Best Online News From Nepal

फ्रि भिसा फ्रि टिकटपछि : बैदेशिक रोजगार र रेमिट्यान्स घट्यो

बल बहादुर तामाङ, पूर्व अध्यक्ष वैदेशिक रोजगार व्यबसायी संघ  
एक किसिमबाट नेपालमा वैदेशिक रोजगारको अवस्था निकै राम्रोसँग अघि बढेको थियो । धेरै भन्दा धेरै नेपालीहरुले नेपालमै रोजगार पाउन नसकेको अवस्थामा वैदेशिक रोजगारले ठुलै सहयोग गरेको थियो । वैदेशिक रोजगार व्यवसायीहरुले विभिन्न देशमा सम्पर्क गरेर त्यहाँ आवश्यक पर्ने जनशक्ति नेपालबाटै पठाउँदै आएका थिए । केहि समय अगाडि सरकारले जे निर्णय गरेको छ, यो निर्णय पछि वैदेशिक रोजगारमा पहिलेको अवस्था रहने देखिँदैन । यसको प्रभाव तत्काल नदेखिए पनि २ वर्षपछि यसको प्रत्यक्ष प्रभाव देखिने छ । अबका दिनमा मलेसियामा ६० प्रतिशत र अन्य खाडी मुलुकमा ५० प्रतिशत रोजगार नेपालीबाट गुम्ने अवस्था छ । अब नेपालीको ठाउँमा भारत र बंगालका मानिसहरुको संख्या बढ्ने छ । फ्रि टिकट र फ्रि भिसाको पहिलो प्रभाव यो हुने छ ।

प्रत्यक्ष प्रभाव : ट्राभल्स कम्पनिमा पनि 
जब वैदेशिक रोजगारको माग कम आउँछ, आएको मागमा पनि टिकट समेत उतैबाट आउने भएका कारण यहाँ खुलेका थुप्रै ट्राभल्सहरुलाई यसको प्रत्यक्ष प्रभाव पर्ने छ । एउटा नेपाली यूवा वैदेशिक रोजगारमा जाँदा यहाँका होटल, फोटोकपी गर्नेहरुको व्यवसाय, ट्याक्सी चालकको व्यवसाय देखि ट्राभल्स र हवाई जहाजसम्मले काम पाएको अवस्था थियो । हामीले नेपालमै जब रोजगार सृजना गर्न सकेका छैनौं भने वैदेशिक रोजगार पनि नहुँदा यसले अर्थतन्त्रको ‘रोटेशनमा’ धेरै ठुलो असर पार्छ । हाम्रो मुलुकमा आयातमुखी अर्थतन्त्र बढेको छ । वैदेशिक व्यापार घाटा धेरै गुणाले बढेको बढ्यै छ । रेमिट्यान्सको माध्यमबाट त्यसलाई सहजीकरण भएको थियो । तर अबका दिनमा रेमिट्यान्स धेरै कम हुन्छ । संसारभरी नाफाका लागि नै प्राइभेट कम्पनी खोलिएका हुन्छन् । यस अर्थ अबका दिनमा विगतमा जस्तो सजिलै र धेरै संख्यामा नेपालीको वैदेशिक रोजगार रहँदैन । जव रोजगारदाता कम्पनिले डिमान्ड नै गर्दैन, नेपालीहरु वैदेशिक रोजगारमा सजिलै जान सक्दैनन् । विदेश जानेको संख्या घटेसँगै त्यही अनुपातमा रेमिट्यान्स पनि स्वतः घट्छ ।
दिर्घकालीन असर 
झट्ट हेर्दा सरकारले गरेको निर्णय राम्रो देखिन्छ । भिसाको हकमा फ्रि भिसा आवश्यकता हो, त्यसका लागि हामीले पनि पहल गरिरहेका थियौं । अर्को कुरा फ्रि टिकटको जुन कुरा छ, फ्रि टिकटको ठाउँमा टिकटको पैसा भित्राउने काम गरेको भए राम्रो हुन्थ्यो । तर सिधै उतैबाट टिकट आउने कामले  विदेशी जहाज र विदेशी टिकट हाम्रो पहुँच भन्दा बाहिरको कुरा हुन्छ । जसका कारणले टिकट निशुल्क पठाइदिने झण्झट र खर्च व्यहोर्न भन्दा  भारत, बंगलादेश वा अरु मुलुकका नागरिकलाई उनीहरुले आफ्नो देशमा लैजान्छन् ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *