Best Online News From Nepal

मासु खाने चन्द्रमा पुगी सके, लसुन/प्याज पनि सेवन नगर्ने त्यहीको त्यही….. सत्य के हो?

मासु खाने चन्द्रमा पुगी सके, लसुन/प्याज पनि सेवन नगर्ने त्यहीको त्यही….. सत्य के हो?
(जीवात्माको वास्तबिक पथ)
****************
-वल्लभ चैतन्य दास

मानौ तपाईको वर्तमान चेतना स्तरको मान शून्य छ, अब तपाई +१,+२,+३ गर्दै अनंतसम्म दायाँ तर्फ यात्रा गर्न सक्नुहुंछ वा -१,-२,-३…. गर्दै पनि अनंतसम्म बायाँ तर्फ पनि यात्रा गर्न सक्नुहुंछ।

यसैगरी मनुष्य शरीर विवेकशील जीवात्मा तपाई उन्नतिको पथमा वर्तमान अवस्थाको शून्यको स्थितिबाट अघि बढ़दा +१,+२,+३…. गरी अनन्तसम्म अघि बढ़न सक्नुहुंछ भने त्यस्तै -१,-२,-३…. गरी पनि अनन्तसम्म अघि बढ्न सक्नुहुंछ। यी दुई पथलाई हाम्रा ऋषिमुनिहरूले बहिर्मुखीमार्ग र अंतर्मुखीमार्ग भनेर नामाकरण गरेका छन।

क) वहिर्मुखीमार्ग: यसमा साधकले बाहिरको संसारको निरीक्षण गरी +१,+२,+३…. गरी अनंतसम्म अघि बढ़ने प्रयास गर्छ। साधक पानी निरीक्षण गर्छ त टोलाउँछ, पानीकै संरचनाको गुण अध्ययन गर्न थाल्छ अनि हैन फेरी ढुङ्गा देखेर अचम्म मांछ अनि फेरी स्याऊ टाउको माथि खसेको देखेर अचम्म मांछ, किन तल खस्यो, किन माथि गएन भनेर अध्ययन गर्न थाल्छ अनि गुरूत्वाकर्षण शक्तिको उपस्थिति देख्छ। ऊ आफु बाहिरको पृथ्वी तत्व देख्छ त्यही टोलाउछ, जल तत्व देख्छ अचम्म मांछ, अनि तेज तत्व अनि वायु तत्व देख्छ अचम्म मांछ अनि आकास हेरेर विष्मय गर्छ। चट्याङ्ग परेको देखेर दंग पर्छ अनि विधुतको उपस्थिति देख्छ, जमिनमुनि खनेर हेर्छ, धातु पाउछ अनि धातु र विधुतको संयोजन गरेर हेर्छ, बत्ती, टेलीभिजन आदिको आविष्कार गर्छ। माथि आकासमा उडेर हेर्न मन गर्छ अनि विभिन्न पूर्व पदार्थको गुण अध्ययनको ज्ञानले हवाईजहाज बनाउँछ अनि अझैमाथि उड्ने प्रयास गर्दै चंद्र छुने प्रयासमा ऊ अग्रसर हुंछ। यसरी अघि बढ़छ +१०००, +१००१, +१००२…. चलिरहन्छ, अनंतसम्म….

ख) अंतर्मुखी मार्ग: यसमा साधकले भित्रको संसारको निरीक्षण गरी -१,-२,-३…. गरी अनंतसम्म अघि बढ़ने प्रयास गर्छ। म को हूँ, जन्म अघि कहाँ थिए, मृत्युपछि कहाँ जांछु उसको प्रश्न हुंछ। यो अनंत ब्रम्हाण्डको नियामक को हो ऊ प्रश्न गर्छ। आफु भित्र ऊ प्रवेश गर्छ, पाउछ कामना, क्रोध, लोभ, मोह, मद, मात्सर्य, दया, प्रेम, इमानदारीता अनि दंग पर्छ, यसैको अध्ययन गर्न थाल्छ, ध्यान मुद्रामा अवस्थित हुन जांछ अनि आफनै अध्ययन गर्छ, अष्ट शिद्धी, योग शिद्धी प्राप्त गर्दछ, त्यसैमा विलाउछ, -१०००. -१००२…. अझ अघि बढ़छ, -५०००, -५००१ अनि अनन्तसम्म।

सनातन धर्म शास्त्रले पनि वहिर्मुखी र अंतर्मुखी मार्गको प्रगतिको सिढ़ी पनि प्रस्तुत छ। बहिर्मुखी र अंतर्मुखी मार्गबाट प्राप्त हुने लोक-परलोकको दृश्य नै चित्रण गरी देखाएको छ। अहिले तपाई हामी शून्यको कर्मयोगी लोक भुर्लोकमा छौ। बहिर्मुखी मार्गी अझ बढ़ी बहिर्मुखी भएको लोक अतालामा पुग्दछ, त्यो भंदा बढ़ी वितला अनि दैत्यराज बालीको लोक सुतला जहाँ यति बहिर्मुखी प्रगति भएको छ की हजारौ तले गगनचुंबी भवन अनि विशाल र शक्तिशाली अंतरिक्ष यान। त्यसैगरी तरातला, महातला, रसातल अनि पाताल। पातालमा यो ब्रम्हाण्डमा हुन सक्ने बहिर्मुखी प्रगतिको अन्त्य छ भने त्यो भंदा बढ़ी बहिर्मुखी प्रगति अन्य ब्रम्हाण्डमा होला। त्यसैगरी अंतर्मुखी प्रगतिको साधक यो भंदा माथिको भुवर्लोक पुग्दछ। त्यो भंदा बढ़ी अंतर्मुखी प्रगतिको साधक स्वर्गलोक पुग्दछ। अझ माथि महर्लोक अनि जनलोक अनि तपलोक अनि यो ब्रम्हाण्डको अन्तिम अंतर्मुखी प्रगतिको स्थान हो सत्यलोक जहाँ स्वयम् ब्रम्हाजी हुनुहुंछ।

तर भगवान श्रीकृष्ण भन्नुहुंछ:
“आब्रम्हभुवनाल्लोका: पुनरावर्तिनोsर्जुन।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विधते।।”
-भगवान श्रीकृष्ण भगवद गीता ८-१६
अर्थात
“ब्रम्हलोक पुगेकाहरूको पनि पुन: यस मृत्युलोकमा वापसी हुंछ। मलाई प्राप्त गरेपछि हे कुन्तीपुत्र, पुनर्जन्म हुदैन।”

यी दुवै बाटो वास्तबमा दुःखदायी परिश्रम हुने तर फल स्वरूप जहाँबाट शुरू गर्नुहुंछ त्यही फिर्ता ल्याउने बाटाहरू हुन। भगवान श्रीकृष्णका शिव स्वरूप शंकर्षणको स्वरूप सदा-शिवका ज्योतिर्लिंगको फेद र टुप्पोको आन्वेशण गर्ने पथमा स्वयम् यस ब्रम्हाण्डका टुप्पो तर्फ लक्षित सतो गुण विष्णु र फेदतर्फ लक्षित रजोगुण ब्रम्हाजी असफल हुनु भएको कथाको सार पनि यही हो। अंतर्मुखी रही वेद,वेदान्तका ऋचाहरूका गानमा लठ्ठ रही प्रगतिको अन्तिम विंदु भनेको ब्रम्हलोकसम्मको यात्रा हो भने बहिर्मुखी रही प्राप्त हुने अन्तिम भौतिक सुख भनेको पाताललोका सम्मको हो। बहिर्मुखको पथलाई भौतिकमार्ग भनिंछ भने अंतर्मुखीको पथलाई अध्यात्मको पथ भनिन्छ।

बहिर्मुखी पथ सूर नभएको आसुरी पथ हो। आसुरी वृत्तिका व्यक्तिहरू बहिर्मुखी हुंछन। बहिर्मुखी पथमा भौतिकता नै महत्वपूर्ण हुन जांछ। यहाँ दया होइन, जसरी हुंछ, हत्या गरी मांसाहार नै गरेर भएपनि भौतिक शक्ति हासिल गर्ने लक्ष्य हुंछ। इन्द्रिय सुख बहिर्मुखी पथको केंद्रविंदु हो। बहिर्मुखी मार्गमा सत्य, दया, क्रोध, प्रेम आदि अन्तरहृदयका तत्वहरू गौण तत्व हुन गएकोले वाह्यरूपमा चंद्रलोक मै पुगेको जस्तो भौतिक प्रगति देखिए पनि बहिर्मुखी जीवात्मा अन्तरहृदयमा दुखी हुंछ भने अंतर्मुखी पथमा कामना, क्रोध, लोभ, मोह, मद, मात्सर्य, दया, प्रेम, इमानदारीता नै महत्वपूर्ण तत्व हुन। आत्मसुख अंतर्मुखी पथको केंद्रविंदु हो। आफ्नो अंतरहृदयका क्रोध, ईर्ष्या आदि नियंत्रण गर्न जीवात्मा हिंसादेखि टाढ़ा रहन्छ, मांसाहार गर्दैन, शक्तिदायी गौमाताको सेवा गर्छ, मन नियंत्रणको लागि लसुन-प्याज पनि सेवन गर्दैन। भौतिकता उसको लागि एेश हैन आवश्यकतामा मात्र सिमित हुन जांछ। ऊ आवश्यकताको भौतिक सीमामै संतुष्ट हुंछ।

पूर्वीय दर्शनले अंतर्मुखी पथको निर्देशन दिन्छ भने पश्चिमी दर्शन बहिर्मुखी छ। भौतिकताको नाममा एउटा सानो छाप्रोमा गौमाता पालेर बसेको सत्य धर्मी अंतर्मुखी पथको अंतरहृदयका गुणहरूको विकासको लागि लसुन/प्याज़ पनि सेवन नगर्ने एक ब्रम्हण बहिर्मुखी पथको ५० तल्ले घरमा निवास गर्ने, चन्द्रमा नियाली त्याहा पुग्ने सोच लिएको व्यक्तिभंदा सुखी हुंछ तर अंतर्मुखी आत्मिय सुख पनि ब्रम्हलोकसम्म सिमित छ भने बहिर्मुखी इन्द्रियसुख पनि दैत्यराज बलिमहाराजको सुतल लोक हुदै पाताललोकसम्म मात्र सिमित छ।

यहाँ अचम्मको कुरो के छ भने यी दुबै अंतर्मुखी र बहिर्मुखी पथहरू सुख प्राप्तिकै पथ हुन। बहिर्मुखी पथ इन्द्रियसुखको पराकाष्ठा खोज्छ भने अंतर्मुखी पथ आत्मिय सुखको पराकाष्ठा खोज्छ तर दुवै पथको अन्तिम लक्ष स्व-सुख नै हो। तत्वमा अंतर रहेन।

अब के गर्ने त?
यी दुई बाहेक एक अन्य पथ पनि छ। त्यो हो प्रेमको पथ अर्थात सुख खोज्नु हैन सुख दिनु। प्रेमको परिभाषा नै यो हो की प्रेमी आफ्नो हैन जसलाई ऊ प्रेम गर्छ उसको सुखको कामना गर्छ। यो पथ हो त्रिगुण(सतो, रजो, तमो))देखि माथिको गुणातितको शून्यको पथ अर्थात अर्थात बहिर्मुखी रजोगुणी हुदै सुखको खोजीमा +१,+२,+३ गर्दै अनंतसम्म दायाँ तर्फ यात्रा गर्ने प्रयत्न पनि नगर्नु र अंतर्मुखी सतोगुणी हुदै -१,-२,-३… गर्दै अनंतसम्म बायाँतर्फ यात्रा गर्ने प्रयास पनि नगर्नु अर्थात गुणहरूको दोहन गर्ने प्रक्रियामा नलागि शून्यमा त्रिगुणातित(त्रिगुणदेखि माथि)को अवस्थामा अवस्थित रहनु अनि त्वम शरणम को मनःस्थितिमा सर्वद्रष्टा, सर्वनियंता, सर्वसाक्षी, सर्वशक्तिमान, सर्वव्यापी, अनंतकोटी ब्रम्हाण्ड नायक अनि यो सबै चक्रव्यूहका रचयिता परमदेव, ईश्वर अनि हाम्रा माता भनु कि पिता भनु कि सबै भगवान श्रीकृष्णको शरणमा आफ्नो सुखको लागि हैन भगवानकै मात्र सुखको कामना गर्दै “हे मेरो प्रिय कृष्ण!! तिमी व्यस्त भएकोले तिमीलाई दुःख होला, मेरो सपनामा पनि न आउ।” भन्ने भावना सहित श्रीकृष्णलाई प्रेम गर्नु, सच्चा प्रेम।

त्यसैले होला भगवान श्रीकृष्ण पनि भन्नुहुंछ:
“सर्वधर्मान परित्यज्य मामेकं शरणं ब्रज
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा सुच:।”
-भगवान श्रीकृष्ण गीता १८-६६
अर्थात
“सबै धर्म त्यागेर मेरो शरणमा आऊ। म तिमीलाई समस्त पाप कर्महरूबाट उद्धार गर्छु, नडराऊ।”

यो नै मैले देखेको वास्तबिक पथ हो। अन्तिम सत्य हो।

हरि शरणम
हरे कृष्ण …