Best Online News From Nepal

भविष्यवाणी सूरदासजीको

Dr. Nirmala Mani Adhikary॒॒॒॒

Kavi-Surdas-Ka-Jeevan-Parichay-in-Hindi-Language

जब अमेरिकामाथि अनपेक्षित तबरले आतङ्ककारी आक्रमण भयो र विश्व घटनाक्रम युद्धोन्मुख हुनथाल्यो तबदेखिनै समाचार माध्यम तथा विभिन्न व्यक्तिहरुको ध्यान नास्त्रेदमसको भविष्यवाणी तर्फ पनि मोडियो । “ए नास्त्रेदमसको भविष्यवाणीमा यस्तो लेखेको छ अरे ………॥ उस्तो लेखेको छ अरे …………। त्यसमा लेखेजस्तै घटना ट्वाक्कै मिल्यो अरे” भन्ने चर्चा सुन्न/पढ्न पाइन्छ । यद्यपि त्रासदीपूर्ण घटना भोग्नुचाहिँ पटक्कै रमाइलो कुरो होइन; तथापि अहिले भइरहेका घटना बारेमा पहिल्यै लेखिएको पाइनु अवश्यै रमाइलो पठनीय कुरा हो । त्यसकारण संसारभरि जति पनि भविष्यवक्ताका भविष्यवाणीहरु हामी मानव समुदायसँग अहिले उपलब्ध छन् ती सबै प्रकाशित हुनु पर्दछभन्ने मलाई लाग्छ । तर अन्य क्षेत्रमा जस्तै नै सूचना तथा साचारको क्षेत्रमा पनि विडम्बनापूर्ण स्थिति कायम छकि कमैमात्र मानिसहरुको कब्जामा छ यो क्षेत्र पनि । त्यसोहुँदा हामीलाई अमेरिका-युरोपको घटना त उत्तिखेरै थाहा लाग्छ तर आफ्नै गाउँको खबरको पत्तोफाँट हुँदैन । रेडियो, टी. भी., पत्रिका, इन्टरनेट आदिमा आम जनताको पहुँच सीमित छ र ती सुविधा उपयोग गर्नेहरुकालागि पनि विदेशका जानकारी जति बढी मात्रामा प्राप्य छन् त्यसका तुलनामा हाम्रा आफ्ना कुरा त छँदैछैनन् भने पनि हुन्छ । यसको दुस्परिणाम स्पष्टसँग देख्न सकिन्छ कि यहाँ हरेक सन्दर्भमा आफ्नाभन्दा अर्काका कुरा बढी जान्ने लालबुझक्कडहरु छ्यास्छ्यास्ति भेटिइन्छन् । यस्ताहरुलाई नै व्यंग्य गरेर एकजना व्यंग्यकारले संस्कृतमा लेखेका छन् नि : “आंग्लानाम् को तु राजा कति बारं व्यमूत्रयत् इति सर्वम् विजानाति नजानाति स्वकम् गृहम्” । वाह क्या गजबको व्यंग्य छ !
साँच्चै नै मेडियाको विकास अनुसार सबैको समान सहभागिता हुन नसक्नाले स्थिति गरीब तथा अल्पविकसित देशका अधिकांश जनताकालागि झनै विडम्बनायुक्त हुनसक्ने देखिएको छ । अब यही भविष्यवाणीकै सन्दर्भमा कुरा गरौं न; नास्त्रेदमसको भविष्यवाणी त मेडियामा उपलब्ध छ तर भविष्यपुराणका बारेमा नाममात्र चर्चा पनि छैन । हो अन्यत्रका कुरा थाहा पाउनु राम्रो हो; तर आफ्नै पुर्खाले लेखिछाडेका भविष्यपुराणमा के लेखेको छ कस्ता कस्ता भविष्यवाणी गरिएका छन् भन्नेबारेमाचाहिँ फिटिक्कै थाहा नपाउनु हामी नेपालीहरुका निमित्त निश्चित रुपमा विडम्बनायुक्त स्थिति हो । “गाउँको जोगी भातमारा देशको जोगी सिद्ध” भन्ने पुरानो उखानले व्यंग्य गरे झैं तथा “बत्तीमुनि अँध्यारो” भन्ने उखानले बताएझैं हाम्रा महान् पुर्खा ऋषि-महर्षि सन्त-महन्त सिद्ध-महात्माहरुले भनिछाडेका कुरातर्फ हाम्रो ध्यान कम जानु अथवा श्रद्धा नहुनु हाम्रो दुर्भाग्य हो । यस्तो स्थिति कायम नरहोस् र आफ्ना यशस्वी पुर्खाका कृतिप्रति हामीले न्याय गर्नैपर्दछ भन्ने मेरो आग्रह हो ।
भविष्यपुराण त यति विशद् छकि त्यसको चर्चा यो एउटा लेखमा गरेर साध्य नै छैन । तसर्थ म यहाँ भविष्यपुराणको बारेमा यतिमात्र भन्छुकि त्यस ग्रन्थ पढ्ने अवसर पाउने व्यक्ति त्यसमा गरिएका भविष्यवाणी पुराकापुरा मिलेको देखेर ती महान् ऋषिहरु साँच्चैनै त्रिकालदर्शी रहेछन् भन्नेमा विश्वस्त हुनेछ । अस्तु यसलाई यत्तिकैमा बिट मारेर यहाँ म एकजना प्रातःस्मरणीय सन्तको भनाइ अगाडी राख्न चाहन्छु । सन्त सूरदासजीको भनाइ हो यो –
सं दो हजारके उपर ऐसा जोग परै
अकाल मृत्यु जगमािहं व्यापै परजा बहुत मरै
उत्तर दक्षिण पूरब पश्चिम चहुँ दिशि काल परै
सहस वर्ष लग सतयुग व्यापै सुखकी दशा फिरै
स्वर्णफूल पृथ्वी फूले धर्मकी बेल चढै
काल ख्यालसे वही बचेगा जो सद्गुरु ध्यान धरै
सूरदास हरिकी यह लीला टारे निहं टरै ॥
यसरी सूरदासजीले लेखिछाड्नु भएको छकि इस्वीसंवतको दुई हजार वर्ष बितेपछि संसारभरि अकाल मृत्युको जोग परेको छ जसका कारण धेरै मानिसहरु मारिनेछन् । अर्थात् युद्धको ठूलो त्रासदी विश्व समुदायले भोग्नु पर्ने स्थिति । यस्तो सन्त्रासमय बेलामा त्यही व्यक्तिमात्र सार्थक जीवन बाँच्न सक्नेछ जसलेकि सद्गुरुको साथ पाउनेछ । यहाँ सद्गुरु भनेर निश्चय नै त्यस्तो गुरुलाई भनिएको छ जसले संसारलाई आध्यात्मिक एवं भौतिक दुबैतहमा उच्चतातर्फ दिग्दर्शित गर्न सक्दछ र सत्ययुगका आदर्शले दिग्दर्शित प्रणालीको निमित्त जीवन अर्पण गर्दछ । यस्तो सद्गुरुको साथ लिने मानव समुदायका कारण एक हजार वर्षका लागि पुनः धर्मको विजय हुने र सत्ययुग आउने सन्त सूरदासजीको भविष्यवाणी छ । भगवान्को यो लीला टारेर टर्दैन भन्ने उहाँको ठोकुवा छ । यहाँ सूरदासजीले प्रथमतः अहिले हामी रहेको समयमा मानव समाजले भोग्नु पर्ने त्रासदी बारेमा सचेत पार्नु भएको छ; दोस्रो कुरा चाहिँ उहाँले यस अन्धकारको बेलामा बचावटको उपाय उपाय सुझाउनु भएको छ र तेस्रो झन् महत्वपूर्ण कुरा छकि उहाँले मानव समाजमा सत्ययुगको आदर्शले दिग्दर्शित नेतृत्व तथा प्रणालीको निमित्त समय आएको छ भन्नेमा हामीलाई आश्वस्त पार्नु भएको छ ।
पाठकवृन्द ! यसै पत्रिकाको यही ठाउँमा अघिल्ला विभिन्न अङ्कमा मैले मानव समाजमा सत्ययुग एवं रामराज्यले दिग्दर्शित गरेअनुरुपको नेतृत्व तथा प्रणालीका बारेमा लेखेको थिएँ भन्नेकुरा स्मरण गराउन चाहन्छु र साथमा के कुरा थप्न अनुमति चाहन्छुभने सन्त सूरदासजीको सम्मतिले हाम्रो धारणालाई अझ सुदृढ पारेको छ । स्पष्ट शब्दमा भन्नुपर्दा संसारमा अहिले दृष्टिगत भइरहेको धर्मको क्षय क्षणिकमात्र हो र केही समयपछि नै पुनः धर्मपताका दिग्विजयी हुँदै निर्बाध फर्फराउनेछ । स्वयम् भविष्यपुराणको भविष्यवाणी अनुसार पनि अहिले केही समय सत्यलाई असत्यले नेपथ्यमा पारेको छ तापनि असत्यको पराजय अवश्यम्भावी छ । भविष्यवाणीलाई पत्याउने र नपत्याउने दुबै अधिकार व्यक्ति स्वयंसँग छ । त्यसोहुँदा कसैले भविष्यपुराणलाई पत्याएन भने अथवा मैले माथि चर्चा गरेको सन्त सूरदासजीको भनाइलाई पत्याएन भने त्यस व्यक्तिलाई मेरो तर्फबाट कुनै थप जिरह गरी गरी विश्वास दिलाउने आवश्यकता मैले देखेको छैन । अँ, जसलाई सनातन हिन्दू धर्ममा आस्था छ; जसलाई महान् ऋषि-महर्षि सन्त-महन्त सिद्ध-महात्माहरुले बताएको कुराप्रति विश्वास छ; उहाँहरुलाईचाहिँ मेरो अनुरोध छकि हामीले निराश बन्नुपर्ने आत्तिनुपर्ने हतोत्साहित हुनुपर्ने अबस्था छैन । यो बेला त संक्रमणकालीन अवस्था हो र हामीले ठीक बाटो अवलम्बन गर्न सकेमा यसअघि कहिल्यै हासिल नभएको उपलब्धि प्राप्त हुनेवाला छ । एउटा सुन्दर भविष्यले हाम्रो वर्तमान बन्नकालागि हामीलाई आमन्त्रण गर्दैछ । बेलाको बोली चिनेर त्यसलाई स्वागत गर्न सकौं भन्ने मेरो आग्रह छ । अहिले विश्वभरि देखापरेका िहंसा संघर्ष युद्ध उथलपुथल आदिको नराम्रो पक्षमात्र हामी नहेरौं; किनकि यसभित्र पनि सकारात्मक चीजको बीउ छ – त्यो के भने यी िहंसा संघर्ष युद्ध उथलपुथल आदि त मानव मनका आन्तरिक उथलपुथलका बाह्य प्रकटीकरण हुन् र यसले प्रष्ट पार्दछकि मानव समुदायले अब ठूलै परिवर्तन चाहेको छ । तर सद्गुरुको दिग्दर्शन नपाएका हुँदा प्रायजसोको परिणाम नकारात्मक हुन पुगेको छ । सन्त सूरदासजी त्यहीकारणले त भन्नुहुन्छ : “काल ख्यालसे वही बचेगा जो सद्गुरु ध्यान धरै” । अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *