Best Online News From Nepal

भरी सिलिण्डरले झुक्यायो उपभोक्ता : ग्यास पनि पाइएन, पेट्रोल पनि पाइएन

सरकारले कारबाहीमा परेका बाहेक सबै पेट्रोल पम्पलाई पूर्ण क्षमतामा इन्धन वितरण गर्ने जनाएको छ ।  हाल कायम रहेको मोटरसाइकललाई पाँच लि र अन्य चारपाङ्ग्रे सवारी साधनलाई दिइँदै आएको १५ लिको कोटा प्रणाली हटाएर सबैले समान रुपमा इन्धन पाउने गरी आवश्यक व्यवस्था मिलाइएको छ । परिमाणात्मक बन्देज हटाइएपछि उपभोक्ताले सहज अवस्थाको अनुभव गर्ने र भण्डारण गर्ने प्रवृत्तिको समेत अन्त्य हुने सरकारको भनाइ छ । आपूर्ति मन्त्री सम्मेलनमा मन्त्री गणेशमान पुनले इन्डियन आयल कर्पोरेसनबाट पूर्ण रुपमा इन्धन प्राप्त नभए पनि प्राप्त इन्धनलाई सहज रुपमा वितरण गर्ने प्रणालीको सुरुआत गरिएको जानकारी दिएका छन् । त्यसका लागि आवश्यक व्यवस्था मिलाइसकिएको उनको भनाइ छ । सोमबारदेखि नै काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा भन्दा बढी इन्धन बिक्री वितरण गरिएको छ । आपूर्तिमन्त्रीले ३ लाख ५० हजार लिटरबाट बढाएर ४ लाख ५० हजार लिटर डिजेल र ४ लाख ५० हजार लिटरबाट बढाएर ५ लाख लिटर पेट्रोल वितरण गर्न थालिएको जानकारी दिएका छन् ।

gasत्यस्तै, नेपाल सरकार आपूर्ति मन्त्रालयले सोमबारदेखि नाकाबन्दी अघि कै ब्यवस्थाअनुसार पूरा तौलको ग्यास सिलिन्डर बजारमा बिक्री गर्न सुरु गरेको छ । सोमबारदेखि नै ग्यास उद्योगहरुले सिलिन्डरमा १४ दशमलव २ किलो कै ग्यास भर्न थालिसकेका छन् । आयल निगमले पनि मन्त्रालयलाई ग्यासको आयात बढेको भन्दै आधा सिलिन्डरबाट फेरि भरि सिलिन्डरमा जान राय दिएको थियो । ग्यास उद्योगी तथा व्यवसायी र उपभोक्तावादी संस्थाहरुले पनि आधा सिलिन्डरले उपभोक्तालाई लगातार लाइनमा बस्न बाध्य बनाएको भन्दै भरि सिलिण्डर नै बेच्न पाउने निर्णय गर्न दवाव दिँदै आएका थिए ।

यद्यपि, भरि सिलिण्डर ग्यास बेच्न सुरु गरेतापनि आधा सिलिण्डर ग्यासलाई पूर्णतयाः प्रतिस्थापन गर्न १ महिनाभन्दा बढी समय लाग्ने उद्योगीहरु बताउँछन् । अहिले भारतले ७० प्रतिशतका दरले मात्रै इन्धन उपलब्ध गराइरहेको छ । यही अवस्था कायम रहेमा इन्धन अभाव भने तत्काल हट्ने अवस्था देखिँदैन । हाल बजारमा ग्यासको माग दैनिक ६५ देखि ७० बुलेट रहेको छ । तर, दैनिक ४० बुलेट ग्यासमात्रै भारतबाट लोडिङ हुने गरेको छ । त्यस्तै, सामान्य अवस्थामा दैनिक २६ लाख लिटर इन्धन सो नाकाबाट आयात हुने गरेकामा हाल दैनिक २० लाख लिटर आयात भइरहेको छ । अन्य नाकाबाट सामान्य रुपमा नै आयात भइरहेको छ ।

यसकारण हुँदैन बजारमा सहजता
ग्यास होल्डिङ गरेर राख्दा उपभोक्ता र बजार दुबैलाई फाइदा नहुने भएकाले सरकारले भरि सिलिण्डर ग्यास बेच्ने निर्ण गर्नु राम्रो भएको भएतापनि तत्काल अभाव हट्ने सम्भावना भने नरहेको ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । आधा सिलिण्डर भरिरहँदा समेटिएका जति उपभोक्ता भरि सिलिण्डर वितरण गर्दा नसमेटिने उनको भनाइ छ । जबसम्म शतप्रतिशत इन्धन आउँदैन तबसम्म बजारमा अभाव देखिइरहेने उनको तर्क छ । त्यसमाथि पनि ग्यासको लोडिङ लगभग ६० प्रतिशतका दरले भइरहेको र ग्यास अरु पेट्रोलियम पद्धार्थभन्दा अलि फरक प्रकृतिको हुने भएकाले ग्यासको अभाव झन् पछिसम्म रहने उनको दाबी छ । यसै महिनामा लोडिङ बढेर आयो भने मात्रै बजार सहज हुन सक्ने अर्यालको जिकिर छ ।

ग्यास आयात गर्दा, धेरै टाढाको रिफाइनरीबाट ल्याउनुपर्ने हुन्छ, उद्योगहरुमा ल्याएर साना सिलिण्डरहरुमा १४.२ केजीका दरले भर्नुपर्ने हुन्छ, त्यसपछि डिलरहरुमा पठाउनुपर्ने र डिलरमार्फत उपभोक्तमाझ पुग्ने हुन्छ । यतिबेला आम उपभोक्ता र डिलरसँग ठूलो मात्रामा सिलिरुन्डरहरु खाली भएर बसेको अवस्था छ । त्यसमाथि नेपालमा एउटा उपभोक्ताले एकभन्दा बढी सिलिण्डर लान नसक्ने मेकानिजमको अभाव छ । एउटा सरकारले नियम बनाएपनि अर्को सरकारले त्यसको कार्यान्वयन नगर्ने लगायतको राजनितीक समस्यामा पनि ग्यास वितरण प्रणाली फसिरहेको देखिन्छ । त्यसकाण पनि तत्काल बजार सहज हुने स्थिती छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *