Best Online News From Nepal

माओवादीको झण्डामा कांग्रेसका चार तारा !

Aniruddh Gautam—-1239386_768781069808502_1601968624_n

कांग्रेसीहरुले भरतपुर महानगर निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मत दिएर विजयी बनाए । यी तिनै रेणु हुन्, जसका प्रतिनिधिले जेठ १४ गते मतगणना भइरहँदा ९० वटा मतपत्र च्यातेका थिए । मतपत्र च्यात्नेलाई दण्ड दिनु सट्टा कांग्रेसको प्रत्यक्ष सहयोगमा विजयी बनाइयो अर्थात् यसरी प्रकारान्तरमा मतपत्र च्यात्नुलाई जायज ठहराइयो । दुर्भाग्यवश, लोकतन्त्रमा अपराध मानिने कृत्यलाई जनमतद्वारा अनुमोदन गरियो, गराइयो । यसमा के हेरिएन भने लोकतन्त्रमा मतपत्रको महत्व सर्वोच्च हुन्छ, जनमतलाई पूजनीय मानिन्छ र मान्नुपर्छ अन्यथा चुनावका नाममा गुण्डागर्दी चल्छ र अन्ततः शासन अपराधीका हातमा जान्छ ।

निश्चय नै माओवादीको लोकतन्त्रमा निष्ठा छैन, उसले आफू हार्ने लक्षण देखेर मतपत्र च्यातेको थियो । तर प्रश्न छ, कांग्रेस जो आफूलाई लोकतन्त्रको मियो मान्छ, उसको निष्ठाचाहिँ कहाँ गयो ?

निष्ठाको प्रश्न पनि असान्दर्भिक भएको छ किनभने निर्वाचन परिणामपछि भरतपुरको विजय जुलुसमा प्रदर्शित माओवादीको झण्डामा कुनै बेला कांगे्रसका शान मानिएका चारवटा तारा राखिएका थिए ।

 

20689925_108656143170836_183217386713548995_o

तस्विर साभार अन्नपूर्ण पोस्ट 

 

भनिन्छ, विश्वेश्वरप्रसाद कोइराला अरुहरुले देखेभन्दा परसम्म देख्न सक्थे अर्थात् उनी सामान्य राजनीतिज्ञमात्र नभएर दूरदर्शी नेता थिए । कम्युनिस्टहरुसँग राजनीतिक तालमेल गर्नु हुँदैन भन्ने विषयमा उनी प्रस्ट थिए । त्यसैले उनले पुष्पलाल प्रधानले उनीसमक्ष राखेको संयुक्त राजनीतिक क्रान्ति गर्ने प्रस्ताव अस्वीकार गरेका थिए । उनी कम्युनिस्टहरुको लोकतान्त्रिक निष्ठाप्रति आश्वस्त थिएनन् त्यसैले कम्युनिस्टहरुसँग राजनीतिक सहकार्य गर्न सर्वथा इन्कार गरेका थिए । तर आर्थिक कार्यक्रमका मामिलामा भने उनी कम्युनिस्टहरुसँग सहकार्य गर्न राजी थिए ।

 

कम्युनिस्टलाई लिएर राजनीति र अर्थनीतिका विषयमा बीपीका धारणा किन फरक ? यो प्रश्न बारम्बार उठ्ने गर्छ तर कसैले पनि यसको चित्त बुझ्दो उत्तर दिएको छैन । उनी स्वयंले पनि यस विषयमा सविस्तार व्याख्या गरेको पाइँदैन । भरतपुर घटनाले भने उहिल्यै बीपीले किन राजनीतिक उद्देश्यका लागि कम्युनिस्टसँग तालमेल नगर्नु भनेका रहेछन् भन्ने रहस्यको उद्घाटन हुन गएको छ ।

 

बीपीले पुष्पलालको प्रस्ताव मानेका भए सम्भवतः नेपालमा राजनीतिक परिवर्तनका लागि ०४६ सालसम्म कुर्नुपर्ने थिएन । तर यहाँ भन्नैपर्छ, उनले त्यतिखेरै अर्कै परिदृश्य उपस्थित हुने अनुमान गरेका रहेछन् त्यसैले पुष्पलालको प्रस्ताव अस्वीकार गरेका हुनुपर्छ भन्ने देखिन्छ । त्यो अर्को परिदृश्य कस्तो ? उनलाई थाहा थियो आफ्ना धेरैजसो अनुयायी र समर्थकहरुको कमजोर सैद्धान्तिक निष्ठा, तिनमा विद्यमान महत्वाकांक्षा र त्यसैका फलस्वरुप विचलनको सम्भावना ।

 

निश्चय नै त्यतिखेर निष्ठाका मामिलामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसहित अरु पनि प्रतिबद्ध व्यक्तिहरु नभएका होइनन् तर ती औंलामा गन्न सकिने संख्यामा थिए । त्यसैले कम्युनिस्टसँग सहकार्य गर्दा कांग्रेस नै उतै लहसिँदै समाप्त हुने खतरा देखेर उनले पुष्पलालद्वारा प्रस्तुत संयुक्त राजनीतिक क्रान्तिको प्रस्ताव अस्वीकार गरेका हुन् भन्न सकिन्छ ।

 

पछिल्ला घटनाक्रम देख्दा सोध्नैपर्ने भएको छ । आज कहाँ छ कांग्रेस र यसको भविष्य के ? साँच्चै भन्ने हो भने कांग्रेस सिद्धान्त निष्ठाका हिसाबले जीवित नै छ कि छैन ? पछिल्लो समयमा विशेष गरी कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन सरकार बनेपछि यी प्रश्नहरु अरु प्रखर रुपमा उठ्न थालेका छन् । त्यसमाथि स्थानीय तहको निर्वाचनमा दुई दलबीच गठबन्धन नै भएका कारण यो प्रसंग आफैंमा खेद्जनक भए पनि विशद् विमर्शको विषय बन्न गएको छ । के यो कांग्रेस बीपीको कांग्रेस हो त ? हो भने कम्युनिस्ट, त्यसमाथि माओवादीसँग यसको चुनावी गठबन्धन हुनबाट किन कसैले रोकेन ?

 

वास्तवमा यी प्रश्नमै उत्तर पनि छ । कांग्रेसलाई नजिकबाट चिन्नेहरु त्यसैले भन्न थालेका छन्, यो कांग्रेसको नाममा राखिएका अक्षर उही छन् तर यो बीपीको कांग्रेस नै होइन, बीपीको त मरिसक्यो र त्यसैको खोल ओढेर यो कथित कांग्रेस उभिएको छ । योसँग उसका रुखको नक्सा छ अनि चारतारे माओवादीको झण्डामा गाभिइसकेको छ ।

 

निश्चय नै विगतमा माओवादीको सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण गराउन अनेक रणनीतिक विधि अवलम्बन गर्नु आवश्यक थियो । उसलाई हतियार छोड्न प्रेरित गर्नु र प्रलोभन दिनु पनि समग्र राष्ट्रहितमा नाजायज थिएन । कथित जनगणतन्त्रको स्वैरकल्पनाबाट उसलाई उन्मुक्ति दिएर वास्तविक अर्थात् लोकतान्त्रिक गणतन्त्रका लागि सहमत गराउन उसका कतिपय अर्घेल्याइँ सहनु अनुचित थिएन । तर शान्ति प्रक्रिया एउटा निश्चित टुंगोमा पुगिसकेपछि न उसलाई काँध थाप्नु आवश्यक थियो, न उसको बुइ चढ्नु ।

 

तर, शान्ति प्रक्रियाकै बखत के भेउ पाइएन भने कांग्रेसका अधिकांश नेता बीपीको पाठशालामा गए पनि त्यहीं चिट चोर्न थालिसकेका थिए । उनीहरुको प्रमुख आकर्षण सिद्धान्त निष्ठातर्फ नभएर निष्ठावानहरुलाई पाखा पार्दै सत्ता र यसका माध्यमबाट आफू र आफन्तका लागि सम्पत्तिको स्रोत फेला पार्नु थियो । उनीहरुको ध्येय त्यो थिएन जे जस्तो उनीहरुबाट आशा भरोसा गरिएको थियो । उनीहरु जेजस्ता आज भएका छन्, ध्येय वास्तवमा त्यही थियो । अन्यथा, मतगणना स्थलमा मतपत्र च्यात्नेलाई चुनाव जिताउन आफ्नो सम्पूर्ण बल लगाउनु सट्टा उनीहरु त्यो प्रवृत्तिका विरुद्ध उभिन्थे ।

 

उभिने मनोबल नभए कम्तीमा लज्जावश मौन बस्थे । तर, लज्जा त कता कता, आज हेर्नुहोस् त उल्टै आफ्नै झण्डाका चार तारा मतपत्र च्यात्ने माओवादीको झण्डामा गाभेर तिनैको विजययात्रामा निर्लज्जझैं रमाउँदै उच्च स्वरमा नारा लगाउँदै छन् ।

स्रोत- http://www.sadrishya.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *