बैतडीमा चालु आर्थिक वर्षमा ४७ जना नवजात शिशुको मृत्यु भएको छ।
आव २०७०/७१ मा ७९ जना नवजात शिशुको मृत्यु भएकामा गत आव २०७१/७२मा त्यो सङ्ख्या घटेर ४५ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले जानकारी दिए।
यस्तै, गएको ३ वर्षयता मातृ मृत्युदर स्थिर रहेको छ भने नवजात शिशु मृत्युदरमा कमी आउन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार आव २०७०/७१, ०७१/७२ र ०७२/७३ मा एक/एक जना आमाको मृत्यु भएको छ। ‘बच्चा जन्माउने बेलामा ती आमाको मृत्यु भएको हो,’ सुपरभाइजर अवस्थीले भने, ‘मातृ मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिइएको भए पनि गएको तीन वर्षयता मातृमृत्युदर स्थिर रहेको छ।’
एक दशकको तथ्याङ्क हेर्ने हो भने मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा भने कमी आएको उनको भनाइ छ।रासस