Best Online News From Nepal

महर्षि लगध र वेदाङ्ग ज्योतिष

प्रवीण अधिकारी

17796253_619118494961323_817313505705989543_n

=-लोकानामन्तकृत्कालः कालोन्यः कल्नात्मकः | स द्विधा स्थूल सुक्ष्मत्वान्मूर्त श्चामूर्त उच्यते || हाम्रो मान्यतामा एक किसिमको कालले यो संसारको नाश गर्दछ र अर्को किसिम कलानात्मक छ जसलाई थाहा पाउन सकिन्छ | दोश्रो पनि दुई किसिमको हुन्छ (१) स्थूल र (२) सूक्ष्म | स्थूल समय नाप्न सकिन्छ त्यसकारण त्यसलाई मूर्त भनिन्छ र जसलाई नाप्न सकिन्न त्यसलाई अमूर्त काल भनिन्छ |
महर्षि लगध वेदाङ्ग ज्योतिषका त्यस्ता प्रणेता हुन् जसले ऋग्वेद र यजुर्वेदको ऋचाहरुमा छरिएर रहेको ज्ञानलाई ‘वेदांग ज्योतिष ‘ ग्रन्थ लेखेर जनमानसका सामु ल्याउने काम गरेका थिए | उचित समय गणना गरेर गरिएको यज्ञादि कामले शुभ फल दिने र अनुचित समयमा गरिएको कमले अशुभ फल दिने र असफल पनि हुने भन्ने धारणा राख्ने महर्षि लगधले शुभाशुभ समयको ज्ञान ज्योतिष शास्त्रले मात्र दिन सक्दछ भन्ने अभिप्रायले वेदाङ्ग ज्योतिष ग्रन्थको रचना गरेका थिए | उनले वेदांग ज्योतिषमा तत्कालिन खगोल विद्याको व्यापक वर्णन मात्र गरेनन बरु सम्पूर्ण अङ्ग सवल भएको व्यक्तिले आँखो नहुदा क्यै गर्न नसके झैँ वेदका षडङ्गहरुमा ज्योतिष शास्त्र विना क्यै गर्न नसकिने निर्क्यौल समेत निकालेका थिए | महर्षि लगधले नवोन्मेष तिथि (महीनाको १/३०) को मानक समय तत्कालिन याज्ञिक कार्यमा प्रयोग गर्न सिकाई त्यसलाई गणितीय खगोलशास्त्रमाथि प्रयोगगरि देखाएका थिए | उनले समयलाई वर्ष, महीना ,दिनको रुपमा विभाजन गरि त्यसलाई तत्कालिन समाजमा परिचित गराउंदै ‘वेदको अर्थ सम्झिन वेदांगलाई सहायक ग्रन्थको रुपमा उभ्याए | यहाँ वेदांग भनेको जे द्वारा वेद वस्तुको ज्ञान गतिलो गरी पाउन सकिन्छ भन्ने हो | उनले वेदाङ्गलाई ६ भाग लाएर शिक्षा , कल्प , व्याकरण , निरूक्त , छन्द , ज्योतिष मध्ये ज्योतिष शास्त्र श्रेष्ठ हो भन्ने कुरा मात्र अर्थ्याएनन बरु जुन वैदिक ऋचाहरुबाट २७ नक्षत्रहरुको ज्ञान पाएका थिए त्यसको ज्योतिषीय महत्वलाई दर्शाउँदै मयूरको शिखा र सर्पको मणि तिनको टाउकामा शोभायमान भएझै षडङ्गहरुमा ज्योतिष शास्त्र मूर्धन्य मानिनु पर्दछ भनेर अर्थ्याएका थिए | ” यथा शिखा मयूराणां नागानां मणयो यथा । त;द्वेदाङ्गशास्त्राणां ज्योतिषं मूध्नि वर्तते ॥ ” लगध ऋषिको यो वचनले वेदाङ्गमा सबै भन्दा उत्तम ज्योतिष शास्त्र हो भन्ने कुरा प्रमाणित गर्न पुगेको थियो | यहाँ ज्योतिः अर्थात् जहाँ ग्रह नक्षत्रादिको उत्तम सामयिक प्रयोग गरिन्छ त्यो ज्योतिष हो अथवा जे बाट ग्रह नक्षत्रादि विज्ञान तथा संसारको शुभाशुभ थाहा पाउन सकिन्छ त्यो ज्योतिष हो भन्नेकुरा अर्थिन्छ |

वेदांग ज्योतिष के हो ?
=============
महर्षि लगधको वेदांग ज्योतिषले ज्योतिष शास्त्रको मौलिक नियम अर्थ्याएको छ तर यो ग्रन्थ कहिले , कुन कालखण्डमा लेखियो त्यो भन्न सकिन्न | यो ज्योतिषको आजसम्म उपलब्ध भएको सबै भन्दा पुरानो ग्रन्थपनि हो | वेदान्त ज्योतिषलाई वेदको अंग मानि लेखिएको हुँदा यसमा रहेका श्लोकहरु वेदमन्त्र सरह प्रभावकारी रहेका मानिन्छन | यो ग्रन्थ उहिले शताब्दियौंसम्म चलेर विस्मृत हुन पुगेपछि प्राचिन ऋषिहरुको सतप्रयाशले यसको पुनरुद्धार हुन पुगेको थियो | यसमा महर्षि लगधले साधारण जनजीवनकोलागि चाहिने गरि यो ग्रन्थ तयार पारेको हुँदा यसमा तार्किक आधार प्रसस्त समावेस गरिएका छन | यो ग्रन्थले ऋग्वेद संग सम्बन्धित भागलाई ऋग्ज्योतिष तथा यजुर्वेद संग संबंधित भागलाई यजुषज्योतिष भनेर छुट्याएको छ | यही दुई भागको संयुक्त प्रयोगलाई वेदांग ज्योतिष भनिएको हो | वेद जस्तै यो रचनापनि पुस्तौं पुस्ता सम्म मौखिक परंपराबाटै जोगाउँदै ल्याइएको कारण हामीले ऋषि लगधको ज्योतिष सम्बन्धी ज्ञान प्राप्त गर्न सकेका हौँ | यो वेदांग ज्योतिष सम्वन्धी मूल ग्रन्थ तथा एकमात्र प्राचीन , व्यवस्थित र क्रमबद्ध ग्रन्थ भएका कारण यसको प्रयोग महाभारत ,कोटिल्यको अर्थशास्त्र , गर्ग संहिता , विद्वान पंचसिद्धांतिका , जैन ग्रंथ ज्योतिष सूर्य प्रज्ञप्ति , चंद्र प्र्ग्यप्तिले गरेको देखिन्छ | वेदाङ्ग ज्योतिष ग्रन्थमा तिथिको प्रकारहरु निम्नानुसार बताइएको छ :- १.उदय व्यापिनी तिथि :-: यस सिद्धान्तमा सूर्योदय हुँदा रहेको तिथि उदय व्यापिनी तिथि भनिन्छ – २. क्षीण तिथि : – अघिल्लो र पछिलो सूर्योदय काल लाई नछुने तिथि क्षीण तिथि भनिन्छ वा सूर्योदय पछि शुरु भएर अघिल्लो सूर्योदयकाल नछुने तिथि क्षीण तिथि हो | ३.वृद्धा तिथि : – दुवै दिनको सूर्योदयकाललाई छुन पुगेको तिही वृद्धा तिथि हो | ૪.सखण्डा तिथि :- एउटा सूर्योदय मात्र छुने तिथि सखण्डा तिथि हो | ५.शुद्धा तिथि : – सूर्योदयदेखि सूर्यास्त कालसम्म रहने शुद्धा तिथि हो |

वेदाङ्ग ज्योतिषको महत्त्वः-
================
छ वेदांग मध्ये ज्योतिष विधा वेदांगमा सबै भन्दा महत्त्वपूर्ण मानिनुको अर्थ यसलाई वेदपुरुषको चक्षु भनिएर हो | ” ज्योतिषामयनं चक्षुः | ” (पाणिनीय शिक्षा) | वेदको शिक्षा र उपयोगिता यज्ञ सम्पादन गर्नुमै रहेको कारण यज्ञले विशिष्ट समय खोजेको हुन्छ | यज्ञहरु केहि संवत्सरहरु हेरेर गरिएका हुन्छन भने केहि ऋतु हेरेर गरिन्छन ,केहि यज्ञ मानवको अभिप्राय अनुसार गरिएका हुन्छन | जस्तो “वसन्ते ब्राह्मणो अग्निमादधीत ग्रीष्मे राजन्य आदधीत । शरदि वैश्य आदधीत ।” (तैत्तिरीय-ब्राह्मण -१ .१ ) अर्थात ब्राह्मणहरुले वसन्त ऋतुमा यज्ञ गरुन | क्षत्रियहरुले ग्रीष्म ऋतुमा यज्ञ गराउन र वैश्य हरुले शरद् ऋतुमा यज्ञ वा अग्निको आराधना गरुन | यस बाहेक केहि त्यस्ता यज्ञहरुपनि रहेका छन जसलाई कुनै विशेष महिना , पक्ष या विशेष तिथिमा गरिने हुन्छ | उदाहरणकोलागि – “फाल्गुनी पूर्णमासे दीक्षेरन् ।” (ताण्ड्य-ब्राह्मणः—१ .१ ) अर्थ -फाल्गुन महिनाको पूर्णिमातिथिमा दीक्षा दिने गर | यसरीनै पञ्च महायज्ञ गर्दा विहान वेलुकी दूध र घ्यूले आहुति देउ | ” प्रातर्जुहोति सायं जुहोति ।” (तै.ब्रा.—२ .१ .२ ) ज्योतिष् विधाको महत्त्व अब के र कस्तो यज्ञ गर्ने भन्ने कुरा संग र कस्तो यज्ञ कुन संवत्सर , कुन ऋतु , कुन महिना , कुन तिथि र समयमा गर्ने भन्ने कुरासंग सम्वन्धित छ |

समयको अवस्था जान्न ज्योतिष विज्ञान चाहिएको हो | यो बिना यज्ञ सही किसिमले गर्न सकिन्न त्यसैले भनिन्छ जसले ज्योतिष् जान्दछ त्यसले यज्ञ पनि जान्दछ | यसको अर्थ ज्योतिष् नजान्नेले यज्ञ बुझ्न सक्दैनपनि भनेको हो | ” यो ज्योतिषं वेद स वेद यज्ञम् ‘ । वेदांग ज्योतिष् गणनामा आधारित रहेको हुन्छ | उचित समय थाहा पाउन ग्रह-नक्षत्र आदिको भौतिक अवस्था थाहा पाउन जरुरी छ जुनकुरो गणितबाट मात्र थाहा पाउन सकिन्छ | यसैले ज्योतिष् र गणित पर्यायवाची मानिएका हुन | वेदांग ज्योतिषको प्रतिनिधि ग्रन्थ दुई किसिमका छन | एउटा ऋग्वेद संग सम्बन्धित ज्योतिष् ग्रन्थ जसलाई आर्च ज्योतिष् र अर्को यजुर्वेद संग सम्बन्धित याजुष ज्योतिष् |आर्च ज्योतिषमा ४३ श्लोक र याजुष ज्योतिषमा ३६ श्लोकहरु रहेका छन | यसका केहि श्लोकहरु दुवै ग्रन्थहरुमा भेटिञ्छन |भाषा जटिल र एकदम क्लिष्ट रहेको छ | यी ग्रन्थहरुको भाष्य सोमाकर ,पाश्चात्य विद्वान विलियम जोंंस, प्रो, बेवर, प्रो. व्हिटनी, प्रो. कोलब्रुक, डॉ. थीबो,आदिले पनि अर्थ लाएका छन भने पं. शंकर बालकृष्ण दीक्षित, लोकमान्य बालगंगाधर तिलक, पं. सुधाकर द्विवेदी, श्री शाम शास्त्री, डा . सत्यप्रकाश सरस्वती, प्रो. टी. एस. कुप्पन्न शास्त्री आदिले लेखेको देखिन्छ | यी ग्रन्थहरुको विषयहरुमा (१ .) काल विभाजन, (२ .) नक्षत्र र नक्षत्र देउता, (३ .) युग वर्ष, (४ .) तिथि निर्धारण, (५ .) पर्व निर्धारण, (६ .) नक्षत्रहरुको काल विभाजन, (७ .) तिथि नक्षत्र, (८ .) नक्षत्र र पर्वको काल निर्धारण, (९ .) अधिक मास आदि परेका छन |यस ग्रन्थमा एक युगका ५ सौर वर्षहरुको नाउँ – युगस्य पञ्चवर्षस्य कालज्ञानं प्रचक्षते ।(याजुष ज्योतिष्–५ , आर्च—३२ ) | यस प्रकार उल्लेख गरिएको छ – (१ .) संवत्सर, (२ .) परिवत्सर, (३ .) इदावत्सर, (४ .) इद्वत्सर (५ .) वत्सर (यजुर्वेदः–२७ .४५ ) | यै नाउँ शतपथ ब्राह्मण (८ .१ .४ .१ ) मा पनि उल्लेख गरिएको छ | तैत्तिरीय-ब्राह्मण (३ .१० .४ .१ ) र तैत्तिरीय-आरण्यक (४ .१९ .१ ) मा एउटा नाउँ अलिकति फरक परेपनि चौथो वर्षको नाउँ अनुवत्सर र पाँचौं नाउँ इद्वत्सर राखिएको छ | यहाँ पाँच वर्षको युग मान्नुको अर्थ ठीक ५ वर्ष पछि सूर्य र चन्द्रमा आफ्नो राशीचक्रको त्यै नक्षत्रको एउटै रिडमा बस्न आई पुग्दछन भन्ने हो | वेदाङ्ग ज्योतिष ग्रन्थमा २७ नक्षत्रहरुको नाउँ यस प्रकार उल्लेख गरिएको छ जसमा प्रत्येक नक्षत्रको आदि, मध्य या अन्तको एक अक्षर लिएर महर्षि लगधले अनुष्टुप् (३२ अक्षरको ) छन्दमा श्लोक तयार पारेका छन जुन श्लोकले उनको पाण्डित्यपनि देखाएको छ | एउटा सानो श्लोकमा २७ नक्षत्रको नाउँ राख्नु र शेष ५ अक्षरले आफ्नो बाँकी कुरो भन्न सक्नु चानचुने कुरो हुन सक्दैन –

जौ द्रा गः खे श्वेsही रो षा चिन् मू ष ण्यः सू मा धा णः ।
रे मृ घाः स्वा ssपो sजः कृ ष्योः ह ज्ये ष्ठा इत्यृक्षा लिंगैः ।। (याजुष १८ , आर्च १४ )

यसको अर्थ यस प्रकार रहेको छ – जौ–अश्वयुजौ (अश्विनी) द्रा—आर्द्रा, गः—भगः (उत्तरा फाल्गुनी ) , खे—विशाखे (विशाखा), श्वे–विश्वेदेवाः (उत्तरा आषाढा), अहिः—अहिर्बुध्न्य (उत्तरा भाद्रपदा) , रो–रोहिणी, षा—आश्लेषा, चित्–चित्रा, मू—मूल, ष–शतभिषक्, ण्यः—भरण्यः (भरणी), सू–पुनर्वसू (पुनर्वसु), मा—अर्यमा (पूर्वा फाल्गुनी), धा—अनुराधा, णः–श्रवणः (श्रवणा), रे—रेवती, मृ—मृगशिरस् (मृगशिरा) घाः—मघाः (मघा), स्वा–स्वाति, आपः–आपः (पूर्वा अषाढा) अजः—अज एकपाद् (पूर्वा भाद्रपदा ) , कृ—कृत्तिकाः (कृत्तिका) ष्यः–पु्ष्य, ह–हस्त, ज्ये—ज्येष्ठा, ष्ठाः—श्रविष्ठा |

वेदाङ्ग ज्योतिषको आदि श्रोत वेद
======================
ज्योतिषको आदि श्रोत वेद ऋचाहरु हो | ऋग्वेदको पहिलो मण्डलको १६४ औं सूक्तको ११ औं ऋचा अस्यवामीय सूक्त हो | यस सूक्तका मन्त्र द्रष्टा दीर्धतामा ऋषि मानिन्छन | यसलाइनै ज्योतिष शास्त्रको मूख्य श्रोत मानिन्छ | सूर्यलाई घुम्ने पिण्डको १२ खण्ड पारेर निरन्तर घुम्दा कहिल्यै नथाक्ने ,पुरानो नहुने ,नमर्ने तर निरन्तर घुमी रहने भनेर अर्थ्याइएको यो श्लोकले सूर्यका ७२०ओटा छोराहरु भएको र ती छोराहरु ३६० रात ३६० दिनमा विभाजित भएको जनाएको छ | यसरी नै अथर्ववेदको दुई सूक्तमा गर्ग ऋषिले २७ ओटा नक्षत्रहरुको चर्चा गरिदिएका छन | हेरौं :-

द्वादशारं नहि तज्जराय वर्वर्ति चक्रं परि दयां रतस्य |
आ पुत्रा अग्ने मिथुनासो अत्र सप्त शतानि विंशतिश्च तस्थुः || -ऋ. १/१६४/११

अथर्ववेदको १९ काण्डको .७ सूक्त
======================
चित्राणि साकं दिवि रोचनानि सरीसृपाणि भुवने जवानि । तुर्मिशं सुमतिमिच्छमानो अहानि गीर्भिः सपर्यामि नाकम् ॥१॥ सुहवमग्ने कृत्तिका रोहिणी चास्तु भद्रं मृगशिरः शमार्द्रा ।पुनर्वसू सूनृता चारु पुष्यो भानुराश्लेषा अयनं मघा मे ॥२॥ पुण्यं पूर्वा फल्गुन्यौ चात्र हस्तश्चित्रा शिवा स्वाति सुखो मे अस्तु । राधे विशाखे सुहवानुराधा ज्येष्ठा सुनक्षत्रमरिष्ट मूलम् ॥३॥ अन्नं पूर्वा रासतांमे अषाढा ऊर्जं देव्युत्तरा आवहन्तु । अभिजिन् मे रासतां पुण्यमेव श्रवणः श्रविष्ठाः कुर्वतां सुपुष्टिम् ॥४॥ आ मे महच्छतभिषग्वरीय आ मे द्वया प्रोष्ठपदा सुशर्म । आ रेवती चाश्वयुजौ भगं म आ मे रयिं भरण्य आ वहन्तु ॥५॥

अथर्व वेदको १९ औं काण्डको .८ औं सूक्त
===========================
यानि नक्षत्राणि दिव्यन्तरिक्षे अप्सु भूमौ यानि नगेषु दिक्षु । प्रकल्पयंश्चन्द्रमा यान्येति सर्वाणि ममैतानि शिवानि सन्तु ॥१॥ अष्टाविंशानि शिवानि शग्मानि सह योगं भजन्तु मे । योगं प्र पद्ये क्षेमं च क्षेमं प्र पद्ये योगं च नमोऽहोरात्राभ्यामस्तु ॥२॥ स्वस्तितं मे सुप्रातः सुसायं सुदिवं सुमृगं सुशकुनं मे अस्तु । सुहवमग्ने स्वस्त्यमर्त्यं गत्वा पुनरायाभिनन्दन् ॥३॥ अनुहवं परिहवं परिवादं परिक्षवम् । सर्वैर्मे रिक्तकुम्भान् परा तान्त्सवितः सुव ॥४॥ अपपापं परिक्षवं पुण्यं भक्षीमहि क्षवम् । शिवा ते पाप नासिकां पुण्यगश्चाभि मेहताम् ॥५॥ इमा या ब्रह्मणस्पते विषुचीर्वात ईरते । सध्रीचीरिन्द्र ताः कृत्वा मह्यं शिवतमास्कृधि ॥६॥ स्वस्ति नो अस्त्वभयं नो अस्तु नमोऽहोरत्राभ्यामस्तु ॥७॥

लगध मुनिलाई वेदाङ्ग ज्योतिष ग्रन्थ लेख्न प्रेरणा दिने यिनै माथि उल्लेख गरिएका दुईटा सूक्तहरु मानिन्छन | यिनै ऋचाहरुबाट प्रेरणा पाएर वेदाङ्ग ज्योतिष ग्रन्थ लेखिएको ठानिन्छ | मयूरको शरीरको शिखाको शोभा र सर्पको शिरको मणिको महिमा वेदाङ्ग गणितको श्रोत हो र त्यहिनै गणित ज्योतिषको प्रेरणापनि हो | वराह मिहिरको पंचसिद्धान्तिका वेदाङ्ग ज्योतिष पछिको ज्योतिष शास्त्र हो | यजुर्वेदमा खगोलशास्त्र (ज्योतिष) का विद्वानकोलागि ‘नक्षत्रदर्श’ शब्द प्रयोग गरिएको छ | त्यस ग्रन्थमा भनिएको छ प्रतिभावान बन्न सबैले उसैका नजिक जानु पर्दछ (प्रज्ञानाय नक्षत्रदर्शम्) | त्यसैले शास्त्रको रूपमा ‘गणित’ को प्राचीनतम प्रयोग लगध ऋषिले लेखेको वेदांग ज्योतिष ग्रन्थको त्यो श्लोकलाई मानिन्छ जसलाई छान्दोग्य उपनिषद्मा सनत्कुमारले सोधेको प्रश्नमा नारदजीले १८ विद्याहरुको सूची प्रस्तुत गरेका थिए | त्यसमा ज्योतिष ‘नक्षत्र विद्या’ तथा गणित ‘राशि विद्या’ भनेर चिह्नाइएको छ |

महर्षि लगधले बताएको सूत्र
==================
महर्षि लागढ़ले वेदांग ज्योतिषमा ग्रहको स्थिति, काल एवं गतिको गणना गर्ने सूत्र यसरी दिएका छन :-

तिथिमेका दशाम्य स्ताम् पर्वमांश समन्विताम्।
विभज्य भज समुहेन तिथि नक्षत्रमादिशेत॥

अर्थात् तिथिलाई ११ ले गुणा गरेर त्यसमा पर्वको अंश जोड़ अनि नक्षत्र संख्याले त्यसलाई भाग देउ | यसरी भाग दिएपछि तिथि नक्षत्रको शंख्या निस्किन्छ | नेपालमा यसै ग्रन्थको आधारमा विगत ७/८ बर्ष देखि “वैदिक तिथिपत्रम्” भन्ने पात्रा कौड्यायन बन्धुहरुको सत्प्रयाशामा निकालिएको छ |

वेदास्तावद्यज्ञकर्मप्रवृत्ता यज्ञाः प्रोक्तास्ते तु कालाश्रयेण ।
शास्त्रादस्मात् कालबोधो यतः स्याद्वेदाङ्गत्वं ज्योतिषस्योत्तमस्मात्” ॥

वेदांग ज्योतिष ग्रन्थमा ज्योतिष विषयमा भनिएको छ :-

” वेदा हि यज्ञार्थमभिप्रवृताः कलानुपूर्वा विहिताश्च यज्ञा: |
तस्मादिदं कालविधान शास्त्रं यो ज्योतिषं वेद स वेद यज्ञान || ”

अर्थात ज्योतिष काल विधान शास्त्र हो जसले यज्ञ गर्ने समय निर्धारण गर्दछ ज्योतिषद्वारा निर्देशित भई यज्ञ गरिंदा मनोवांछित अनुष्ठान सम्भव हुन सक्दछ भन्ने यसको अभिप्राय हो |

मुण्डकोपनिषदका अनुसार –

‘तस्मै स हो वाच। द्वै विद्ये वेदितब्ये इति ह स्म यद्ब्रह्म विद्यौ वदंति परा चैवोपरा च॥
तत्रापरा ॠग्वेदो यजुर्वेद: सामवेदोऽर्थ वेद: शिक्षा कल्पो व्याकरणं निरुक्तं छन्दोज्योतिषमिति। अथ परा यथा तदक्षरमधिगम्यते॥

‘अर्थात मान्छेले जान्नु पर्ने दुईटा विद्याहरु छन परा र अपरा| त्यस मध्ये चारै वेदकोलागि चाहिने शिक्षा, कल्प, व्याकरण, निरुक्त, छंद, ज्योतिषलाई ‘अपरा’ विद्या भनिन्छ भने अविनाशी परब्रह्म तत्त्वलाई जान्ने बुझ्ने बिद्दालाई ‘परा’ विद्या भन्ने गरिन्छ | यी ६ मध्ये ज्योतिष नेत्र , निरुक्त ‘कान’ , शिक्षा ‘नाक’, व्याकरण ‘मुख’ तथा कल्प ‘दुवै हात् ‘ र छन्द ‘दुवै पाउ मानिन्छन |

के हो वेदाङ्ग ?
========
शिक्षा घ्राणं तु वेदस्य, हस्तौ कल्पोऽथ पठ्यते मुखं व्याकरणं स्मृतम्।
निरुक्त श्रौतमुच्यते, छन्द: पादौतु वेदस्य ज्योतिषामयनं चक्षु:॥

वैदिकमन्त्रको सार , स्वर, अक्षर, मात्राको उच्चारण ‘शिक्षा’ बाट सम्भव भएको हुन्छ |पाणिनीय शिक्षा (ॠग्वेद), व्यास शिक्षा (कृष्ण यजुर्वेद), याज्ञवल्क्य आदि २५ शिक्षाग्रन्थ (शुक्ल यजुर्वेद), गौतमी, नारदीय, लोमशी शिक्षा (सामवेद) तथा माण्डूकी शिक्षा (अथर्ववेद)रहेकाछन | भाषा नियमहरुको स्थाईत्वकरण गर्नु ‘व्याकरण’ को काम हो | शाकटायन व्याकरण सूत्र तथा पाणिनीय व्याकरण यजुर्वेद संग सम्वन्धित मानिन्छन |यस बाहेक सारस्वत व्याकरण, प्राकृत प्रकाश, प्राकृत व्याकरण, कामधेनु व्याकरण, हेमचन्द्र व्याकरण आदि अनेकौं ग्रन्थहरुपनि छन | सबैको भाष्य एवं टीका उपलब्ध भएपनि वेदको व्याख्या पद्धति ‘निरुक्त’ ले बताउँने गर्दछ | त्यसैले निरुक्तलाई वेदको विश्वकोश मानिन्छ | लगधको वेदाङ्ग ज्योतिष यस संसारको सबैभन्दा प्राचीन ज्याेतिष ग्रन्थ र ज्योतिषको आधार ग्रन्थ मानिन पुगेको हो | वेदाङ्ग ज्योतिष काल नियामक शास्त्र हो जसको उद्देश्य ठिक तिथि ,नक्षत्र पारेर गरिएको यज्ञ यज्ञादि कार्यले शुभ फल दिन्छ भन्ने उद्द्येश्य राखी यसको रचना गरिएको हो |

वेदा हि यज्ञार्थमभिप्रवृत्ताः कालानुपूर्वा विहिताश्च यज्ञाः।
तस्मादिदं कालविधानशास्त्रं यो ज्येतिषं वेद स वेद यज्ञान् ॥ (आर्चज्यौतिषम् ३६, याजुषज्याेतिषम् ३)

महर्षि यास्कको निरुक्त ग्रन्थ अहिले बजारमा उपलब्ध छ |’छन्द’ को केहि ग्रन्थ प्राप्य छन |

‘कल्पौ वेद विहितानां कर्मणामानुपूर्व्येण कल्पनाशास्त्रम्।’

‘अर्थात् ‘कल्पसूत्र ‘ वेद निर्दिष्ट कर्महरु गर्न सिकाउने शास्त्र हो | यसमा सूत्रमा यज्ञगर्ने विधि बताइएको छ | अनि ज्योतिषको काम गरिने यज्ञको मुहूर्त निर्धारण गर्नु हो | यज्ञस्थली, मंडप आदिको नाम जुराउनु हो |लगध ऋषिले यहीकुरो आफ्नो ग्रन्थमा उल्लेख गरेर देखाएका हुन | प्राचिन कालमा उनले लेखेको तिन बेग्ला बेग्लै ज्योतिष ग्रन्थहरु -आर्ष ज्योतिष (ॠग्वेद), याजुष ज्योतिष (यजुर्वेद) र अथर्वण ज्योतिष (अथर्ववेद) नै सबैभन्दा प्राचिन ग्रन्थ हो | | – प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *