Best Online News From Nepal

फर्केर हेर्दा : तिलकप्रसाद लुइटेल

२५ असोज २०७५, काठमाण्डौ

विक्रम संवत् २०१९ सालमा तेह्रथुममा जन्मिनुभएका तिलकप्रसाद लुइटेल अनुवादक,लेखक र भाषा सम्पादकको रुपमा परिचित हुुनुहुन्छ । पिता छविलाल लुइटेल तथा माता मनमाया लुइटेलको आठ सन्तानमध्ये सातौँ सन्तानको रुपमा जन्मनुभएका लुइटेलले चारवटै वेद, चाणक्यनीति, शुक्रनीति, पञ्चतन्त्र, कौटिल्यको अर्थशास्त्र, अग्निपुराण, गरुड पुराण, लगायतका ३० वटा बढी संस्कृतका ग्रन्थहरुको नेपालीमा अनुवाद गर्नुभएको छ । साथै २५ वर्षभन्दा बढी शिक्षण पेसामा आबद्ध रहनुभएका लुइटेलले हामीसँगको भेटमा आफ्नो जीवनलाई फर्केर हेर्ने प्रयत्न गर्नुभयो ।हामीले उहाँकै शब्दमा उतारेका छौँ । 

आफ्नै बाटो हिँड्दा

मैले सम्झिँदा हाम्रोे बसोबास भारतको पूर्वी प्रान्त आसाममा थियो । जेठी दिदीको बिहे भइसकेको थियो । माइली दिदीको बिहे भएको अलिअलि सम्भना छ । त्यस बेला दरङ जिल्ला र हालको शोणितपुर जिल्लामा रहेको बकाइना पथार नामको हाम्रो गाउँ ब्रह्मपुत्र नदीले लग्यो । हाम्रो घरबारीको पल्लो छेउ अलिकति चाहिँ अझै पनि बाँकी छ ।

सम्भवतः सानैदेखि मेरो स्वभाव नै आफूलाई मन परेको कुरो अरुलाई सुनाउने तर अरुसँग धेरै कुराकानीको सोधखोज नगर्ने रहेछ । त्यही भएर म कहाँ जन्मेको हुँ, हामी आठ जना दिदीबहिनी दाजुभाइ कोको कहाँ कहाँ जन्मियौँ र हाम्रा बाआमा कुनकुन ठाउँमा बसाईं सर्नुभयो भन्ने मैले सोधखोज गरिनँ ।

बितिसकेका कुरा अरुसँग सोधखोज नगर्दा के हानि भयो त्यो मलाई थाहा छैन तर विगतले लखेटेर मन खिन्न भएको छैन, यो मेरा लागि लाभदायक पक्ष नै हो । हामी सबै तेह्रथुममा जन्मेका हौँ भन्ने बिस्तारै हामीलाई थाहा भएको हो । अहिले कान्छी दिदीको बरखी फुकेको छैन । बाँकी सात जना सबै कुशल छौँ ।

सायद पहाडघर तेह्रथुममा ८ वटा बालबच्चा पालन पोषण र पढाइ लेखाइ गर्न सहज नभएकाले बाआमा आसाम झर्नुभएको थियो । आसाममा हाम्रो थोरै खेतबारी, केही गाइभैँसी हुन्थे । बा कर्मकाण्ड पनि गर्नुहुन्थ्यो, अलिअलि जजमान थिए । घरको आर्थिक अवस्था कमजोर भए पनि बसोबासको स्थायित्व र बसाइँ सरिराख्नु झन्झट सकिएपछि मैले पढ्ने अवसर पाएको रहेछु ।

त्यस बेला प्राथमिक तहमा ‘क मान’ र ‘ख मान’ नामका दुईवटा शिशु कक्षा पढेपछि ‘ग मान’, ‘घ मान’ पढाइ नभएर ‘प्रथम मान’, ‘द्वितीय मान’, ‘तृतीय मान’ भनेर कक्षाको नामकरण थियो । चार कक्षादेखि अङ्ग्रेजी वर्णमाला पनि सुरु गरिन्थ्यो । त्यसैले चार कक्षादेखि पछिका कक्षालाई ‘चतुर्थ मान’, ‘पञ्चम मान’ अलिक थोरैले र ‘क्लास फोर’, ‘क्लास फाइभ’ अलिक धेरैले भन्दथे । मेरो र कान्छी दिदीको नाम ‘क मान’ मा सँगै लेखाइयो । भाइ कान्छाको नाम अलिक पछि लेखाइयो । मैले पनि हाम्रै बकाइना पथार प्राथमिक विद्यालयमा ‘क मान’, ‘ख मान’ गर्दै तीन कक्षासम्म पढेँ ।

आसामको पढाइको माध्यम भाषा असमीया नै थियो । नेपालीहरुको गाउँबस्तीमा घरायसी बोलचाल, चाडपर्व, संस्कार संस्कृति सबै नेपाली नै हुन्छ । किनभने नेपाली गाउँबस्तीमा पुग्दा आज पनि हामी नेपालभित्रै छौँ जस्तो भान हुने खालको स्थिति छ । त्यसैले नेपालीका छोराछोरी अक्षर चिन्ने वा सामान्य लेखपढ गर्न सक्ने हुँदा दुई भाषामा बोलचाल गर्न सक्ने हुन्छन् । मेरा विषयमा पनि कुरो उस्तै हो । हाम्रो बकाइना पथार नेपाली गाउँ नै हो ।

गिट्टी छापेको मोटरबाटो छोडेर दक्षिणपूर्व लाग्ने कच्ची बाटाका दुवैतिर लहरै नेपालीहरुका ६०–७० घर त्यस गाउँमा थिए । बकाइना पथार पस्नका लागि जुन मोटरबाटो छोड्नुपर्थ्यो त्यसका दुवैतिर लहरै कछारीहरुको गाउँ छ । एकातिर कछारी गाउँ, अर्कातिर नेपालीको थालनी हुने चोकमा एक जना बिहारीको पसल थियो । ती बिहारीको जेठो छोरो मेरै उमेरको थियो । अरु केटाकेटी अझ ससाना थिए । हामी एउटै स्कुलमा पढ्थ्यौँ । उनीहरुको घरमा घरायसी भाषा बिहारीमै बोलचाल गर्थे ।

पसलबाट एकातिर सबै कछारीहरु । उनीहरुका केटाकेटी खेल्न जम्मा हुने ठाउँ पनि त्यही तीनदोबाटो । त्यसैले ती बिहारीका छोराछोरीले कछारी भाषा बोल्दा कछारी नै जस्ता लाग्दथे । अर्कातिर नेपाली गाउँ र बिहारीका छोराछोरी पढ्न जाने स्कुल पनि नेपाली गाउँमै, नेपालीकै छोराछोरीहरुका बीचमा । नेपाली भाषा बोल्दा उनीहरु नेपालीले नै बोले जस्तै बोल्दथे । पढाइको माध्यम भाषा असमीया हुनाले सबैले सरह असमीया पनि उनीहरुले नबोल्ने कुरै भएन । ती बिहारी बालबालिकाहरुका लागि चारवटा भाषा समान थिए । उनीहरु चारै भाषामा उस्तै थिए । भाषाविज्ञानले यस्तो अवस्थालाई कसरी हेर्छ र के भनेर वर्गीकरण गर्छ त्यसतर्फ लागिएन ।

त्यस बेला बिहारी बाहेक अरु भाषा त म पनि बोलचाल उसरी नै गर्थें र असमीया अहिले पनि राम्ररी पढ्न र बोल्न सक्छु । बोलचालको परिवेश प्राप्त भएपछि भाषा सिक्न खासै मिहिनेत गर्नु पर्दैन, बोलचालको माहोल बनेको छैन भने सैद्धान्तिक रुपमा सिकेका भाषाले व्यावहारिक रुपमा उति सहयोग हुँदैन । तृतीय मानसम्म बकाइना पथारको प्राथमिक स्कुल पढेपछि ‘क्लास फोर’, ‘क्लास फाइभ’ पढ्नका लागि बडगाउँ प्रजापति हाइस्कुलमा जानुपर्ने भयो । पाँच किलोमिटर टाढा छ । तेलियागाउँ हाईस्कुल अलिक नजिकै पर्थ्यो । त्यसै वर्ष त्यो स्कुल प्रजापति हाइस्कुल नामकरण गरी बडगाउँ सारियो ।

तेलियागाउँ भनेको गाउँको नाम हो र स्कुलको नाम पनि गाउँकै नाममा थियो । प्रजापति रिजाल नामका एक जना दिवङ्गत स्थानीय समाजसेवीको आफन्तले अझ फराकिलो र धेरैलाई पायक पर्ने ठाउँमा स्कुल सार्नमा विशेष सहयोग गरे । सम्भवतः ठुलो आर्थिक सहयोग पनि गरेका हुनाले उनै समाजसेवीको नाम त्यस स्कुलले पाएको हो । निकै लामो बाटो । बिहान जाँदा पनि हिँडेरै, फर्कंदा पनि हिँडेरै । किताबकपीको अलिकति भारी बोकेर आवज जावत गर्न जति गारो थियो, त्योभन्दा गारो लाग्ने कुरो अर्को थियो ।

लामो बाटो हुनाले धेरै जसो विद्यार्थी साइकलमा आउने जाने गर्दथे । मसँग साइकल थिएन । साइकल किन्नु भनेको हाम्रा परिवारका लागि आँट गर्नै नसकिने कुरो थियो । मिलेसम्म पढ्ने किताब पनि अघिल्लो वर्ष कक्षा उत्तीर्ण भएका अग्रजहरुबाट सहुलियत मूल्यमा ल्याएर काम चलाउन चनाखो हुँदै खोजी गर्नुपर्थ्यो । लगाउने लुगाको कुरो गर्दा घर बस्ने पुराना लुगा अरु नै थिए भने स्कुल जानका लागि स्कुलको पोसाक सेतो सर्ट र खाकी (खैरो रङको) हाफ पाइन्ट एक जोर किनिएको थियो । मैलो भयो वा झरीले भिज्यो भने बेलुका घर पुगेर हतार हतार धुने र बिहानसम्ममा सुक्ने सुकाउने व्यवस्था गर्नुपर्थ्यो । नसुकेका लुगा आगाको छेउमा सुकाउने हुँदा धुवाँ लागेर झन् मैले देखिने, धुवाँ गन्हाउने हुँदा साथीहरुका बीचमा आफ्नो मन खिन्न नै हुन्थ्यो । महँगो खालका कलम, पेन्सिल खासै जुटाउन सकिएन ।

बेला बखत किनिहालियो भने पनि आफू उति चनाखो नभएर हो कि किन हो बेलुका घरमा आइपुग्दासम्म हराएकै हुन्थ्यो । दसैँमा नयाँ लुगा किन्दा स्कुलकै ड्रेस एक जोर थपियो र लुगाले अलिक सजिलो भयो । केटाकेटी उमेरमा आफू आर्थिक कमजोर छु भन्ने खिन्नताले मनलाई अति नै प्रभाव पा¥यो । त्यसले गर्दा कक्षामा पढाइको जसरी स्तर खस्केको थियो, उसरी नै पढाइमा हेल्चेक्रयाइँ गर्नेका सजायको स्तर माथि उक्लेको थियो । राम्ररी पढ्दैन भन्ने प्रसिद्धि स्कुलमा घरमा उत्तिकै थियो ।

घरमा सकेसम्मको व्यवस्था दिइएकै छ, स्कुलमा पास हुन पनि दया गरिएकै छ । यति हुँदा पनि नपढ्नु त बदमासी नै हो । आफ्नो मानसिक हीनताबोध आफैँ नभनेपछि अरुले कसरी जान्नु ? कक्षा चारबाट पाँचमा जाँदा ३०–३२ जनाको समूहमा दोस्रो भएको थिएँ भने कक्षा पाँचबाट छमा जाँदा दयाकृपाले उत्तीर्ण भएको थिएँ ।

उस बेला मनको कुरो भनेर बुझाउन सक्ने सामर्थ्य पनि थिएन । जति जति दिन बित्दै गए उति उति खिन्नता र हीनता मनमा थपिँदै गयो । मनमनै कुँजिएर कक्षा चार, पाँच र छ को आधाआधी पढेपछि मलाई स्कुल जाने जोस जाँगर पटक्कै रहेन । आखिरमा मैले स्कुल जान छोडेँ । पढाइ नछोड्का लागि शिक्षाको महत्त्व दर्साउने प्रयास धेरै भए तर पनि मनको हतोत्साह मेटाउने काम भएनछ भन्ने अहिले अनुभव गर्दछु । बालबालिकालाई मनोबल बढाउने र आफूलाई अरुसँग तुलना गरी हतोत्साही हुन लाग्दा जोगाउने परिवेशको समाजमा अभाव रहेछ भन्ने मलाई अहिले पनि लागेकै छ ।

घरमा खेतीपाती र गाईवस्तुको काममा सघाउ गर्दा आर्थिक अवस्था सुधार हुन्छ भन्ने मलाई लागेको थियो । लगभग १४ वर्षको हुँदो हुँ, मैले पढाइ छोडेँ । स्कुल गइनँ । मैले सघाउ लाग्दा पनि घरको आर्थिक अवस्थामा खासै केही परिवर्तन आएन । आजभोलि गर्दै चार वर्ष बिते । विगतमा सबैको सरह ठाँटमा स्कुल जान नपाएको पीडामाथि अर्को असन्तोष थपियो । ती साथीहरु कलेज पढ्ने भए आफू हलीगोठालो नै रहियो । उनीहरुको र मेरो बोलचालको स्तर नै फरक भयो, कुरा गर्ने विषयवस्तु नै भिन्न भए । मैले विगतमा लिएको हीनताबोध व्यर्थ रहेछ भन्ने आफ्नै मनले ठम्यायो । अब म पढ्छु भन्ने विचारले घरमा कुरा गरेँ । मैले पढ्छु भनेको सुन्दा आमाबा खुसी हुनुभयो । म आफूभन्दा धेरै कान्छो उमेरका भाइबहिनीसँग पढ्न उसै स्कुलमा जाने मानसिक तयारीमा थिएँ । बाले संस्कृत शिक्षा पढ्दा राम्रो हुन्छ । भागवत पुराण भन्न सक्नुपर्छ । ज्योतिष हेर्न सक्नुपर्छ भन्ने सल्लाह दिनुभयो ।

संस्कृतकै किताब पढेर गणेश मुसामा चढिहिँड्छन्, भगवानका चार हात छन्, ब्रह्माका चार टाउका हुन्छन्, लक्ष्मी कमलको फूलमाथि बस्छिन् दैत्यले पृथ्वीलाई समुद्रमा डुबायो भनेका जस्ता कथा सुनेको र फोटोहरुमा देखेको थिएँ । पटक्कै पत्यार लाग्दैनथ्यो । कहिलेकाहीँ कुरा गर्न खोज्दा ठुलाबडा जान्नेहरुले कुरो नसुनीकन हप्काएर जित्दथे । म ती कथामा र चित्रमा जताततै शङ्का र प्रश्न देख्थेँ । अब तिनको उत्तर के रहेछ भन्ने जान्न पाइने भयो भन्ने लाग्यो र बाको सुझाव उचित लाग्यो । हरिद्वार जाने तयारीमा लागियो । नभन्दै मानिसलाई कुरा गरेर चित्त बुझाउन त गारो हुन्छ तर ती माथि बताइएका सन्देहास्पद कुराहरुको म आफूलाई उचित लाग्ने उत्तर मैले पाएको छु । समय मिलेका बेला त्यसको चर्चा गरौँला । अब मैले संस्कृत शिक्षाका लागि पाइला अघि बढाएँ ।

मैले घर छोडेर हिँड्दा आसामको हाम्रो गाउँमा हरियाली भरपूर थियो । बाटाका लहरै घरहरु मिलेका थिए । एक घरपरिवारसँग अर्काको घनिष्ठ सम्बन्ध थियो । गाउँ सुरम्य थियो भन्ने बयान गर्न कवि कल्पना नै चाहिन्छ । बोलचालमा सहज हुँदैन । ब्रह्मपुत्र नदीमा पुग्न हाम्रा गाउँबाट डेढ घन्टा जति हिँड्नुपथ्यो । आठवटा छोराछोरी जन्माई हुर्काई गर्नुहुने हाम्री आमा बेलाबखत बिरामी पनि निकै सारो हुने गर्नुहुन्थ्यो । त्यति हुँदा पनि अनुहार चम्किलो नै देखिन्थ्यो ।

म एक दुई दिनमा हिँड्न तयार भएको प्रसङ्ग उठाउँदै आमाले मसँग कुराकानी गर्नुभयो । धेरैतिर गुन्टाकुम्ला र केटाकेटी ओसारपसार गर्दा गर्दै अब त टुङ्गो लागियो होला जस्तो लागेको थियो । दाजुको र दिदीहरुको बिहे गर्ने काम पनि जसै तसै पार लगाइयो । अब तैँले पनि घर छोडेर हिँड्ने मन गरिस् । मलाई यस ठाउँमा बस्न मन लाग्न छोड्यो । अब आफ्नै देश फर्किने मन छ । त्यसपछि म हरिद्वारतर्फ लागेँ । मेरो त्यहाँ अध्ययनकै बीचमा हामी नेपाल फर्कियौँ ।

आर्थिक अवस्था सम्पन्न नभएपछि अभावसँग जुझ्नुपर्ने स्वाभाविक नै हो । हामीले पढ्ने गरेका समयमा संस्कृत शिक्षालाई पुरानो, काम नलाग्ने, म्याद सकिएको, अवैज्ञानिक, पाठपूजाको शिक्षा भनेर अलिक हेय रुपमा हेर्ने चलन पनि थियो । त्यसैले संस्कृत मात्रै पढेर हुँदैन आधुनिक शिक्षा पनि पढ्नुपर्छ भन्ने लागेर मैले कलेज पनि पढ्न थालेको थिएँ । कलेजमा पढ्नेहरु पाइन्ट लगाउँछन्, झगडा गर्छन् भन्ने जस्ता कुराले गर्दा मठमन्दिर, आश्रममा बस्ने ठाउँ पाउन पनि गारो भयो । कहिले खाने बस्ने ठाउँको ठेगान भएन, कहिले अन्नक्षेत्रहरुमा एक छाक खाने व्यवस्था गरिमागेर भए पनि उस बेलाको सुखदुःख टरेको थियो ।

पढाइमा एकाग्रता हुनाले लगाउने लुगा, जुत्ता जस्ता कुरा किन्नका लागि पैसाको व्यवस्था गर्न पनि सकिएन । काम चलाउ तरिकाले नै जीवन चलेको थियो । मैले कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नयाँ जुत्ता किनेर लगाएको हुँ । पहिलोपटक घर आउँदा शास्त्री अर्थात् स्नातक तहको परीक्षा दिइसकेको थिएँ । त्यस बेला पन्जाबमा दुई महिना फलाम उद्योगको सुरक्षा गार्डको काम गरेर भाडा जुटाएर घरमा आएको थिएँ ।

तत्पश्चात २०४६ सालमा अध्ययन सकेर नेपाल आएँ । झापाबाट काठमाडौँ आइपुग्दा मसँग साथमा १५० रुपैँया खल्तीमा बचेको थियो । नेपाल आएर पहिले झन्डै दुई वर्ष जति नुवाकोट जिल्लामा शिक्षण गरेँ । त्यहाँबाट काठमाडौँ आई निजी विद्यालयहरुमा शिक्षण गर्दै, नेपाली विषयमा स्नातकोत्तर गर्दै आफ्नो पारिवारिक जीवन पनि सुरु गरेको हुँ । निजी विद्यालयको शिक्षण झन्डै २५ वर्ष जति गरिएछ । वि.सं. २०६६ सालतिर साथीभाइ मिलेर विद्यालय चलाउने प्रयास पनि गरेको थिएँ । पछि विद्यालयमा लगानी गरेको रकम फिर्ता लिएँ । केही समय अघिसम्म आंशिक रुपमा एक दुई घन्टी पढाउने काम गर्दै थिएँ ।

हाल शिक्षणको काम पूर्ण रुपमा छोडिसकेको छु । आफ्नो श्रम, सिप, लगनशीलता, आफन्त, इष्टमित्र, साथीभाइ आदि सबैको सहयोगमा आज आफ्नै छानोमुनि श्रीमती र छोरो साथमा बसेर दुःखसुख निर्वाह चल्दै छ । यसै क्रममा अनुवाद, लेखन, सम्पादनका काममा पनि संलग्न रहँदै आउँदा तल सूचीमा दिइए अनुसारका कृतिहरु आफ्ना तर्फबाट तयारी भएका हुन् । संस्कृतका ग्रन्थ अध्ययन गर्ने, अनुसन्धानगर्ने र त्यसलाई पुस्तकको रुपमा बाहिर ल्याउने काममा व्यस्त नै रहन्छु ।

 

कृति सूची : (१) चाणक्यनीति (अनुवाद), (२) मनुस्मृति, (३) हिन्दुजातिको उत्थान र पतन, (४) पञ्चतन्त्र, (५) ऋग्वेद, (६) यजुर्वेद, (७) सामवेद, (८) अथर्ववेद, (९) छान्दोग्य उपनिषद्, (१०) विदुरनीति, (११) हिटलरको आत्मकथा, (१२) माओ त्सेतुङको जीवनी, (१३) जवाहरलाल नेहरुका छानिएका वक्तव्य, (१४) अग्निपुराण, (१५) गरुड पुराण, (१६) ऋग्वेदको प्रामाणिक अनुवाद, (१७) भागवत मञ्जरी, (२०) हाम्रो वर्तमानमा चाणक्यका सिद्धान्त, (२१) दुर्गासप्तशती, (२२) चाणक्य उपन्यास, (२३) चारवेदको सार, (२४) चाणक्यनीति, (२५) पञ्चतन्त्र नीतिसार, (२६) श्रीमद्भागतमहापुराण आदि ।

संलग्नता

साहित्यिक संस्थाहरु कैयौँमा आजीवन सदस्यता रहेको छ भने हेड्स नेपाल नामको गैरसरकारी सामाजिक संस्थामा उपाध्यक्षका रुपमा क्रियाशील छु । यस संस्थाको नीतिवाक्य नै ‘दिलो ज्यानले मानव समुदायको सेवा गरौँ’ भन्ने हो । देशभित्र झन्डै सबै जिल्ला र वैदेशिक रोजागारमा अनेकौँ मुलुकमा गरी विभिन्न स्तरका सदस्यहरुको कुल सङ्ख्या झन्डै साठी हजार रहेको यस संस्थाले नेपाली जनताबाट सङ्कलन गरिएको दैनिक एक रुपैयाँको सहयोगले आफ्नो नाम अनुसार नै स्वास्थ्य, शिक्षा, कृषि, विकास र सामाजिक क्षेत्रमा २६ वर्षदेखि सहयोग पुर्याउँदै आएको छ । यस संस्थाको केन्द्रीय कार्यालय वनस्थली चोकमा छ ।

त्यसै गरी अर्को महत्त्वपूर्ण संलग्नता रहेको अभियान हो जरोकिलो । २०७२ सालको घटस्थापनाका दिन डाक्टर निर्मलमणि अधिकारीले सङ्कल्प गरेर थालनी गरेको यस अभियानका पनि हालसम्म सातै प्रदेशमा आआफ्नो प्रदेश समिति निर्माण भइसकेको छ । स्वदेशी रैथाने ज्ञानविज्ञान, श्रमसिप एवं स्रोतसाधनलाई प्रयोग गरी आफ्ना समाजको परिवर्तन गर्न सकिन्छ र यसरी गरेका कार्यबाट नै विश्वमा मान्यता स्थापित गर्न सकिन्छ भन्ने यस अभियानको मान्यता हो ।

परमुखापेक्षी बन्नुभन्दा स्वक्रियात्मक बनौँ । आफ्ना पुर्खाले आर्जन गरेको ज्ञानसिपलाई उपयोग गर्न सक्नु नै पुर्खाप्रतिको सम्मान हो । पराई प्रतिमान अपनाउनु भनेको आफ्ना गौरवशाली पितापुर्खाको योगदान प्रति उदासीन हुनु हो । आफ्नो पुर्खाप्रति उदासीन रहेर अर्काको गुणगान गर्नाले आफ्नो उन्नति हुँदैन । आफ्नो उन्नति गर्न आफ्नै ज्ञानलाई स्थितिगत्यात्मक रुपमा अघि सार्नुपर्छ भन्ने रहेको छ ।

भाषा अनुवादकको रुपमा निरन्तर क्रियाशिल रहनुभएका तिलकप्रसाद लुइटेलको आगामी जीवन फलदायी रहोस् हाम्रो पनि शुभकामना ।