Best Online News From Nepal

मैले मूर्तिपूजा गर्दा , तिम्रो टाउको किन दुख्छ ?

 

11231859_914114995298657_665758072247835586_n प्रवीण अधिकारी______________

मैले मूर्तिपूजा गर्दा , तिम्रो टाउको किन दुख्छ ?
==============================

हामीले मानेको देउताको स्वरुपलाई जनाउन तिनोटा शब्द प्रयोग गर्ने गर्दछौ – प्रतिमा, विग्रह र मूर्ति | यहाँ प्रतिमा शब्दले देउताको छवि या समानता , मूर्ति शब्दले प्रतिबिम्बको साकार स्वरूपको अभिव्यक्ति , विग्रह शब्दले देवी देउताहरुको पवित्र छवि भन्ने जनाउ दिएको छ | हाम्रो मान्यतामा मूर्तिहरु देउताको स्थिर प्रतीकको एउटा अंग हो | कुनैपनि मंदिरमा जाँदा त्यसक्षेत्रमा रहेको सकारात्मक ऊर्जा साधकको शरीर र मस्तिष्कमा प्रवेश गरेर उसको मस्तिष्क स्वच्छ र सजीव तुल्याउने भएकोले हामीले मंदीरलाई सकारात्मक ऊर्जा प्राप्तिस्थलको रुपमा स्वीकारेका हौँ |

ऋषिमुनिको अवधारणा
————————

वेदले ईश्वर उपासनाको दुई स्वरुप वर्णन गरेको पाइन्छ – एक साकार ,अर्को निराकार | निराकारवादीले साकार उपासना या मूर्ति पूजाको विरोध गर्दछन | उनीहरुले ” न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः ” अधकल्चो श्लोक उल्लेख गर्दछन ( यजुर्वेद ३२ -३ ) ‘ | उनीहरु के कुरो बिचार्दैनन भने हाम्रा ऋषिमुनिहरुले ती दुवै उपासना पद्धतिको प्रयोग हाम्रो बौद्धिक स्तरको अनुकूलता बुझेर चलाएका हुन | जुन व्यक्तिको बौद्धिक स्तर जति उच्च हुन्छ उसले त्यस्तै उपासना पद्धति अङ्गाल्न सक्छ | उत्तम श्रेणीको भक्तकोलागि निराकार स्वरुप उपयुक्त हुन सक्ला तर मध्यम श्रेणीको बौद्धिक स्तर भएकाहरुलाई निराकार ईश्वरको उपासना गर भन्यौं भने ,त्यो बर्गले क्यै लाभ पाउन सक्तैन किनभने उसको अन्तःचेतनाले ईश्वरको वास्तविक निराकार तत्व बुझ्न सक्तैन | त्यहिकुरो निर्बल बौद्धिक स्तरको व्यक्तिलाई भन्यौं भने त्यस व्यक्तिको बुद्धिको स्तरले ईश्वरको अस्तित्वनै स्विकार्न सक्तैन | सामान्य बौद्धिक स्तर भएका मान्छेले अध्यात्मको सूक्ष्म तत्वमा ध्यान केन्द्रित गर्न नसक्ने हुनाले मानव मनोविज्ञान ज्ञाता ऋषि महर्षिहरुले मूर्ति पूजाको परम्परा चलाएका हुन् | यसको पछाडि त्यै मूर्तिको माध्यमले ती मान्छेहरुले ईश्वरको अनन्त साकार स्वरुप आफ्ना अगाडी देख्न सकोस र आफु भित्र निराकार ब्रह्मको मानसचित्र कोर्न सकोस | देउताको प्रतिमा अघि उभ्भिदा व्यक्तिले जुन दिब्य गुण सम्पन्न ईश्वरलाई कल्पना गरी पाउन चाहान्छ अथवा जुन गुण तिनले आफुमा विकसित गर्न चाहान्छन त्यो मूर्तिमा पाउँछ | उसले ध्यान गरेर आफ्नो अन्तःचेतनामा राखी त्यो मूर्तिमा एकाकार हुनपुग्छ | उसको ध्यान परिपक्व अवस्थामा पुगेपछि उसले देउताको चारित्रमा त्यहीकुरा मात्र देख्छ जसको माध्यमले त्यस व्यक्तिको आत्मिक स्तर विकसित हुन् गई प्रत्येक प्राणिमा आफ्ना आराध्यलाई भेट्न सक्तछ | मान्छेको उपासना स्तर स्थूलबाट सूक्ष्म भएपछि मात्र त्यो व्यक्ति निराकार तत्वको उपासनाकोलागि योग्य हुने गर्दछ , किनभने व्यक्तिको बौद्धिक स्तरमै उर्जाको विकास रहस्य आधारित रहेको हुन्छ |

मनोबैज्ञानिकहरुको धारणा
==================

पाश्चात्य मनोवैज्ञानिक वुडवर्नको भनाईमा मूर्तिको महत्व प्रतीकात्मक हो र यसको प्रभाव विषेशतः ती मान्छेको चेतनामा पर्दछ जसले मानसिक रुपमा ईश्वरको कल्पना र प्रयोग गर्न जानेका हुन्नन् अर्थात मानसिक स्तर पर्याप्त रूपमा विकसित नभएका व्यक्तिहरु यसबाट पूर्ण लाभान्वित हुन सक्तछन | मनोवैज्ञानिक नाइटले आफ्नो कृति “सिम्बलिकल ल्याँग्वेज अफ एनषियेण्ट आर्ट एण्ड म्याथोलोजी ” मा जनाएका छन् दैवीसत्य, मूर्तिमा लुकेको हुन्छ , कल्पित आख्यानहरुमा व्यक्त गरिएको हुन्छ | यसले निर्बल मानवीय गुणलाई समयानुकूल राख्न मद्दत गर्दछ | सामान्य मानसिक स्तर भएका व्यक्तिहरुकोलागि प्रार्थना व पूजागर्दा दृश्य चित्र या प्रतिमा नभई हुन्न |

मूर्तिपूजाप्रति मेरो अवधारणा
—————————–

म मानव हुँ , म ईश्वरको साकार स्वरुपकै पूजा गर्न चाहान्छु ,त्यसैप्रति मेरो आस्था छ | म मूर्ख छु , वेद यस लोकको प्रथम ग्रन्थ भएकोले मेरोलागि वोधगम्य हुन् सकेको छैन , वेदान्त ,ब्रह्म सूत्र ,उपनिषदले वताएको ब्रह्म म बुझ्न सक्दिन , यो संसारको ईश्वरीय लिलाको अर्थ बुझाउने , शृष्टिको प्रक्रिया वताउने पुराण ग्रन्थको व्याख्या मलाई सहज र वोधगम्य लाग्छ | त्यसैलाई अंगालेर म ईश्वरको स्वरुप बुझ्ने प्रयास गरिरहेको छु | एउटा प्रतिमाको अघिल्तिर उभिएर आफुलाई नतमस्तक बनाउन खोज्छु भने कसको करेसा बारी फांडिन पुग्दछ ? क कसको के के नोक्सान हुन्छ ? रामले त्रेतामै रामेश्वरम मन्दिर स्थापना गर्दा कसको के के नोक्सान भएको थियो ? रावणले शिवजीको साकार रुपको कल्पना गरेर ताण्डव स्तोत्र रचना गर्दा को को मुर्छित भएका थिए ? हाम्रा उपास्य देव र विधिहरु हल्का फुल्का तर्कले प्रष्टिन सक्दैनन | त्यसकालागि हजार योनिको जन्मपनि न्यून हुन्छ | नाथे एउटा जन्मले यो पृथ्वीभरीको सर्वश्रेष्ठता हाशिल गर्ने सोच कसैले नराखे हुन्छ | त्यो जावो राम पाल, आर्य समाज ,राधे राधे ,ओम शान्ति , के के जाति त फास्स न फुस्स |

आफ्नो निहित स्वार्थ पुरा गर्न देवी देउताहरुको खरिद विक्री अर्थात मनोअनुकुलको व्याख्या गर्न पन्थ उमारेर आफ्नो व्यवसाय चलाउने र आफुलाई ज्ञानी बनाउने होडबाजी चलाइएको छ | हाम्रा तमाम ग्रन्थहरुको स्वीकार्यता ,अस्विकार्यता , आफ्नो पन्थ अनुकुलको व्याख्या , नितान्त मनोविनोद हुन | वेद अत्यन्त गुढ विषयवस्तुको पोको हो , त्यसलाई मकै भुटे जस्तो पढेर बुझिन्न , पद र शब्द छुट्याएर व्याख्या र विवेचन गर्न आफुले सकिन्न | अर्काले गरेको भाष्य उसको मन र ज्ञानको स्तर अनुसारको व्याख्या हो | वेदान्त र ब्रह्म सूत्रको ज्ञान हामी जस्तो अल्प आयु र भुँडी भर्न भौतारिनु /जोतिनु पर्नेले बुझ्न सकेनौं | यस्तो अवस्थामा पुराण ग्रन्थ सरल ,सरष र म जस्ता मुढलेपनि बुझ्न सक्ने अवस्थामा रहेको कारण समस्त हिन्दू संसारमा हिंदू धर्म उच्चारण गरिंदा पौराणिक कृत्य सम्झिन पुगिएको हो | तरपनि पुराण वक्ताहरुले त्यहाँ वर्णन गरिएको वेद अंश ,उपनिषद् अंश ,धर्म सूत्र अंशहरु छुट्याउन सक्दैनन् | यस्तो अवस्थामा ,सनातन हिंदू समाजकोलागि मन्दिर बाहेक अर्को उपाय रहेको देखिन्न | मन्दिरले ईश्वरलाई बुझ्न सहज तुल्याएको छ |यो सहज माध्यममाथि पन्थीय हस्तक्षेप किन गरिन्छ ? तिमीहरु ज्ञानी होलाउ ,हुन सक्लाउ तसर्थ तिमी ईश्वर,ब्रह्म ,ज्ञान आदि बुझ्लाउ | त्यसैले ईश्वरकै समतूल्य वनि आफुलाई प्रस्तुत गर्दछौ , तर म मूर्ख छु , यो पृथ्वीलोकमा भौंतारिएको छु | तिम्रो ज्ञानको स्तर र मेरो स्तर फरक फरक छ | तसर्थ मेरो आस्था र विश्वाशमाथि अस्त्रचालाउने तिमीहरु पापी हौ ,हत्यारा हौ | समाजलाई भ्रमित गरी आफ्नो दुनो सोझ्याउने पातकी हौ | – प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *