Best Online News From Nepal

ब्यारेकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्विर अनिवार्य ,सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध

जर्णेलका श्रीमतीलाई ‘रानी साब’भन्ने चलन हटाइयो प्रधानसेनापति बाट देशभरका व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर

असोज ५,प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन्।

यसअघि मुख्यालयसहित बाहिनी,पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन दिएका छन् । यस्तै उनले सैनिक जर्नेलका पत्निहरुलाई ‘रानी’ भन्नुपर्ने चलन हटाएका छन् । सेनामा जर्नेल पत्निहरुलाई ‘रानी साहेब’ भन्नुपथ्र्यो।

अब भने जर्साब पत्नीहरुलाई पनि ‘म्याडम’ मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ । सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ।