Best Online News From Nepal

यस्ता छन् वाणिज्य मन्त्रालयका ४९ वटा नयाँ कार्यक्रमहरु, ६० दिनभित्र पूरा गर्ने लक्ष्य

वाणिज्य मन्त्रालयले ६० दिनभित्र पूरा गर्ने लक्ष्यसहित ५८ वटा कार्यक्रम ल्याएको छ । मन्त्रालयले मुलुकको व्यापार प्रवर्द्धनका लागि सार्वजनिक गरेको ६० दिने कार्ययोजनामा ४९ ओटा नयाँ कार्यक्रम र ९ वटा पूराना गरी ५८ वटा कार्यक्रम रहेका छन् । पूर्वाधार निर्माणमा केन्द्रित गरी मन्त्रालयले सार्वजनिक गरेको आगामी असार मसान्तसम्मको उक्त कार्ययोजनामा नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्झौता र सहभागिता, व्यापार सहजीकरण, निजीक्षेत्रसँगको समन्वयलगायत विविध कार्यक्रम समेटिएका छन् ।

आगामी असार मसान्तसम्म द्विदेशीय  र अन्तरराष्ट्रिय रूपमा नेपालले गरेका विभिन्न व्यापार सहजीकरण, वाणिज्य र पारवहनसम्बन्धी  सम्झौताहरूलाई मूर्तरूप दिने तथा कार्यान्वयनमा ल्याउने विषय कार्ययोजनामा समेटिएका छन् । यसबाहेक मुलुकको व्यापार प्रवद्र्धनका लागि रणनीति निर्माण र पूर्वाधार विकास गर्ने, नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)लाई प्रभावकारी बनाउने तथा थप विस्तार गर्ने, विभिन्न अन्तरराष्ट्रिय मेला र प्रदर्शनीमा भाग लिनेजस्ता कार्यक्रम पनि त्यसमा रहेका छन् । त्यस्तै मन्त्रालय र मन्त्रालयमातहतका निकायहरूलाई सुदृढ बनाउने, मुलुकभरका विभिन्न क्षेत्रमा निर्माणाधीन तथा योजनामा रहेका सुक्खा बन्दरगाहहरूको कामलाई गति दिनेलगायत कार्यक्रम कार्ययोजनामा छन् ।

मन्त्रालयले यसअघि ल्याएको सयदिने कार्ययोजनाको प्रगति समीक्षासहित नयाँ कार्यक्रमहरूसहितको कार्ययोजना ल्याएको हो । मन्त्रालयका अनुसार गत माघ २० गतेदेखि वैशाख ३० गतेसम्म कार्यान्वयनमा ल्याइएको कार्ययोजनाको प्रगति भने करीब ६५ प्रतिशत छ । यसलाई मन्त्रालयले सन्तोषजनक भनेको छ । ती अपूरा पुराना कार्यक्रम आगामी कार्ययोजनाको अवधिमा सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ । आगामी आवका नयाँ कार्यक्रमलाई समेत टेवा पुग्ने गरी कार्ययोजना ल्याइएको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *