Best Online News From Nepal

भ्रष्टाचारविरुद्ध खरो उत्रिँदै चिनीयाँ राष्ट्रपति : एकै वर्षमा हाइप्रोफाइलका तीन लाखलाई कारबाही

राष्ट्रपति सी जिनपिङले चीनलाई भ्रष्टाचाररहित मुलुक बनाउने अभियान चलाएका छन् । भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कडा कारबाही गर्ने नीति सरकारले लिएको छ । राष्ट्रपति जिनपिङले सरकारको माथिल्लो तह तथा हाइप्रोफाइल व्यक्तिबाट भ्रष्टाचार भए, उनीहरूलाई फाँसी सजाय नै दिनुपर्ने निर्देशन दिएका छन् । गत वर्ष सरकारी अधिकारी नै बढी भ्रष्ट देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

चीन सरकारले गत वर्ष तीन लाख भ्रष्ट नागरिकलाई सजाय गरेको तथ्यांक सार्वजनिक भएको छ । मार्चको पहिलो साता चिनियाँ संसद्मा प्रस्तुत भएको वार्षिक प्रतिवेदनमा सरकारले तीन लाख भ्रष्ट नागरिकलाई सजाय दिएको उल्लेख गरिएको छ । यसमध्ये दुई लाख नागरिकले सामान्य सजाय मात्र पाएका छन् भने ८० हजार नागरिकले गम्भीर सजाय पाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । ती नागरिक सरकारी कर्मचारी र हाइप्रोफाइलका हुन् । सरकारले आफ्ना कर्मचारीलाई भ्रष्टाचार गरेको आरोपमा कडा सजाय दिएको छ । तथ्यांकका अनुसार ३५ हजार सरकारी कर्मचारीले गम्भीर सजाय पाए । धेरैजसो बेइजिङका नागरिकले सजाय पाएका छन् ।

 

सरकारले भ्रष्टाचारसम्बन्धी प्रतिवेदन तयार पार्ने जिम्मेवारी केन्द्रीय अनुशासन कमिटीलाई दिएको छ । यसैअनुरूप अनुशासन कमिटीले संसद्मा सन् २०१५ को प्रतिवेदन प्रस्तुत गरेकोमा कमिटीले पूरै प्रतिवेदन प्रस्तुत नगरेको सिन्ह्वाले जनाएको छ । अनुशासन कमिटीले गोप्यताका आधारमा केही भ्रष्ट व्यक्तिको नाम लुकाइएको उल्लेख गरेको छ ।

 

चीनको भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने संस्था विस्टोले सरकारले अगामी दिनमा भ्रष्टाचारीविरुद्ध कडा नियम ल्याउने तयारी गरेको जानकारी दिएको छ । ‘अबका दिनमा भ्रष्टाचारीले सुख पाउने छैनन्, सरकारले छिट्टै एक कडा नियम ल्याउने तयारी गरिरहेको छ,’ विस्टोले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यता, बेइजिङका सरकारी प्रतिनिधिहरू विस्टोको विज्ञप्तिसँगै डराएका छन् ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *