Best Online News From Nepal

मन्त्रालयका सहसचिवको नेतृत्वमा विद्यालय अनुगमन गरिने

काठमाडौँ। शिक्षा नियमावली विपरीत निजी विद्यालयले मनपरी शुल्क उठाएको पाएपछि मन्त्रालयका सहसचिवको नेतृत्वमा विद्यालय अनुगमनमा जाने भएका छन् ।

गत वर्षको वैशाख ६ मा शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थी सङ्गठनबीच भएको १० बुँदे सहमति लागू नभएपछि विद्यार्थी सङ्गठन गत बुधबार अनुगमनमा गएको थियो । अनुगमनका क्रममा युलियन्स, रातोबङ्गलाले कक्षा १ को भर्ना रकम क्रमशः रु २८ र २५ हजार लिएको भेटिएको थियो ।

विभिन्न विद्यार्थी सङ्गठनले अनुगमनमा जाँदा शिक्षा ऐनले तोकेकोभन्दा बढी रकम उठाएको पाइएपछि मन्त्रालयको सहसचिवको नेतृत्वमा पाँचवटा उच्चस्तरीय अनुगमन समिति बनाएर आजदेखि अनुगमन थाल्न लागेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले काठमाडौँ भक्तपुर र ललितपुरका विद्यालयमा गएर अनुगमन गरिने बताए। उनले भने,“हामी अनुगमनमा जाँदा बढी रकम लिएको भेटिएमा एकहप्ताभित्र ती विद्यालयलाई कारबाही गर्छौं ।”

यस्तै प्रत्येक जिल्लामा भने उपसचिवको नेतृत्वमा अनुगमन थालिने मन्त्रालयले जनाएको छ । अनुगमनमा मन्त्रालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि र अभिभावक सङ्घका प्रतिनिधि सहभागी हुनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *