Best Online News From Nepal

मार्क्स र महागुरु Dr. Nirmala Mani Adhikary

कार्ल मार्क्सका कतिपय कुरा बडो घतलाग्दा छन् । उनको सर्वहारावर्गको अधिनायकत्व, समाजवाद, साम्यवादको कुरा होइन, अरु नै । उनको कम्युनिस्ट सिद्धान्त हैन, त्यो बेकामे छ; तर उनको “कमोडिटी फेटिसिज्म” को व्याख्या बडो घतलाग्दो छ । मेरो जीवनमै घटित प्रसंग पनि छन् जसले “कमोडिटी फेटिसिज्म” को मार्क्सीय अवधारणालाई सत्य साबित गर्छन् । अहिले एउटा प्रसंग लिन्छु बाली (इण्डोनेशिया) को ।


बालीमा पूर्वनिर्धारित सबै कार्यक्रम सकेर घर फर्किने दिन बिहानै हामी (म, एकजना थाइ भिक्षु र चीन, भारत, जापान र अस्ट्रेलियाका प्राध्यापक मित्रहरु लगायत) बसेको स्थानमा आयोजक संस्थाहरु “हिन्दू धर्म विश्वविद्यालय” र “बाली पण्डित समाज” का कर्मचारीहरु केही कागजपत्रहरु तथा हाम्रा नाम लेखेका खामहरु सहित आइपुगे । भ्रमण भत्ता, दैनिक भत्ता आदि दिनका लागि आएका रहेछन् । उनीहरुले जहाँ जहाँ देखाए, हस्ताक्षर (सही) गरिदिएँ र उनीहरुले बडो विनयसहित दिएका खामहरु (दुई संस्थाका तर्फबाट एक—एकवटा) लिएँ । थाइ भिक्षु एवं चीन, भारत र जापानका प्राध्यापक मित्रहरुले पनि उसै गरे । तर अस्ट्रेलियाका प्राध्यापकले हस्ताक्षर गर्नुभन्दा पहिले कागजपत्रहरु खुब ओल्टाइपल्टाइ गरे र एकछिनपछि मुख बिगारे । उनको मुखाकृतिले उनलाई केही चित्त नबुझेको इंगित गर्दै थियो । आयोजक संस्थाका कर्मचारीले पनि त्यो मेसो पाए र सविनय सोधखोज गरे ।
भएको के रहेछ भने “बाली पण्डित समाज” ले दिएको दैनिक भ्रमण भत्तामा चीन, भारत, जापान र अस्ट्रेलियाका प्राध्यापक मित्रहरुको दैनिक १० अमेरिकी डलरको दरले हिसाब गरिएको रहेछ, भिक्षुजीको दैनिक भ्रमण भत्ता दैनिक १०० अमेरिकी डलरको दरले रहेछ र मेरोचाहिँ दैनिक भ्रमण भत्ता दैनिक २०० अमेरिकी डलरको दरले रहेछ । एउटै कार्यक्रममा आएका अतिथिहरुको दैनिक भ्रमण भत्ता कसरी फरक फरक दरको भयो भनेर उनलाई चित्त नबुझेको रहेछ ।
ती कर्मचारीहरुले दिएको जवाफ बडो रोचक रह्यो :— उक्त प्राध्यापकहरुलाई विज्ञ को हैसियतमा बोलाइएको हुनाले दैनिक १० अमेरिकी डलरको दर र भिक्षुजीलाई “गुरु” को रुपमा औपचारिक मान्यता भएको हुनाले विज्ञको तुलनामा १० गुणा बढी, अर्थात् दैनिक १०० अमेरिकी डलरको दरले दैनिक भत्ता दिइएको रहेछ । मलाईचाहिँ इण्डोनेशियामा “महागुरु” पदवीले सम्मान गरिसकिएको हुनाले उक्त आयोजक संस्थाको नियमानुसार दैनिक २०० अमेरिकी डलरको दरले दैनिक भत्ताको हिसाब भएको रहेछ ।
सो जवाफ सुनेपछि अरुलाई के महसुस भयो कुन्नि, मलाईचाहिँ कार्ल मार्क्सको कमोडिटी फेटिसिज्म अवधारणा ठ्याक्क याद आयो । विज्ञ, गुरु र महागुरुको मापन गर्न दैनिक भत्ताको दर नै फरक फरक राखिनु सोही अवधारणाको व्यावहारिक कार्यान्वयन त भयो नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *