Best Online News From Nepal

प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रता माथि समेत खतरा देखिन थाल्यो-पुर्व राजाको खुलासा सहित सन्देश नया सालमा

Former King Gyanendra Shah speaking
Former King Gyanendra Shah speaking

पुर्व

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट #नववर्ष२०७४ को सुखद उपलक्ष्यमा बक्सेको शुभकामना सन्देश ।। 🌹✡✡✡🌹
नेपाली दिदी वहिनी तथा दाजू भाइहरु, विक्रम सम्वत् २०७४ को शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेबसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना प्रदान गर्दछु। अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानू समयको माग हो। विगत ११ वर्ष के कसरी बिते? यो अवधिमा के के भए? यस अवधिमा तमाम नेपाली दिदी बहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो। २०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसँग बनेको सहमति अनुसार संसद पुनर्स्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र संवृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौँ। संसद पुनर्स्थापना पछि पूर्व सहमति प्रतिकूल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दुमा राखी मौनतापूर्वकसाथ दिएका हौं। यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ। जनताको चाहना बमोजिम शान्ति, स्थिरता र संवृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको छ। हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनूरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको छ। सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकूल व्याकूल बन्न पुगेको छ। यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको छ। राष्ट्र सम्वृद्ध बनाउनमा मुख्य योगदान पुर्‍याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको छ। महाभूकम्प र बाढीपहिरोको कारण आवास विहीन हुन पुगेका जनतालाई अनुभूत हुने स्तरको सहारा दिने कार्य हुन सकेको छैन। राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीति केन्द्रित हुन पुगेको देखिन्छ। राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्ततः देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको छ। नव वर्ष २०७४ मा हामी चाहन्छौँ- शान्त, सम्वृद्ध, सुरक्षित, सवल एवं अखण्ड नेपाल। गरीवी एवं अभाव मुक्त नेपाल। हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *