Best Online News From Nepal

यस्तो छ पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको अनुभव

महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भारतको पटनामा शिक्षण पेसा छाडेर भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले प्राविधिक भई स्वदेश फर्किन प्रेरित गर्यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादवमा अहिले पुनःनिर्माण अभियानको रोजगारीसहित पीडितको सेवा गर्न पाउँदाको प्रशन्नता प्रष्टै देखिन्छ । पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) र युएसएआइडीको सहयोगमा सम्पन्न दुई दिने अभिमुखीकरणमा सहभागी भएपछि यादवले भने, ‘‘मैले यस नयाँ काममा पैसाको मुख हेरेको छैन, राष्ट्रको सेवाको अवसर देखेको छु, अनि सरकारी सेवा प्रवेशले स्थायित्वको सम्भावना पनि मानेको छु ।’’

प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एकैसाथ १ हजार ३ सय ४७ इञ्जिनियर खटाएको हो । कुल ३ हजार आवेदकमध्येबाट सो संख्यामा छनोट गरिएको र त्यत्तिकै संख््यामा सवइञ्जिनियर खटाइएको छ । यी नयाँ जिम्मेवारी बोक्नेलाई निजी आवासका विभिन्न १७ ढाँचा दिइएको छ । स्थानीय प्रकृति र संस्कृति सुहाउँदो घर बनाउन पुनःनिर्माणको नीतिबमोजिम उनीहरुले परामर्श दिनेछन् ।

सप्तरीका धीरेन्द्र यादव पनि तालिम पाएर भूकम्प प्रभावित जनताको घरदैलोमा प्राविधिक सल्लाहकारको रुपमा जान पाउँदा खुशी देखिन्छन् । यादवले प्रभावितले पाउने घर निर्माणको अनुदान रकमको किस्ता र त्यसका प्रक्रियामा गाविस सचिव र जिल्ला विकास समितिलाई आवश्यक सहयोग समेत गर्ने गर्दछन् ।

बीस वर्षअघि इञ्जिनियरिङ्मा स्नातक गरेका काठमाडौंकी निसा तुलाधर पनि सोही अभियानमा खटिएका छन् । उनी यसअघि एक गैह्रसरकारी संस्थामा काम गर्थे । प्राधिकरणले महिलाका लागि काठमाडौं उपत्यका क्षेत्रमा काम गर्न प्राथमिकता दिएकाले तुलाधरले आवेदन दिएको बताए । बाँकेका प्रकाश भण्डारीले भविष्यमा सरकारी सेवामा आफ्नो अनुभव र क्षमता देखाउन पाउने सम्भावना देखेकाले आवेदन दिएको जनाए । भण्डारीले भने, ‘‘यसमा हामीले पैसाको भन्दा पनि देश सेवा र जनसेवालाई बढी जोड दिएका छौँ ।’’ पुरुष प्राविधिकलाई रोलक्रम (१,२,३) अनुसार क्रमशः उपत्यका बाहिरका स्थानमा खटाउने सरकारको नीति छ ।

धनुषा घर भएका सुरेन्द्रकुमार शाह पनि सिन्धुपाल्चोकको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम छाडेर पुनःनिर्माणको प्राविधिक बन्न आएको बताउँदै देशको सेवा गर्न पाउनु एक प्रकारको धर्म पनि भएको जनाए ।  नेपाल इञ्जिनियरिङ काउन्सिलमा हालसम्म १३ हजार इञ्जिनियर दर्ता भएको देखिन्छ ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफू पनि सोही क्षेत्रको उत्पादन भएको र यति धेरै संख्यामा राज्यले इञ्जिनियर खटाएको यो पहिलो अवसर भएकाले अब मुलुक पुनःनिर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए । नवनियुक्त प्राविधिकलाई बुधबार विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यस्थलतर्फ विदाइ गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *