आर्थिक वर्षमा सवारी आयात घटेको छ । भारतको नाकाबन्दी र इन्धन अभावका कारण चालू आर्थिक वर्षमा अटोमोबाइलको व्यापार खस्किएको हो । सडक निर्माण, जनसंख्या वृद्धिसँगै बिलासिताका लागि हरेक वर्ष सवारी साधन प्रयोगकर्ताको संख्या बढ्दै जाने गरे पनि चालु आव २०७२/७३ मा निकै कमी आएर यो वर्षको अटोमोबाइलको व्यापार निकै खस्किएको बताइएको छ । चालु आवको पहिलो नौ महिनामा आव ०७१/७२ को तुलनामा १२.८८ प्रतिशत अर्थात् २१ हजार ८ सय ३१ सवारी साधन कम दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सबै गाडीको आयातमा कमी
गत वर्षको सोे अवधिमा १ लाख ६९ हजार ६ सय १३ दर्ता भएकोमा यो वर्षको सोही अवधिमा १ लाख ४७ हजार ७ सय ८२ मात्र दर्ता भए । गत वर्ष एक लाख ४२ हजार दुई सय ४१ मोटरसाइकल दर्ता भएकोमा अहिले १ लाख २३ हजार ३ सय ७३ मात्र दर्ता भए । गत वर्ष ६ सय ११ माइक्रो दर्ता भएकोमा यो वर्ष १ सय ३४ मात्र किनबेच भए । मिनी बस, ट्रक, क्रेन, डोजर, कार, जिप, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, पावर टेलर लगायत सबै गाडीको आयात घटेको भन्सार विभागले जनाएको छ ।

राजस्व संकलनमा असर
सवारी आयात घटेपछि राजस्व संकलनमा निकै कमी आएको भन्सार विभागले जनाएको छ । सवारी साधन आयात नहुँदा राजस्व संकलन १७ प्रतिशत घटेको छ । गत वर्ष यो अवधिमा २६ अर्ब ३६ करोड ९३ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा अहिले घटेर २१ अर्ब ७५ करोड २४ लाख ८८ हजार रुपैयाँमा सीमित भएको विभागले जनाएको छ । सवारी साधन कम आयात भएपछि पार्टपुर्जाको व्यापार पनि घट्यो । गएको आवमा सरकारले अटोमोबाइलबाट ४४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सडक मर्मत सम्भार शुल्क, सवारी दस्तुरलगायत शुल्क जोड्दा ६० अर्ब हाराहारीमा यातायात क्षेत्रबाट राजस्व संकलन भएको जनाइएको छ ।

पेसा नै त्याग्नुपर्ने अवस्था
सबै सवारी साधन भारत हुँदै आउने भएकाले नाकाबन्दीको समयमा सीमा क्षेत्र ठप्प जस्तै थियो । सवारी साधनको मुख्य किनबेच हुने दसैंतिहार सहित हिउँदमा नाकाबन्दी र करिब ७ महिना पेट्रोलियम पद्धार्थ अभाव हुँदा सवारीको कारोबारमा निकै ठूलो धक्का लाग्यो । सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी किन्ने चाहना भएका व्यक्तिले इन्धन नपाउने भएपछि गाडी किन्ने योजना थाँती राखे । सार्वजनिक यातायातमा पनि कसैले लगानी गर्ने परिस्थिति बनेन । भारतको नाकाबन्दीले लामो समय नेपालमै रहेका गाडी समेत सञ्चालन हुन पाएनन् । इन्धन नभएपछि सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति भयो । तेल नपाएपछि बैंकको किस्ता तिर्न नसकेर बस, मिनी बस, माइक्रो लगायतका लगानीकर्ता पेसाबाट विस्थापित भएका थिए । बैंक, फाइनान्स, सहकारीबाट किस्ताबन्दीमा ऋण निकालेर सार्वजनिक सवारी साधन किनेका व्यवसायीले किस्ता तिर्न नसकेपछि उक्त अवधिमा पेसाबाट पलायन समेत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *