Best Online News From Nepal

म्यानमारमा टिन चो नयां राष्ट्रपति

म्यानमारको संसदले प्रजातन्त्रवादी नेतृ आङ सान सू चीका नजिकका सहयोगी टिन चोलाई देशको नयाँ राष्ट्रपतिका रुपमा चयन गरेको छ।

वर्षौंको सैनिक शासनपछि प्रजातान्त्रिक शासनतर्फ अघि बढिरहेको म्यानमारको संक्रमणकालमा यो कदम एउटा नयाँ चरणको द्योतक हो।

लगत्तै टिन चोले आफ्नो जितलाई सू चीको जीत भनेर स्वागत गरे।

संकेत

संविधानले राष्ट्रपति बन्नबाट निषेधित गरे पनि देशको नेतृत्व आफूले गर्ने सू चीले बताएकी छन्।

म्यानमारको सेनासंग अझै पनि उल्लेखनीय राजनीतिक शक्ति छ र उसले सैनिकहरुलाई देशको उत्तरबाट घना बस्तीका केन्द्रतर्फ सारिरहेका खबर प्राप्त भएका छन्।

एकजना बीबीसी संवाददाताका अनुसार यो कदमले सेनाले परिवर्तनलाई कति आशंकाका साथ हेरिरहेको छ भन्ने कुराको संकेत गर्दछ।

संसदको २५ प्रतिशत स्थान अझै पनि सेनाकै छ र सेनाबाट अवकाशप्राप्त एकजना जनरल मिन्त स्वे उप राष्ट्रपति बन्नेछन्।

ऐतिहासिक

म्यानमारको लागि यो अर्को ऐतिहासिक दिन हो।

तर यो ऐतिहासिक क्षणमा खुशीको अभिव्यक्ति– यदि उनलाई खुशी लागेको भए- सू चीले व्यक्त गरिनन्।

गत नोभेम्बेर महिनामा चुनाव भए यताका अरु क्षणमा जस्तै ती भूतपूर्व प्रजातन्त्रवादी अभियन्ताले संचार माध्यमसंग कुराकानी गरिनन् र कुनै पनि सार्वजनिक अभिव्यक्ति दिईनन्।

सम्भवतः सू चीकै निर्देशनमा टिन चोले पनि संचार माध्यमसंग धेरै कुराकानी गरेनन्।

सेनाद्वारा मनोनित मिन्त स्वेले २ सय १३ मत ल्याएर चुनावमा दोश्रो स्थान पाएका छन्।

भूतपूर्व राष्ट्रप्रमुख थान स्वेका सहयोगी स्वेलाई कट्टरपन्थीका रुपमा हेरिन्छ।

तेश्रो भएका चिनियां मूलका हेनरी भ्यान थिओले ७९ मत पाएका छन्।

अपेक्षित

म्यानमारमा ५० वर्ष भन्दा बढी समयपछि टिन चो पहिलो गैरसैनिक राष्ट्राध्यक्ष हुन्। संसदीय चुनावमा उनको जित अपेक्षित थियो।

सेनाका लागि २५ प्रतिशत स्थान सुरक्षित रहेको भएता पनि सू चीको पार्टीको संसदमा बहुमत भएकाले उनको पार्टीको उम्मेदवारको जित सुनिश्चित थियो।

तर सेनाले अझै पनि महत्वपूर्ण मन्त्रालयहरु नियन्त्रण गर्दछ। र ७५ प्रतिशत भन्दा बढी मत आवश्यक पर्ने कुनै पनि संवैधानिक परिवर्तनलाई अस्वीकार गर्न सक्दछ।

हालको संविधानले दिएको शक्तिमा पकड कायम राख्न खोजिरहेको सेना र अरु सांसदहरुबीच भविष्यमा तनाव हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *