Best Online News From Nepal

मेलम्ची काठमाडौँ आउन अझै एक वर्ष

मेलम्ची खानेपानी आयोजनाको काम पूरुा हुन अझै १ वर्षभन्दा बढी समय लाग्ने भएको छ । भूकम्प र नाकाबन्दीका कारण झन्डै १ वर्षसम्म रोकिएकोे सुरुङ खन्ने काम फागुनको अन्तिम साताबाट सुरु भएपछि हालसम्म २ किलोमिटर भन्दा बढी सकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हालसम्म समग्रमा १६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमध्ये अझै ११ किलोमिटर खन्न बाँकी छ ।

गत मार्च र अप्रिलमा प्रतिमहिना झन्डै १ किलोमिटरका दरले सुरुङ खनिएको छ । एक साता अघिसम्म दैनिक ४० मिटरसम्म सुरुङ निर्माण भइरहेकोमा अहिले भूर्गभको अवस्था खराब भेटिएपछि दैनिक २२ देखि २५ मिटर सम्ममात्रै निर्माण भइरहेको छ । जसअनुसार, मार्च र अप्रिलमा दैनिक ३० देखि ३३ मिटर सुरुङ खनिएको समितिले जनाएको छ । दैनिक ४० मिटर सुरुङ खनेपनि सम्पन्न गर्न अझै एक वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ।

मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी वैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य थियो । मेलम्ची आयोजनाको सन् २००२ देखि निर्माण कार्य सुरु भएको थियो । निर्धारित तालिकाभित्र काम पूरा नहुँदा यसअघि आयोजनाको तालिका तीनपटक संशोधन भइसकेको छ । सन् २००९ देखि आयोजनाको सुरुङ निर्माण कार्य सुरु गरेको चाइना रेल्वेले सन् २०१३ सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर उसले साढे तीन वर्षमा बल्लतल्ल ६ किमि मात्र सुरुङ खनेर सन् २०१२ मा एकतर्फी ठेक्का सम्झौता तोडेको थियो । यसपछि मेलम्चीको बाँकी २१ किलोमिटर लामो सुरुङ ३० महिनाभित्र सक्ने प्रतिबद्धतासहित ०७० साउनमा ७ अर्ब ७० करोड रुपैयाँमा सरकारसँग सुरुङ निर्माण इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतीय कम्पनी दि—राभेनाको संयुक्त उपक्रमले ठेक्का लिई काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *