Best Online News From Nepal

भोलि दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्ने शुभसाइत यस्तो छ हेर्नुहोस

  • श्रीकृष्ण धिमाल/काठमाडौ—
  • भोलि दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्ने शुभसाइत 
  • बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म
  • बिहान पौने ११ देखि सवा १२ बजेसम्म
  • बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म
  • कलश स्थापना कसरी गर्ने ?
  • पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् ।
  • मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।
  • दूर्गासम्पशतीको पाठ गर्नुहोस्
  • नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् ।
  • यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।
  • आज दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्ने शुभसाइत ०८:३५ बजे
    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । भोलि देखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ ।

    यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

    यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । ‘दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ’- धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमले भने । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

    आजका दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु हुन्छ ।

    रोजगारी, अध्ययन एवम् अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले सार्वजनिक बिदा दिने गर्छन् ।