Best Online News From Nepal

प्रधानमन्त्री ओलीको दावी उपलब्धिमूलक

काठमाडौँ, २५ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी फर्किएका छन् । आइतबार बेलुकी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको दावी गरे ।

उनले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको जानकारी गराए । यस्तै निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्या्दित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने वर्तमान सरकारको नीति रहेको बताए ।

उनले भने,‘यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग मेरो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भयो ।’

‘नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीनवटा अलगअलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ’, उनले भने ।
विषयगत रुपमा ऊर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने बारेमा दुवै पक्षबीच सहमति भएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीलाई स्वागत गर्न पुगे नेतादेखि कर्मचारीसम्म
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको तर्फबाट भ्रमणबारे जारी गरिएको विज्ञप्ति परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वाचन गरेका थियो । पत्रकार सम्मेलनमा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलगायत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गरेका थिए ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि यही चैत २३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली गएका थिए ।

 टनकपुरमा नहर नबनेको कुरा ध्यानाकर्षण गराए
पुराना विषय– सिमा विवाद, डुवान आदी कुराहरुको सम्बन्धमा गम्भीरताका साथ कुरा उठाएका छौं । सकेसम्म कसरी छिटो डुवानको समस्या समाधान गर्न सक्छौं भन्ने कुरा आएको छ । पञ्चेश्वर परियोजनाका सन्दर्भमा टनकपुरमा १ दशमलब ३ किमी नहर नबनेको कुराले परेको नकारात्मक असरका बारेमा ध्यानाकर्षण गराएका छौं । उहाँहरुले छिट्टै काम अघि बढाउने भनेर म दिल्लीमा छँदै तल निर्देशन जारी गर्नुभएछ । आईतबार उत्तराखण्ड जाँदा कतिपय कुरा उत्तराखण्ड सरकारलाई केन्द्रबाट निर्देशन आइसकेको मुख्यमन्त्रीले जानकारी दिए । कतिओटा कुरा हामीले उठायौं भन्नका लागि होइन, हामी समस्या सम्बादका माध्यमबाट समाधान गर्न चाहान्छौ । सम्बन्धका विभिन्न पक्षहरुमा जहाँ छलफल र निष्कर्ष आवश्यक छ, ती सन्दर्भहरुमा हामीले कुरा गरेका छौं । क्रश बोर्डर क्राइम, ह्युमन ट्राफिकिङका कुरा भएको छ । म आश्वस्त पार्छु, तमाम कुरा उठेका छन्, सकारात्मक कुरा भएको छ । जुन कुराहरु लिखित रुपमा आएको छ, त्यसलाई त्यसैगरी अघि बढाएका छौं । जुन कुरा लिखित आउन बाँकी छ, त्यसलाई उछाल्ने होइन समाधान खोज्ने दिशामा गम्भीर वार्तामा लागेका छौं । अबको बाटो गम्भीर वार्ताको हो ।

व्यापार घाटामा छलफल
प्रधानमन्त्री ओलीले भारतसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्ने, उर्जा व्यापारका लागि इनर्जी बैंक स्थापना गर्नेलगायतका विषयमा पनि कुराकानी भएको जानकारी दिए । ा उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन, पञ्चेश्वर परियोजना अघि बढाउन विस्तृत प्रतिवेदन प्राथमिकताका साथ अनुमोदन गर्ने, महाकाली सन्धीअनुसार नेपालले पाउने सिंचाई सुविधाका लागि पूर्वाधार निर्माण गर्न थप पहल गर्ने विषयमा कुराकानी भएको उनले बताए । त्यस्तै, भूकम्पपछिको पुननिर्माणका लागि भारतको सहुलीयत ऋणका लागि थप पहल गर्ने, व्यापार घाटा क मगर्न द्धिपक्षीय छलफल गर्दै जाने । १९९६ को व्यापार सन्धीको प्रावधान प्रष्ट पार्दै व्यापार घाटा दीर्घकालीन सम्झौता छलफल गर्ने । थप हवाई प्रवेशद्धार उपलब्ध गराउने , नेपाली ग्यास बुलेट संचालनका लागि सहजिकरण गर्नेलगायतका विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीको दाबी थियो ।

Source: रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *