Best Online News From Nepal

‘बुद्धको शिक्षाले बदल्छ जीवन

आधुनिक शिक्षाले मानिसलाई नवीन खोज तथा अनुसन्धानतर्फ अग्रसर गराए पनि नैतिक मूल्य–मान्यताको बोध गराउन सकेको छैन । पछिल्लो मानिस विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याबाट आक्रान्त छन् । भविष्यको ‘आशादीप’ बन्नुपर्ने युवा पुस्ता कुलतको सिकार बन्दै गएको छ ।

हिमालयन बौद्ध धर्मका महामहोपाध्याय ठाङ्गु रिन्पोछे बुद्धको शिक्षाले मानिसको आचरणका साथै मन परिवर्तन हुने बताउँछन् । उनका अनुसार मानिसलाई एउटा पद्धतिमा आधारित उपदेश मात्र होइन, हरेक धर्मले अवलम्बन गरेको वास्तविक आध्यात्मिक ज्ञान दिनुपर्छ । ‘हामीले बौद्धधर्म मात्र नभई हिन्दु, क्रिश्चियन वा अन्य धर्मले पनि सामाजिक मूल्य–मान्यता र नैतिकताबारे के सन्देश दिएका छन् भनी सिकाउन सक्यौं भने मानिसको मन परिवर्तन हुन्छ,’ उनी भन्छन्, ‘यसरी सही धर्म र राम्रो आचरण सिकाउन सकियो भने मानिसको व्यवहारमा आमूल परिवर्तन आउन सक्छ ।’
८५ वर्षको उमेरमा पनि रिन्पोछेमा रतिभर थकान देखिँदैन । उनी शान्ति, करुणा र मैत्रीभाव बाँड्दै हिँडिरहेका छन् । शरीरमा बुढ्यौलीका लक्षण देखिए पनि अनुहारमा चम्किलो आभा छ । उनको समीपमा गएर बस्दाखेरि मनमा शान्ति, आनन्द र महसुस हुन्छ । हृदयमा दिव्यताको प्रकाश प्रज्वलित हुन्छ ।

खुसी र आनन्दको सूत्र बाँड्न रिन्पोछे कहिले अमेरिकाको क्यालिफोर्निया, कहिले क्यानडाको भ्यानकोभर अनि कहिले युरोप पुग्छन् । केही दिनअघि राजधानीमा उनीसँग सत्संग गर्ने अवसर जु¥यो । उनले बौद्ध धर्मका शाश्वत पक्षमाथि केन्द्रित भएर जिज्ञासुका जिज्ञासा शान्त पारे । उनले मानव जीवन, बौद्ध दर्शन, ध्यान आदिबारे सरल भाषामा प्रस्ट पारे । ‘सबैको भलो होस्’ भन्ने बौद्ध दर्शनमा निहित सन्देशलाई प्रकाश पार्दै उनले भने, ‘बौद्ध धर्ममा आफूलाई मात्र नभई अरुको पनि भलाइ होस् भनी ध्यान गरिन्छ । हामीले स्कुल, विश्वविद्यालयमा प्रवचन दिँदा पनि रिन्पोछेहरूले अरुको कल्याणमा ध्यान दिन आग्रह गर्छन् ।’ उनका विचारमा मानिस, पशुपक्षी, साना–ठूला जीव आदि सबैको कल्याण होस् भनी कामना गरिन्छ । यसरी आफ्नो स्वार्थभन्दा माथि उठेर अभ्यर्थना गर्दा सम्पूर्ण प्राणी जगतको उद्घार हुन्छ ।
अहिले वैज्ञानिकहरूले मनको बारेमा जे–जस्तो अनुसन्धान र खोज गरिरहेका छन्, त्यसबारे बौद्ध धर्ममा करिब २ हजारभन्दा पहिल्यै उल्लेख गरिएको शास्त्रहरूमा उल्लेख छ । बौद्ध दर्शनमा शून्यताबारे धेरै पहिले नै उल्लेख गरिसकिएको छ । ‘अचेलका वैज्ञानिकहरूले पत्तालगाएको मनको अवस्था र शून्यताबारे बौद्ध धर्ममा उल्लिखित प्रसंग धेरै मिल्दोजुल्दो छ । त्यही भएर होला, बौद्ध धर्म–दर्शनलाई विज्ञानसँग निकट भनिँदै आइएको छ ,’ उनी स्पष्ट पार्छन् । विश्वका धेरै विश्वविद्यालयमा बौद्ध दर्शन पढाइ र ध्यान अभ्यास गरिनु सुखद पक्ष भएको उनको धारणा छ । अमेरिकाको हार्भड, लन्डनको अक्सफोर्डलगायत संसारका अतिचर्चित विश्वविद्यालयमा विद्यार्थीले बौद्ध अध्ययन गर्छन् । बौद्ध पद्धतिमा आधारित ध्यान विधिबारे ती विश्वविद्यालयमा वृहद् अनुसन्धान हुन थालेको छ ।

बुद्धको जन्मथलो नेपालमा शान्ति र करुणाको शिक्षालाई जनजनमा पु¥याउनसके धेरै मानिस लाभान्वित हुनसक्ने उनको भनाइ छ । ‘नेपालको लुम्बिनीबाट भारतको नालन्दा विश्वविद्यालय हुँदै बुद्धको शिक्षा विश्वभर फैलियो । बुद्ध दर्शनले मनलाई शान्त बनाउने हुनाले विकसित देशमा समेत यो लोकप्रिय हुँदै गएको छ,’ उनी स्पष्ट पार्छन् । भौतिक सम्पन्नता भए पनि पश्चिमी देशमा मानसिक समस्या बढ्दै गएको छ । मानिसलाई छटपटी अनि चिन्ताले गाँज्दै लगेको छ । बुद्धले सिकाउनुभएको ध्यान विधि प्रभावकारी भएकाले अमेरिकालगायत पश्चिमी देशमा यसका अभ्यासकर्ता बढ्दै गएका रिन्पोछेको ठम्याइ छ ।

  –बुद्धले सिकाउनुभएको ध्यान विधि प्रभावकारी भएकाले अमेरिकालगायत पश्चिमी देशमा यसका अभ्यासकर्ताको संख्या बढ्दै गएको छ ।
  – बुद्धको जन्मथलो नेपालमा शान्ति र करुणाको भाव फैलाउनसके धेरै मानिस लाभान्वित हुन सक्छन् ।
  –उमेर ढल्किइसकेका बुढापाकाले क्रियाशील भएर काम गर्न सक्दैनन् । त्यसैले संसार हाँक्ने जिम्मेवारी युवाहरूमा छ । उनीहरू जिम्मेवार र जागरुक बन्न सक्नुपर्छ ।

अमेरिका, क्यानडालगायत पश्चिमी मुलुकमा रिन्पोछेका लाखौं अनुयायी छन् । रिन्पोछेको प्रत्यक्ष मार्गदर्शनमा उनीहरूले बुद्ध दर्शन तथा वैज्ञानिक ध्यान पद्धति अभ्यास गरिहेका छन् । ‘सातसूत्रीय मतिशोधन अभ्यास’ रिन्पोछेद्वारा सरल भाषामा लेखिएको किताब हो । ‘मतिशोधनको पूर्ण अभ्यास गरेमा व्यक्तिको मनमा सुख, शान्ति, विनम्रता, मैत्री र करुणा फैलिनसक्छ,’ रिन्पोछेले किताबमा उल्लेख गरेका छन् । उनको यो पद्धतिबाट मन शुद्धकरण गर्न पर्याप्त मद्दत पुग्ने देखिन्छ ।

तिब्बतदेखि सिक्किम हुँदै पश्चिमी मुलुकसम्मको यात्रा–क्रममा रिन्पोछेले आफ्ना समीपमा आएका अनुयायीहरूलाई करुणा र मैत्रीको सन्देश दिँदै आएका छन् । संसारको जुनसुकै भूगोलमा रहे पनि मानव जाति मात्र होइन, सम्पूर्ण जीवको भलो होस् भन्ने भावना उनको चित्तमा सदैव छ । तिब्बतमा जन्मे हुर्केर प्रारम्भिक शिक्षा लिएका उनले भारतमा आफ्नो ज्ञानचक्षु अझै विस्तारित गर्ने तथा सुखद अनुभूति अरुलाई बाँड्ने अवसर पाए ।
जन्म र बाल्यकाल

ठाङ्गु रिन्पोछेको जन्म सन् १९३३ मा तिब्बतको खाममा भएको हो । उनी हिमाली बौद्घ धर्मअन्तर्गत काग्यु सम्प्रदायका प्रमुख अवतारी लामा हुन् । हिमाली बौद्ध धर्ममा निग्मा, शाक्य, काग्यु र गेलुक गरी चार सम्प्रदाय हुन्छन् । उनलाई काग्यु परम्परा अनुसार अत्यधिक सम्मानका साथ ‘खेन्चेन’ उपाधिले सम्बोधन गरिन्छ ।

पाँच वर्षको उमेरमा काग्यु सम्प्रदायका प्रमुख सोह्रौ कर्मापाले सन् १९३८ मा टुल्कु (अवतारी) को उपाधि दिएपछि उनी पूर्वी तिब्बतको खामस्थित ठाङ्गु गुम्बामा बस्न सुरु गरे । चीन सरकारले कठोर नीति अपनाएपछि उनी सन् १९५९ मा तिब्बत छाडेर भारत गएर बस्न बाध्य भए । चिनियाँ कम्युनिस्ट सरकारको पालामा लुप्त पारिएका बौद्घ दर्शनसम्बन्धी किताबलगायत सामग्री खोजी गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । उनले भारत सिक्किमको रुम्तेकमा ‘नालन्दा इन्स्टिच्युट फर हायर बुद्घिस्ट स्टडीज’ सुरु गरे, जहाँ काग्यु सम्प्रदायका टुल्कुहरूलाई प्रशिक्षण दिइन्छ । कर्मापापछिका विशेष चार उत्तराधिकारीहरू श्यामर रिन्पोछे, ताई सितु रिन्पोछे, जाम्गोन रिन्पोछे र ग्याल्त्सब रिन्पोछेलाई विशेष मार्गदर्शन तथा बौद्ध शिक्षादीक्षा दिएका थिए । कर्मा–काग्यु वंशका टुल्कुहरूलाई प्रशिक्षित गर्न उनले आधारभूत पाठ्यक्रम बनाएका छन् ।

रुम्तेकमा १५ वर्ष बिताएपछि सन् १९७६ मा ठाङ्गु रिन्पोछेले काठमाडौं, बौद्धमा ठाङ्गु तासी छोलिङ गुम्बा स्थापना गरे । पछि उनले बौद्ध परम्पराअन्तर्गत ‘खेन्पो डिग्री’ प्रदान गर्न काभ्रेको नमोबुद्धमा ध्यान केन्द्र तथा कलेज सुरु गरे । उनले सन् १९८७ मा बौद्धमा सुरु गरेको मंगलदीप स्कुलमा बालबालिकालाई आधुनिक तथा बौद्ध पद्धतिको शिक्षा दिइँदै आएको छ । उक्त स्कुलमा अहिले ५ सय ३० जना विद्यार्थीले निःशुल्क रूपमा पढ्दै आएका छन् । आनी (भिक्षुणी)हरूका लागि स्वयम्भुमा गुम्बा स्थापना गरिएको छ । बौद्ध, स्वयम्भु, नमोबुद्धलगायत विभिन्न ठाउँमा गरी आठ गुम्बा रहेका छन् । गुम्बाहरूमा ५ सय ५० लामाहरू र २ सय ४० आनीहरू रहेका छन् ।

उनले नेपालको विकट ठाउँमा स्थापना गरेको निःशुल्क चिकित्सा क्लिनिकले बिरामीलाई प्रभावकारी सेवा पु¥याउँदै आएको छ । उनले नमोबुद्धमा ठाङ्गु क्लिनिक सुरु गरेका छन् । बौद्ध परम्पराअनुसार तीनवर्षे गुफा (ध्यान–साधना) का लागि उनले भक्तपुरको सरस्वतीस्थानमा गुम्बा स्थापना गरेका छन् । यसैगरी, मनाङमा पनि आनीहरूलाई तीनवर्षे गुफाका लागि गुम्बा निर्माण भएको छ ।

रिन्पोछेले हालै सारनाथ, भारतमा ठूलो गुम्बा निर्माण कार्य पूरा गरेका छन्, जहाँ बुद्धले चार आर्यसत्यबारे आफ्ना शिष्यहरूलाई शिक्षा दिएका थिए । सोह्रौं कर्मापाको सम्मानमा उक्त गुम्बाको नाम ‘वज्रविद्या’ राखिएको छ । हरेक वर्ष त्यहाँ काग्यु सम्मेलन हुने गर्छ ।

उनी अहिले न्युयोर्क, उडस्टकस्थित कर्मा त्रियाना धर्मचक्रका प्रमुख हुन्, जसलाई उत्तर अमेरिकामा ‘कर्मापा’सरहको उपाधि दिइन्छ । ‘नेपालको लुम्बिनीबाट सुरु भएको बौद्ध धर्म तथा ध्यान पद्धतिप्रति पश्चिमी देशमा आकर्षण बढेको छ । बौद्ध दर्शन विज्ञानसम्मत भएकाले गर्दा पश्चिमी मुलुकका मानिस ध्यानप्रति आकर्षित भएका हुन्,’ उनी भन्छन् । पछिल्लो समय पश्चिमी मुलुकमा ‘डिप्रेसन’का बिरामी बढ्दै गएका र त्यसलाई ठिक पार्ने उत्तम उपाय ‘ध्यान’ रहेको उनको सुझाव छ । व्यक्तिगत, पारिवारिक, सामाजिक, वातावरणीयलगायत विभिन्न समस्याबाट आक्रान्त पश्चिमी मुलुकका मानिसमा बौद्ध शिक्षार ध्यानमार्फत् शान्ति र करुणाको भाव जगाउन सकिने उनको धारणा छ ।
विश्वभर बुद्धको ज्ञान बाँड्दै

सन् १९७६ देखि रिन्पोछेले एसिया तथा पश्चिमी मुलुकमा बुद्धको शिक्षा बाँड्न थालेका हुन् । यही क्रममा उनले सन् १९८१ मा इङ्ल्यान्डको अक्सफोर्डमा ‘ठाङ्गु हाउस’ स्थापना गरे । पछि उनले अमेरिकाको कोलोराडो, क्यालिफोर्निया तथा क्यानडाको भ्यानकोभर, एडमन्टनमा पनि केन्द्र सञ्चालन गरे । विभिन्न ९ देशमा अन्य १४ केन्द्रहरू पनि रहेका छन् । उनले क्यानडाको रिचमन्ड, ब्रिटिश कोलम्बियामा सन् २०१० मा रिन्पोछेले ठाङ्गु गुम्बा निर्माण गरे, जुन क्यानडामा पहिलो बौद्ध गुम्बा हो । यो गुम्बामा सुनको जलपसहितको शाक्यमुनि बुद्धको ६ मिटर अग्लो प्रतिमा निर्माण गरिएको छ, जहाँ रहेको हलमा ५ सय मानिस बस्न सक्छन् ।

बुद्ध जयन्तीलगायत विभिन्न अवसरमा विदेशमा रहेका गुम्बाहरूमा आयोजित कार्यक्रममा हजारौं संख्यामा विदेशीले सहभागिता जनाउँछन् । त्यस्ता अवसरमा रिन्पोछेले मानव जीवन र बौद्ध धर्ममा केन्द्रित रहेर प्रवचन दिने गर्छन् । यसका साथै बौद्ध पद्धतिमा आधारित पूजाआजा, प्रार्थना आदि पनि आयोजना गरिन्छ ।

वातावरणीय प्रदूषण, जलवायु परिवर्तन, संक्रामक रोगको महामारीले विश्वमा डरलाग्दो अवस्था निम्तिएको छ । मानव समाजले सही दिशा लिन नसक्दा आधुनिक विकाससँगै विनाशको डरलाग्दो शृंखला खडा भएको छ । समाजमा सकारात्मक चिन्तनभन्दा पनि नकारात्मक सोच हाबी भएको छ । रिन्पोछेको विचारमा समाजमा शान्ति, सुव्यवस्था, जागरण र चेतनाको विकासका लागि युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ ।
‘संसार हाँक्ने जिम्मा युवाहरूको’

अहिलेको संसार परिवर्तनका लागि मुख्य भूमिका खेल्ने युवाहरू भएकाले उनीहरूलाई सही मार्गदर्शन दिनुपर्ने रिन्पोछेको भनाइ छ । ‘उमेर ढल्किइसकेका बुढापाकाले क्रियाशील भएर काम गर्न सक्दैनन् । त्यसैले संसार हाँक्ने जिम्मेवारी युवाहरूमा छ । उनीहरू जिम्मेवार र जागरुक बन्नुपर्छ,’ उनी अनुभूति सुनाउँछन् ।

देशको शासन व्यवस्था चलाउने अभिभारा पाएमा युवाहरूले राम्रो गर्नसक्ने रिन्पोछेको धारणा छ । ‘देशलाई विकसित बनाउन युवाहरूकै हात हुन्छ । उनीहरूको ज्ञान र सीपले देश राम्रो हुन्छ,’ उनी भन्छन् । स्पष्ट मार्गनिर्देशनको अभावमा कतिपय युवा लागूऔषध सेवन, चोरी–डकैतीको गलत बाटोमा लागेका छन् । ‘उनीहरू बेलैमा सही बाटो देखाउनु जरुरी छ, यसले उनीहरूको मन परिवर्तन भई सिर्जनशील बाटोमा अगाडि बढ्न सक्छन्,’ उनको धारणा छ ।

समाजमा नराम्रो काम मात्र होइन, राम्रो काम गर्ने युवाहरू पनि धेरै छन् । ‘राम्रो काम गर्ने युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ । पत्रपत्रिका, रेडियो, टिभीमा उनीहरूको राम्रो कामलाई प्राथमिकतामा राख्नुपर्छ । उनीहरूका राम्रो कामबारे प्रकाशन वा प्रसारण गर्नुपर्छ,’ उनी भन्छन् । यसबाट अन्य युवाको पनि मन परिवर्तन भई उनीहरू राम्रो काम गर्न उत्प्रेरित हुन्छन् । सही उत्प्रेरणा पाएमा बाटो अलमलिएका युवाहरूले सही बाटो समात्न सक्ने उनको विचार छ ।