Best Online News From Nepal

बैँकमै अड्कियो सामाजिक सुरक्षा भत्ता

पर्वतमा चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन । तेस्रो चौमासिकको भत्तासमेत वितरण गर्नुपर्ने बेलासम्म पनि पहिलो र दोस्रो चौमासिकको भत्ता वितरण हुन नसकेको हो । पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा दसँैअगावै असोज १ गतेसम्म वितरण गरिसक्न र दोस्रो चौमासिकको रकम सहिद सप्ताहको अवसरमा माघ १२ गतेभित्र वितरण गर्न बैंकलाई आग्रह गरिएको थियो ।

गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै ४ करोड रुपैँया निकासा दिएको थियो । पहिलो चौमासिकमा वितरण गर्नका लागि १ करोड ९७ लाख ८६ हजार रुपैँया र दोस्रो चौमासिकका लागि १ करोड ९७ लाख ८६ हजार रकम निकासा दिएको भए पनि अझैसम्म वितरण हुन नसकेपछि जिल्ला विकास समितिले वितरण नहुनुको कारण माग गरेको छ । वृद्धवृद्धाले जिल्ला विकास समितिमा भत्ता नपाएको गुनासो गरेपछि स्थानीय विकास अधिकारी युवराज पौडेलले गत चैत २६ गते बैंकलाई पत्राचार गरेका थिए । जिविसले समयमै भत्ता उपलब्ध गराउन बैंकलाई ताकेता समेत गरेको छ ।

सहिद सप्ताहअघि नै सर्वसाधारणलाई भत्ता वितरण गर्नका लागि समयमै निकासा दिएको रकम अहिलेसम्म वितरण नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरु दैनिकजसो बैंकमा धाउँदै रित्तो हात फर्कन बाध्य भएका छन् ।

पर्वतमा विगत दुई वर्षदेखि सबै गाविसमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । जसमध्ये गरिमा बिकास बैंकको कुश्मा शाखाबाट ठूलीपोखरी, आर्थर शङ्करपोखरी, हुवास शाखाबाट हुवास, सरौखोला, भोर्ले, त्रिवेणी, टकलाक, बेउलीवास, उरामपोखरा, शालिग्राम, वहाकी, रानीपानी, बर्राचौर र होश्राङ्दी, तथा फलेवास शाखाबाट मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, कुर्घा पाङराङ र बाच्छा गाविसमा वितरण गर्दै आएको छ ।

यता गरिमा विकास बैंक कुश्मा शाखाका प्रमुख सुन्दरसिंह भण्डारीले वैशाख १५ गतेभित्रै वितरण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले पहिलो चौमासिकको सबै वितरण गरिएको तर दोस्रो चौसिममा तथ्याङ्क अद्यावधिक गर्न समय लागेका कारण ढिलाइ भएको बताए ।

गरिमा विकास बैंकबाहेक अन्य सबै बैंकले भने वितरण गरिसकेको जिल्ला विकास समितिले जनाएको छ । पर्वतमा चालु आवमा २२ हजार ५ सय ६ जनालाई भत्ता वितरण गर्ने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *