Best Online News From Nepal

बाह्रै महिना यसरी तरकारी फलाउँछन् पाल्पाका कृषक

परम्परागत खेती गर्न छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेपछि पाल्ला जिल्लाका युवाले मनग्य आम्दानी लिन थालेका छन् । मुझुङ गाविसका ४० देखि ५० घरपरिबार मकै, भटमास, कोदो, फापर खेती गर्न छाडेर व्यावसायिक रुपमा तरकारी खेती गरी आम्दानी गर्न सफल भएका छन् । वर्षमा मकै र जौ, गहुँ गरी दुई खेती गर्नेले अहिले बारीमा तीन चार पटकसम्म तरकारी उत्पादन गर्न सफल भएका छन् ।

परम्परागत खेती गर्ने घटे पनि व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशबाट फर्केका, प्रहरी, सेना, शिक्षक तथा निजामती सेवाबाट अवकाश पाएका व्यक्ति तरकारी खेतीमा संलग्न छन् । किसानले बारीमा सिमी, बोडी काउली, गोलभेँडा, खुर्सानी, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । मुझुङ गाविस–७ का हुमबहादुर कार्कीले तरकारी बेचेर वार्षिक पाँच देखि सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । मकैमात्र फल्ने बारीमा अहिले उनले बाह्रै महिना तरकारी खेतीबाट आम्दानी गर्न सफल भएका छन् ।

तीन चार महिना पनि खान नपुग्ने बारीमा अहिले तरकारी खेतीबाट एक लाख रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म किसानले आम्दानी गर्दैआएका छन् । उत्पादित तरकारी सदरमुकाम तानसेन, बुटबल र स्थानीय बजारमा खपत हुने गरेको छ । किसान तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी विदेशबाट फर्केका युवा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *