Best Online News From Nepal

भष्टाचार-सेलेब्रेटी र परिवर्तन 

Dr  Govinda Upadhyaya

मलाई नेपालको माया लाग्छ | मेरो मायाको छहारीमा सबै नेपाली पर्छन् | नेपाल राष्ट्रपनि पर्छ | नेपाल राष्ट्रलाई चलाउने, संचालन गर्ने राज्यका स्थायी संरचनाहरू पनि पर्छन् | तर मेरो मायाको दयाराभित्र अनैतिक कर्म गर्ने, नेपालीपन भन्दा विदेशीपनलाई महत्व दिने, घूसखाने, छुवाछुतलाई धार्मिक वा सांस्कृतिक मान्यता दिने र विदेशीहरूको पैसा खानकै लागि नेपाल र नेपालीको वदनाम गर्ने पर्दैनन् |

हामी सबैलाई थाहा छ : नेपाल र नेपालीलाई माया गर्नेहरूको संख्या माया गर्ने अभिनय गर्नेहरू भन्दा निकै बढी छ | माया गर्नेहरू सर्वसाधारण हुन् अभिनय गर्नेहरू पढेलेखेका, ओहोदावाल र हुनेखानेवाल छन् | मैले सबैको कुरा गरेको छैन | कुनै पनि गाउँको किसानले देशसंग गद्दारी गर्ने, सांस्कृतिक अतिक्रमणलाई मलजल गर्ने, जातजाति र क्षेत्रीय आधारमा एकआपसमा लडाउने काम गर्नै सक्दैन | सुकिला-मुकिलाहरूले योजनापूर्वक गरिएका “भ्रष्टाचार”को कुप्रभाव देशले भोग्नु पर्छ |

भष्टाचार, बलत्कार, ठगी, घूस, आफन्तवाद र झूटो आस्वासन आजका सेलेब्रेटी शब्द हुन् | हरेक छापामा, मिडियामा, नेता र जनताको मुखमा यिनैको चर्चा छ | चर्चा हुनुको अर्थ यी सबै विद्यमान छन् | तर विचार गरेर हेर्ने हो भने यिनको उठान र प्रयोग सुदूरपश्चिमको दूर्गम गाउँको एउटा किसानले गर्नै जान्दैन | जनताको जीवन सुधार्न र जीवनस्तर उठाउन आफ्नो अस्तित्वमा आएका राजनैतिक दल, अधिकार कर्मी तथा अन्य सरोकारवालाले “गरिवी, अशिक्षा”लाई दोष दिएर आफ्नो अस्तित्व प्रमाणित गर्छन् र गरिरहेका छन् |

हाम्रो समाज कहाँ जाने हो ? कस्तो हुने हो भन्ने कार्यदिशाको निर्धारण राजनीतिले गर्ने हो | तेसैलेयो राज अर्थात् प्रमुख नीति भनिएको हो | तर नेपाली समाजमा सबैभन्दा बढी गन्हाएको नीति नै राजनीतिको पर्याय बनेको छ |विभिन्न कालखण्डमा विदेशबाट नेपाल भित्रिएका (साम्यवाद, पूँजीवाद, समाजवाद, राष्ट्रराज्य) जस्ता राजनैतिक सिद्धान्त भष्टाचार, बलत्कार, ठगी तथा अनैतिकताका अखडा बनेका छन् | कसैले प्रश्न उठायो कि उपरोक्त राजनैतिक वृत्तिबाट आफ्नो पेट भर्नु पर्ने बाध्यता भएकाहरू अरिंगालझैं जाई लाग्छन् : प्रजात्रन्त्र खतरा पर्यो ?

आजको नेपाली समाज राजनैतिक पूर्वाग्रहका कारण दुराचारीको रुपमा विकसित हुँदैछ | आचार्य चाणक्यले भने झैं सज्जनलाई दुर्जन बनाउन सकिन्न र दूर्जन पनि सज्जनमा परिवर्तित हुँदैन (चानी. १०/१०) भनेझैं नेपालको राजनीति स्वास्थ्य होला भन्ने मरिसकेको छ | अव देशले दुराचारी राजनैतिक प्रकल्प नै परिवर्तन गर्नुपर्छ | किनभने ७० वर्षको निरन्तर अभ्यासपछि पनि आज अभ्यास गरिएको राजनैतिक शैली र ब्यबस्थाले सदाचारको विकास भएन | जतिसुकै परिश्रम गरे पनि कन्टकारीको फलबाट लागूऔषधको गुण नष्ट हुँदैन |

आज “बलात्कार” शब्द मिडियाको सेलेब्रेटी भएको छ | यो शब्दको एतिबिध्न प्रचारप्रसार भएको छ कि हरेक महिलाले पुरुषलाई, केटाले केटीलाई बलात्कारी भएको अनुमान गर्नु पर्ने अवस्था सृजित भएको छ | दुराचारीको कुकर्मका कारण ज्यान गुमाएकी निर्मलाको पीडा दुखदायी चर्चाको विषय बनेको छ | मृतकको आत्मा समेत पीडित हुने गरी चर्चा-परिचर्चा भएका छन् | राज्य, मिडिया, अधिकारकर्मी, राजनैतिक नेतृत्व, एनजीओ/आइएनजिओ सबैले न्यायाधीश बनेर सजाय सुनाइसकेका छन् | यौनहिंसा मात्र बलात्कार होइन, आफ्नो निर्णय, आफ्नो विचार कसैमा थोपर्नु पनि बलत्कार नै हो भनेर कसले भन्ने ?

हामी एस्तो “अराजकता”लाई प्रेम गर्न थालेका छौँ जसले “पीडा”लाई सेलेब्रेट गर्न रुचाउँछ | एस्तो “अराजकता”लाई आलिंगन गरेर आफ्नो रोजीरोटी चलाउनेहरू थुप्रै छन् | निर्मलाहरूको पीडालाई “अराजक” नबनाएसम्म तिनको रोजीरोटी चल्दैन | एस्ता अभियन्ताहरू सधैं राज्य र राज्यसंयन्त्रहरू कमजोर भएको अनुभव गर्न चाहन्छन् |

प्रधानमन्त्री, मन्त्री-परिषदसहित प्रहरी-प्रशासनजस्ता स्थायी संयन्त्रले राज्यको निर्माण हुन्छ | यी संयन्त्रहरूमा बस्ने मान्छे गलत हुनसक्छ, अपराधी हुन सक्छ तर संयन्त्र हुँदैन र तेस संयन्त्रभित्र रहेका सबै मान्छे खराव पनि हुँदैनन् | संयन्त्रलाई कमजोर बनाएर कुनै नागरिक सुरक्षित हुन् सक्दैन | यदि संयन्त्र मै दोष छ भने परिवर्तन गर्न सकिन्छ | तर संयन्त्र विनाको सामाजिक जीवन हुँदैन | बरू नालायक नेता फेर्नुपर्छ तर राज्य तन्त्र कमजोर बनाउन हुँदैन |

न्याय दिन नसक्ने न्यायाधीश, उत्कोच (घूस) खाने कर्मचारी, सेवा-प्रदान गर्न नसक्ने प्रहरी, देशको रक्षा गर्न नसक्ने सैनिक तथा राज्यसंयन्त्र कमजोर बनाएर आफ्नो “ऊल्लु सीधा गर्ने” बुद्धिजीवि, राजनीतिज्ञ, संचारकर्मी र राजनीतिज्ञ सबैभन्दा घातक हुन्छन् |

आफ्नो देश, संस्कृति तथा इतिहासलाई माया गर्नेहरूले उपरोक्त द्रोहको काममा अग्रसरता लिंदैन | सभ्यसमाजमा “खराव” विषयलाई सेलेब्रेटी बनाउने कुराबाट जोगिनुपर्छ | निर्मलाको आत्माले न्याय पाउनुपर्छ तर अन्यायको लागि “प्रहरी-संस्था”को तेजोवध गर्नुहुँदैन | दोषी “प्रहरी”ले मुक्ति पाउनु हुँदैन |

हरेक संस्थामा धेरै असल मान्छेहरू छन् | निर्यण प्रक्रियामा तिनको प्रयोग हुनुपर्छ | कमसल चरित्र भएका व्यक्तिहरूको दुर्गन्ध कुनैनकुनै रूपमा फैलिएको हुन्छ | असल मान्छे चिन्न भन्दा कमसल मान्छे चिन्न सजिलो हुन्छ | तेसैले आफ्नो देश, समाज, संस्कृति तथा भाषालाई माया गर्ने नेतृत्व खोजौं | नेतृत्व तिनकै हातमा हुनुपर्छ |

हामीले आफ्नो कोर्स परिवर्तन गर्नुपर्छ | एस्तो कोर्स परिवर्तनको बाटोको सबैले प्रतीक्षा गरिरहेका छन् | तेसका लागि हामी तयार हुँदैछौँ | परिवर्तनको बाटोको लागि हामीले आफुलाई तयार गरिरहेका छौँ | अहिंसक, समावेशी र सहृदयी सम्बन्धमा आधारमा कमसल सेलिब्रेटी “भ्रष्टाचार, बलात्कार, घृणावादलाई”लाई निखन्ने छौँ | हामी संग घृणा होइन प्रेम छ, नकारात्मकता होइन सकारात्मक दृष्टिकोण छ, कित्ताकाट होइन कित्त्ताहरू जोड्ने चिन्तन छ | हो, र यो सबै कुरा हाम्रो आफ्नै जरोकिलो बाट खोजेका छौँ | हाम्रै प्राचीन वैदिक, जैन, बौद्ध, बोन संस्कृतिबाट खोजेका छौँ |