पोखरा-नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री र रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाले गर्ने अबका कुनै पनि नाकाबन्दी र आन्दोलनलाई मधेसकै जनताले साथ नदिने बताएका छन्।
नेकपा (एमाले) कास्कीले आइतबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानले कसैप्रति विभेद नगरेकाले मोर्चाले गर्ने जुनसुकै आन्दोलनको विरोध मधेसी जनताबाटै सुरु हुने दाबी गरे।
अनेकन बखेडा झिकेर आन्दोलनका नाममा नेपाली जनताको जनजीवन अस्तव्यस्त पार्ने र देशमा असहज अवस्था सिर्जना गर्ने जोकोही समूहले गर्ने आन्दोलन र हडताललाई कडाईका साथ कारबाही गरिने जानकारी दिँदै उनले सीमा नाकापारीबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुडा गर्नेलाई देशद्रोहीको संज्ञा दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि गर्ने चीन भ्रमणका क्रममा नेपालका उत्तरतिरका सबै नाका खोलिने, एक तिहाई इन्धनको आपूर्ति र पारवहन सुविधाका बारेमा समेत सम्झौता हुने जानकारी गराउँदै उनले त्यस भ्रमणमा दुई देशबीचका अन्य आर्थिक एजेण्डामा समझदारी हुने विश्वास व्यक्त गरे। रासस
Source: Nagarik News