Best Online News From Nepal

प्राचीन गुरुकुल सम्बन्धी काम वर्तमानमा गर्दा यस्तो सोच आउँदो रहेछ

DrLaxmi Prasad Khatiwada—-

प्राचीन गुरुकुल सम्बन्धी काम वर्तमानमा गर्दा यस्तो सोच आउँदो रहेछ ।
१ कैलाश मानसरोवरदेखि पश्चिम सिन्धु नदी र कैलाश मानसरोवरदेखि पूर्वमा चाइनामा यार्लुङसाङ्पो र भारत आएपछि ब्रह्मपुत्र भनिने नदीका बीचको भूभागमा अध्ययन अध्यापन गर्ने गराउने स्कुल कलेजका रुपमा प्राचीन गुरुकुल, तपस्थली र परिषदको चलन थियो ।
२ गुरुकुलको माध्यम भाषा ज्यादाजसो संस्कृत र पाली हुने गर्थ्यो । उत्तर कुरु, उत्तर माद्रमा त पाली र केही पश्चिमी भागमा अरामाइक पनि हुने गर्दथ्यो ।
३ तक्षशिला गुरुकुलमा ईस्वीपूर्व ३२७ मा संस्कृत, पाली, अरामाइकमा पढाइ हुन्थ्यो भनिएको छ । वि के चतुर्वेदीले तक्षशिलालाई संस्कृत, पाली, अरामाइक र केही मात्रामा ग्रीकको पनि भाषाको केन्द्र मानेका छन् ।
४ गुरुकुलीय परम्परा अनुसार वैदिक सनातनीहरू (आर्यत्व ग्रहण गर्ने सबै जातजाति) धार्मिक तथा साँस्कृतिक पर्व ऋषितर्पणी पूर्णिमा, जनै पूर्णिमा अथवा श्रावणी पूर्णीमाका दिन कुलग्राममा उपलब्ध गुरुकुलका गुरुबाट वेदउपकर्म, अध्यायउपकर्म वा वेदारम्भ कर्म गरी मनाउने चलन थियो ।
५ यस भूभागका प्राय सबै जनजाति, जातजाति कुनै न कुनै रुपमा यस पूर्णिमालाई, क्वाँटी नखः या अन्य अन्य नाम (र सौर्यचान्द्र पात्रो अनुसार अन्य औँशी पूर्णिमालाई पनि) आआफ्ना रैथाने चाडका रुपमा मनाउने गर्छन् ।
६ श्रावण पूर्णिमालाई वंशपरम्परा अविच्छिन्न राखेका वैदिक ब्राह्मण (डिएनए नमिसिएको मानिस?) गुरु थापेर वेदवेदाङ्ग थाल्ने गरिन्छ । आजसम्म पनि विभिन्न मठमन्दिरमा वेदपाठ गर्ने गराउने चलन कायमै छ । यसै दिन यज्ञोपवित वा जनै लाउनेले जनै र जनै नलगाउनेले हातमा रक्षाबन्धन बाँध्ने चलन थियो ।
७ स्मरण रहोस् आज जनै र रक्षाबन्धन एकै थरिले मात्र लगाउने चलन छ ।
८ आआफ्नो वंशपरम्पराको गोत्र, प्रवर अनुसार आआफ्ना ऋषिगणहरूको नाम सम्झेर ऋषिलाई तर्पण दिने चलन आजसम्म पनि चलिरहेको छ ।
९ महर्षि याज्ञवल्क्यले गुरु आदित्य वा सूर्यबाट वेद ग्रहण गरेको दिन पनि श्रावणी पूर्णिमा कै दिन मानिएको छ । गुरुकुल परम्परमा त यस दिनलाई वेदजयन्ती पनि भन्ने गरेको पाइन्छ ।
१० संस्कृत र पाली सवर्गीय भाषा हुन् । यी भाषामा हामी सबैको इतिहास लेखिएको छ । हाम्रो उत्पत्ति, हाम्रा कुल परम्परा, हाम्रा पुर्खाले सिकेको सीप, हाम्रा पुर्खाले गरेको कृषिकर्म, कलाकर्म, धातुकर्म आदि सबै ज्ञानको फेद संस्कृत र पाली हो । पाली बुझ्न पनि संस्कृतको आवश्यकता पर्छ ।
११ हामी क्षेत्री बाहुन, दलित भनिएका शिल्पी समुदाय जस्तै विश्कर्मा, परियार आदि, राई लिम्बू, नेवार, शेर्पा, तामाङ, मगर, थामी, यादव, झा,चौधरी, शाक्य, सिंह, ठकुरी, साम्बोटी, ह्योल्मो, बोटे, दरै सबै सबै जातजातिको इतिहास खोज्दै जाँदा संस्कृत र पालीसम्म पुग्नै पर्छ । अत: संस्कृत, पाली र अन्य ऐतिहासिक भाषाको संवर्धन, संरक्षण गर्नु हामी सबैको कर्तब्य हो ।
१२ यस दिनलाई संस्कृत दिवस मनाउँदा संस्कृतको ज्ञान उधिन्दै अन्य भाषा, समुदायको पनि इतिहास केलाउन सहयोग पुग्ने निश्चित छ ।
१३ ऋषितर्पणी पूर्णिमाका दिनलाई संस्कृत दिवस मनाउँदा कसो होला ?