Best Online News From Nepal

‘यसपाली मैदान बाहिर खेल्नेछु’

  विश्वकपकै मुखमा घाइते ब्राजिलियन खेलाडीको कथा

डानि अल्भेस

जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।

सबैजना ट्रफीसँगै खुशीयाली मनाइरहेका थिए । यसैले मनमा लागे पनि कुनै नकारात्मक भावना साथीहरुको अगाडि देखिएला भनेर सचेत भएँ । यदि तपाइँ डानी अल्भेसलाई चिन्नुहुन्छ भने, ऊ सधैँ मस्त तालमा खुशी रहने मान्छे हो । त्यसैले त्यहाँ पनि म खुशी देखिन रमाइलो गर्न खोजिरहेको थिएँ । तर, सबैजनाले मेरो आँखामा हेरेर केही अप्ठ्यारो परेको छ भन्ने बुझेका थिए ।

त्यो बेला म एक्लै हुँदा एकपटक मात्र रोएँ । अनि एउटा कुरा तपाइँलाई भनिहालुँ, मेरो दुःखमा अरुले दुःख मानिदिउन्, रोइदिउन्, साथ दिउन् भन्ने कहिले पनि लाग्दैन ।

म आफ्नो सपना बाँचेको छु । डानी अल्भेस यो पटक विश्वकपमा जाने छैन । तर पनि, उही आफ्नै पुरानो पारामा खुशी रहने छ ।

म बालक हुँदा जसरी ब्राजिलले विश्वकप खेलेको हेर्थें, यसपटक ठीक त्यसरी नै हेर्नेछु । उही पुरानो खेतमा बसेर हेरेजस्तै गरी । फरक त्योबेला भन्दा अहिले मेरो टीभी अलि ठूलो छ ।

त्यो समय म माटोको ओछ्यानमा सुतेर हुर्किएको हो । बुवालाई खेतको काममा मद्दत गर्न म हरेक बिहान पाँच बजे उठ्थें । खेतमा बुवालाई काम सकाएर म १० किलोमिटर टाढा रहेको स्कूलमा पढ्न जान्थें ।

म हुर्किएको बेलाको कुराहरु पढेर धेरैलाई लाग्न सक्छ, निकै दुःखमा हुर्किएको रहेछ । तर, अहँ होइन, म जसरी हुर्किएँ, त्यहाँ अरुको अवस्था त्यो भन्दा निकै नाजुक थियो । त्यो गाउँमा अरुभन्दा हाम्रो अवस्था अलि राम्रै थियो ।

मेरो बुवाको खेतबाट तरकारीहरु लगेर बेच्ने उद्यम थियो । त्यससँगै बुवाकै रक्सीहरु बेच्ने पसल पनि थियो । त्यसैले गाउँमै हाम्रो घरमा मात्र एउटा टेलिभिजन सेट थियो । एन्टेना घुमाएर हेर्नुपर्ने ७० औँ दशकतिरको पुरानो टीभी । त्यसमा स्टिलको एउटा एन्टेना थियो । बुवाले त्यही यताउति घुमाएर च्यानलहरु टिपाउनु हुन्थ्यो ।

त्यसमा दृश्य एकदमै नराम्रो हल्लिएको आउँथ्यो तर, पनि त्यसले राम्रै काम गर्थ्यो । बादल लागेको र पानी परेको दिनमा भने त्यसको काम थिएन ।

मेरो बुवालाई फुटबल असाध्यै मन पर्ने । फुटबलका लागि उहाँमा पागलपन थियो । यसैले त्यो सानो पुरानो टीभी उहाँका लागि निकै महत्व राख्थ्यो । त्यो टीभी भएकाले उहाँ आफूलाई त्यहाँको मेयर बराबर सोच्नुहुन्थ्यो ।

मलाई त्यो टीभीमा ०९४ को विश्वकप हेरेको याद छ । विश्वकै मध्यभागमा हाम्रो घर भएजस्तै पूरा देश एक महिनाको लागि अरु सबै छाडेर फुटबलमा हुन्थ्यो । हाम्रोतिर फुटबल हेर्नका लागि त्यस्तो कुनै ठाउँ थिएन । सबैसँग टीभी पनि थिएन । यसैले हाम्रो घर सानोतिनो स्टेडियम जस्तै लाग्थ्यो ।

गाउँका सबै मान्छे हाम्रै घरमा आउँथे । साँच्चै सबै जस्तै मान्छे विश्वकप चल्दा हाम्रै घरमा हुन्थे । सोच्नुस् त, ५० जनाभन्दा बढी मान्छे त्यो सानो टीभीमा फुटबल हेरिरहेका छन् । चिच्याएका छन्, कराएका छन्, पार्टी मनाएका छन् ।

अर्को रमाइलो कुरा के भने विश्वकपका बेला ब्राजिलमा सबैजसो तन्नेरीहरु सडकमा पहेँलो, निलो र हरियो रंग लिएर खेलाडीको चित्र बनाइरहेका हुन्छन् । तपाइँले सुन्नुभएको पनि यस्तै हो । तर, हाम्रोमा चित्र बनाउनका लागि त्यस्तो सडक नै थिएन । हामी गाईको ढाडमा चित्र बनाउँथ्यौं ।

Source: www.onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *