Best Online News From Nepal

भुकम्प गएको एक वर्षमा पुनर्निर्माणको थालनी : यस्ता छन् अन्य कार्यक्रमहरु

गतवर्ष गएको विनाशकारी भूकम्पको स्मृतिमा सरकारले आइतबार र सोमबार विभिन्न कार्यक्रम तथा पुनःनिर्माण कार्यको थालनी गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको कार्यक्रम अनुसार आइतबार बिहान सुन्धारास्थित धरहरा परिसरमा भूकम्पमा परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने प्राधिकरणले जनाएको छ । यस्ता श्रद्धाञ्जलि कार्यक्रम भूकम्प प्रभावित सबै जिल्लामा आयोजना गरिनेछन् । त्यस्तै आइतबार साँझ नै प्रधानमन्त्री ओलीकै उपस्थितिमा काठमाडौंँको माइतीघर मण्डलामा भूकम्पका कारण मृत्यु भएकाको सम्झनामा मैनबत्ती बाल्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मारक–२०७२ निर्माण कार्यको शुभारम्भ गर्ने कार्यक्रम तय भएको प्राधिकरणले जनाएको छ । आइतबार नै प्रधानमन्त्री ओली सिन्धुपाल्चोकको चौतारा र ओखलढुङ्गाको रुम्जाटारमा पुगेर भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि आवास अनुदान सम्झौता कार्यको सुरुवात गर्नुहुनेछ ।

यसबाहेक भूकम्प प्रभावित लगत सङ्कलन सम्पन्न भएका ११ जिल्लाका गाविसमा आवास अनुदान प्राप्त गर्न योग्य लाभग्राहीको नाम सार्वजनिक गरिने कार्यक्रम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तय गरिएको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै सर्भेक्षण सम्पन्न भएका गाविसमध्ये प्रत्येक निर्वाचन क्षेत्र समेटिने गरी कम्तीमा एक÷एक गाविसमा अनुदान सम्झौताको कार्य प्रारम्भ पनि आइतबारदेखि नै गरिने योजना तय भएको छ । त्यस्तै अति प्रभावितमध्ये नौ जिल्लाका एक÷एक गाविसमा निजी आवासको निर्माण कार्य नै थालिने पनि प्राधिकरणले बताएको छ ।

आइतबार नै सहरी विकास मन्त्रालय एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिको सहकार्यमा प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा सामुदायिक आवास भवन निर्माण कार्य पनि अगाडि बढाइने कार्यक्रम प्राधिकरणले तय गरेको छ । त्यस्तै सोमबार अप्रिल २५ तारिखमा भूकम्प प्रभावित प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा विद्यालय भवनको निर्माण सुरु गर्ने योजना शिक्षा मन्त्रालयले तयार गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक जिल्लामा कम्तीमा एक÷एकवटा स्वास्थ्य संस्था भवनको पुनःनिर्माण पनि थालिने कार्यक्रम तय भएको छ ।

त्यस्तै ऐतिहासिक सम्पदा क्षेत्रको पुनःनिर्माणको पनि थालनी सोमबारदेखि हुनेभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पुरातत्व विभागले साँखुको खड्ग योगिनी मन्दिरको पुनःनिर्माण थाल्नेछ । त्यस्तै काठमाडौँको स्वयम्भूनाथ परिसरको अनन्तपुर, हनुमानढोका परिसरको वंशगोपाल मन्दिरको पनि पुनःनिर्माण थालिने योजना बनेको छ । भक्तपुरको फसिदेग, ललितपुरको मणिमण्डपको पुनःनिर्माण थालनीको साइत पनि सोमबार तय भएको प्राधिकरणले बताएको छ । त्यसबाहेक मन्त्रालयमार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पनि विभिन्न कार्यक्रम तय गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *