Best Online News From Nepal

पशुको घेरामा पशुपतिनाथ, पेरिसडाँडाका पादरीहरू विदेशीले बोकाएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता लादेर नेपाललाई पराधीन बनाउन लागिरहेका छन्

युवराज गौतम

pashupatinath-templ

‘बेलाइती कुकुर मजासँग दूधभात खाने, त्यसलाई न्यानो डसनामा सुताउनुपर्ने, साबुनले नुहाइदिनुपर्ने तर भोटेकुकुर, जसले बाघ, भालु, स्याल, बाँदर सबैलाई धपाइदिन्छ, मकै खान दिँदैन, त्यसकारण चन्द्रोदयको बेलामा नेपालमा बेलाइती कुकुर नरहोस्, भोटे कुकर चाहिन्छ, भोटे कुकुरलाई साग, सिस्नो, ढिँडो दिए हुन्छ ।’ (प्रज्ञा पत्रिका वर्ष ९ अंक ११)

Image may contain: 1 person, closeup१९७७ सालमा ‘मकैको खेती’ नामक पुस्तकमा कृष्णलाल अधिकारीले लेखेका माथिका वाक्यांशकै कारण जेल जानुपर्‍यो । उनी जेलमै मरे, चन्द्रशमशेरको आक्रोशका कारण । राष्ट्रवादी (भोटेकुकुर) र राष्ट्रघाती (बेलायती कुकुर) प्रतीक बनाएर उनले शासकहरूका आँखा खोल्न चाहेको देखिन्छ । नेपालमा सयैाँ वर्षदेखि भोटे कुकुर (राष्ट्रवादी शक्ति) लाई हेलाँ गरेर ठग, फटाहा, चाप्लुस, अयोग्य र कुरौटेहरूलाई ‘दूधभात’ खुवाइएको रहेछ । आज पनि विभिन्न दल र राजनीतिक शक्तिका केन्द्रविन्दु बनेका स्वघोषित पशुपतिनाथहरू मूर्ख पशु र पशुपतिभक्तहरूको घेराबाट बाहिर निस्कन सकेका छैनन् । त्यसैले धेरै दलका योग्य कार्यकर्तादेखि निर्दलीय, सक्षम र योग्य राष्ट्रवादी सज्जनहरूसमेत उपेक्षित छन्, निराश छन्।

राणाहरू अभिमानले कमजोर भए । समान जातमा विधिवत् विवाह भएका आमाबाबुबाट जन्मेका राणा ‘ए’ क्लासका भए । घटीबढी जातमा विवाह भएका आमाबाबुबाट जन्मिएका ‘बी’ क्लास र भित्रिनी (प्रेमिका) बाट जन्मेका सन्तान ‘सी’ क्लासका राणा भए । ‘राणाको मावली नसोध्नू’ भन्ने चलन त्यहींबाट आयो । सरदार भीमबहादुर पाँडेले लेखेका छन्, ‘सन् १९७७ मा राणालाई ‘एबीसी’ क्लासमा वर्गीकरण गरेपछि त्यो यदुवंशको मुसल जस्तै घातक भयो ।’ (त्यसबखतको नेपाल पहिलो भाग)

२०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि राजा वीरेन्द्र पनि कमजोर बन्न पुगे । ए-बी-सी राणाजस्तै सत्तापक्ष, विपक्ष र दलमा पहुँच नभएका सर्वसाधारण जनता विभाजित भए । २०४७ देखि २०५८ सालसम्मको १०-११ वर्षमा ६७ प्रतिशत कालखण्डमा नेपाली कांग्रेसको हुकुम चल्यो ।
पटकपटक गरेर गिरिजाप्रसाद कोइराला नौ वर्ष सिंहदरबारमा अर्को चन्द्रशमशेर भएर बसे । कांग्रेसलाई जनताले मौका पनि दिए, तर राष्ट्रलाई कांग्रेसले के दियो ? स्पष्ट परिणाम केही देखिँदैन ।

२०४७ सालपछि झन्डै चालीस लाख भारतीयले नागरिकता पाए । त्यसरी नागरिकता दिलाउन नेपालका प्रमुख ठूला पार्टीले भूमिका खेलेको जगजाहेर छ । भारतका गृहमन्त्री रहेका राजनाथ सिंहले ती सबै हिसाब जोडेर नेपालमा एक करोड भारतीय बस्छन् भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै सम्पन्न भारत भ्रमणका सन्दर्भमा त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले संविधान संशोधन गरेर सबैलाई समेट्ने वातावरण भएमात्र भारतले नेपालको संविधानप्रति समर्थन जनाउने स्पष्ट गरेका छन् ।

सोही कारणले भारतको दबाब खप्न नसकेर सरकारले संसद्मा नयाँ संविधान संशोधन विधेयक ल्याएर तराईकेन्द्रित दलहरूलाई चुनावमा सहभागी गराउन खोजे पनि परिस्थिति अझै स्पष्ट हुन सकिरहेको छैन । पहाडी जिल्लामा मात्र चुनाव गराएर प्रदेश नम्बर १, २, ५ र ७ मा जेठको अन्तिम साता स्थानीय निर्वाचन गर्ने कुरा आफैंमा रहस्यपूर्ण देखिन्छ ।चीनको प्रभावशाली प्राज्ञिक केन्द्र बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीका प्राध्यापक सु लियाङले हालै एउटा अन्तर्वार्तामा ‘नेपाल स्वतन्त्र मुलुक हो कि होइन’ भन्ने प्रश्न उठाएका छन् ।

 

उनको स्पष्ट धारणा छ, ‘मेरो विचारमा दक्षिण एसियामा दुई मात्र स्वतन्त्र मुलुक छन्- भारत र पाकिस्तान । बाँकी देशहरूले आफ्नो परराष्ट्र नीति आफैं निर्धारण गर्न सक्दैनन् । यस्तो ‘स्वतन्त्रता’ संयुक्त राष्ट्रसंघको मान्यतामा नभई आफ्नो इच्छाअनुसार आधारभूत कुरा निर्धारण गर्न सक्ने हैसियतमा आधारित छ । मेरो धारणा थोरै अतिवादी पनि लाग्न सक्छ, तर तथ्य यही हो । पाकिस्तानबाहेकका देश भारतसँग डराउँछन् । ती देशहरू भारतलाई घृणा पनि गर्छन्, मोह पनि राख्छन् । त्यसैले ती देशहरूमा अर्को ‘स्वतन्त्रता अभियान’ को आवश्यकता छ ।’

पेरिसडाँडाका पादरीहरू विदेशीले बोकाएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता लादेर नेपाललाई पराधीन बनाउन लागिरहेका छन् । लेन्डुप, मीर जाफर, क्विजलिङ र जय चन्दका अवतार बनेर राष्ट्रको अस्तित्वसँग किन खेलबाड गरिरहने ? के यो देश दलहरूको बिर्ता हो ? राष्ट्रघाती र उनीहरूका हरुवा-चरुवालाई जिताउँदा राष्ट्र हार्छ भने किन चाहियो त्यस्तो पद्धति ? किन चाहिएको छ राष्ट्रघाती बथान ?

माओवादीले १० वर्ष चलाएको कथित मुक्तियुद्ध (लिबरेसन वार) नेपाल र नेपालीमा रहेको आत्मनिर्णयको अधिकार समाप्त पार्ने खेल थियो । ०६२÷६३ सालपछि हालसम्म बनेका प्रत्येक सरकारमाथि ‘विदेशीको’ इसारामा चलेको बात लागेको छ । त्यसो त २०४७ सालपछि नै यो रोग सल्किएको हो, तर यति धेरै निर्वस्त्र देखिएको थिएन । पञ्चायतकालमा पनि सूर्यबहादुर थापा भारतपक्षीय र कीर्तिनिधि विष्ट चीनपक्षीय भन्थे । तर सर्वाधिकार नेपालमै थियो ।

दरबारका केही सचिवले गुप्त सूचना अन्यत्र पुर्‍याएका खबरहरू गाइँगुइँ सुनिन्थ्यो । तर प्रहरी, सेना, निजामतीलगायतका अंगका प्रत्येक सूचना दरबारमा पुग्थ्यो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो मर्यादा, आचरण, अनुशासन तथा गरिमा कायम राखेका थिए । बेकाइदा गर्नेहरू तत्काल दण्डित हुन्थे । विदेशी इसाई पुरुषसँग विवाह गरेका कारण आफ्नै कान्छा काका वसुन्धरा शाहकी छोरी केतकी शाह (चेस्टर) लाई राजा वीरेन्द्रले राजपरिवारका सदस्यले पाउने सम्पूर्ण सुविधाबाट वञ्चित गरिदिए । जेठी श्रीमती (प्रेक्षा शाह) हुँदाहुँदै लन्डनमा अर्र्की विदेशी महिलासँग विवाह गरेपछि कान्छा अधिराजकुमार धीरेन्द्र शाहको पदवी खोसिएको थियो । राजपरिवार पनि विधिको शासनअनुुसार चलेको थियो भन्ने यो एउटा अर्काे उदाहरण हो ।

यात्रीहरू सबै रक्सीले माते पनि गाडी दुर्घटना हुँदैन, तर चालक मात्यो भने अवश्य दुर्घटना हन्छ । अहिले सिंहदरबारका राष्ट्र चालकहरूलाई पद, प्रतिष्ठा र सत्ताको मात लागेको छ । उनीहरू ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने अहंकारले उन्मक्त छन् । पश्चिमाहरूले माओवादीमार्फत नेपालका १४ अञ्चल र ७५ जिल्ला मास्ने गुरुयोजना ल्याए । वर्तमान सरकारले जिल्ला र अञ्चललाई अस्तित्वहीन तुल्याइसकेको छ । तर संविधान सक्रिय नभएसम्म नयाँ संरचना स्थापित हुने अवस्था देखिँदैन । माओवादी नेता गोपाल किरातीले केही वर्षपहिले नेपालमा आठ सय जिल्ला हुनुपर्छ भन्दा कांग्रेस-एमालेका नेता खित्खित् हाँस्ने गर्थे ।

अहिले ७४४ क्षेत्र बनाइएको र त्यसमा थप्दै जाने योजना पेरिस डाँडाका पादरीहरूले सार्वजनिक गरिसकेका छन् । त्यसैले राज्य पुनर्संरचना (? ? ) नामक खेलमा अर्को सुगौली सन्धिको गन्ध आइरहेको देखिन्छ । दुईखुट्टे पशुको घेरामा बसेका पार्टीका पशुपतिनाथहरू विदेशीसँग कति नतमस्तक छन् भन्ने कुराको प्रमाण खोज्न टाडा जानै पर्दैन । संविधान नामको राजनीतिक बाइबल, बढ्दो इसाईकरण, संघीयताका नाममा फैलाइएको मन्द विष, चरम विखण्डन, विग्रह र विभाजनको विश्लेषण गर्ने हो भने नेपाल विश्व मानचित्रबाट केही वर्षमै लोप हुने अवस्था देखिन्छ । समानान्तर सरकार चलाइरहेका आईएनजीओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू) तथा उनीहरूका दानमा चलेका व्यक्ति र संस्थाहरू नेपाललाई कसरी चकनाचुर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमा लागेको स्पष्ट छ । यसमा वर्तमान सरकारले ठूलो भूमिका खेलिरहेको देखिन्छ । राष्ट्रका हरेक स्थायी शक्तिलाई धुलिसात बनाएर बाह्य शक्तिको निर्देशनमा काम गर्ने वर्तमान सरकारले राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तालाई दिनप्रतिदिन कमजोर तुल्याइरहेको पाइन्छ ।

राजधानीमा वैशाख ६ गते वीर भक्ति थापाको २०२ औं स्मृति दिवस कार्यक्रममा विभिन्न वक्ताले राष्ट्र आज अभूतपूर्व रूपमा कमजोर भएको टिप्पणी गरे । प्रा. जगमान गुरुङ, सेनापति राजेन्द्र क्षत्री, प्रा. त्रिरत्न मानन्धर, सैनिक इतिहासका विज्ञ डा. प्रेमसिंह बस्न्यात, पूर्व सेनापति रुक्मांगद कटवाल, लक्ष्मी बस्न्यात, सुजित मैनालीलगायतका वक्ताहरूसँगै पंक्तिकारलाई पनि आफ्ना विचार प्रस्तुत गर्ने अवसर दिइएको थियो । पंक्तिकारको तर्क थियो, ‘हिजो आत्मनिर्णयको अधिकार हामीसँगै सुरक्षित थियो, आज हरेक विषयमा विदेशीले दिएको हुकुम र निर्देशनको पालना गर्न सरकार बाध्य छ ।’

राष्ट्र धराशयी हुन लाग्दा पनि राष्ट्रको संरक्षण, संवद्र्धन र सम्पोषण गर्ने प्रबल शक्ति जनतासामु देखिएको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई ‘दुस्मन’ भन्नेहरूले सिंहदरबारमा बसेर आज राजकाज चलाएका छन् । त्यस्ता व्यक्तिहरूलाई जुत्ता बजारेर सलाम गर्दा सुरक्षाकर्मीहरूलाई सन्तुष्टि र आनन्द हुन्छ कि पीडा ? त्यो उनीहरूलाई अवश्य थाहा होला ।

कटुसत्य के हो भने आमालाई बलात्कार गर्ने व्यक्ति बाबु हुन सक्दैन । आत्मसम्मान, स्वाभिमान, साहस र इमान हुने कुनै पनि नेपालीले नेपाललाई ध्वस्त बनाउने शक्ति वा व्यक्तिलाई समर्थन गर्दैन र गर्नु पनि हुँदैन । माओवादीका सरदार पुष्पकमल दाहालले पटकपटक भनेका छन्, ‘सडक, संसद् र सरकार सबैलाई मोर्चाका रूपमा उपयोग गर्ने नीतिअनुसार हामी अगाडि बढ्नेछौं, तर हाम्रो अन्तिम लक्ष्य साम्यवादी शासन नै हो ।’ तसर्थ गाउँदेखि केन्द्रसम्म ‘कब्जा गर्ने’ नीतिबाट माओवादी विमुख भएको छैन । यो तथ्य बुझ्न सकेनन् भने पाहा भ्यागुता फुले झैं अभिमानले फुलेका कैयन् नेता, बुद्धिजीवी र ‘हामी नै पशुपतिनाथ हौं’ भनेर बसेका धेरै व्यक्ति झ्यालखानामा पुग्नेछन् । इसाई फौजका रूपमा फैलिएको माओवादीलाई चीनले विश्वास नगरे पनि भारत र पश्चिमाहरूले उपयोग गरिरहेको टड्कारो देखिएको छ ।

चिनियाँहरूले पुष्पकमल दाहालका बारेमा राम्ररी बुझेका छन् । एकजना प्राध्यापकले स्पष्ट भनिदिए, ‘चिनियाँहरू बरु त्यस्ता व्यक्तिलाई स्वीकार गर्न सक्छन्, जो कहिल्यै पनि मित्र थिएन, तर आफूलाई छिटोछिटो परिवर्तन गरिरहने व्यक्तिलाई मन पराउँदैनन् ।’ (हिमाल खबरपत्रिका, ३-८ वैशाख २०७४)

नेपालमा स्पष्ट राष्ट्रिय नीति र राष्ट्रिय नेता दुवैको अभाव देखिएको छ । दलभित्र गुट बनाएर फुट गराउने धेरै छन् । तर राष्ट्रका सबै भाषा, धर्म, क्षेत्र आदिलाई एकजुट गराउने राष्ट्रिय नायक कोही छैनन् । २०४७ सालपछि पनि केही नेताका कुरा सुन्थे मानिसहरू । अचेल टेलिभिजनका पर्दामा कुनै नेता देख्नासाथ धेरैले छिःछिः भन्ने गर्छन् । यो वितृष्णा, तिरस्कार, घृणा, अनास्था र अविश्वास सामाजिक सञ्जालहरूमा पनि देखिन्छ । युवावर्गमा राजनीतिप्रति नै घृणा बढिरहेको छ । विदेशमा पसिना बगाउने ४० लाखभन्दा धेरै युवाले काठमाडौंमा एक दिन मात्र प्रर्दशन गरे भने आजका कैयन् नेता थुकैथुकले पुरिन सक्छन् । उनीहरूका लुगा धुजाधुजा हुन सक्छ ।

कैयन् वर्षदेखि प्रजातन्त्र र लोकतन्त्र (? ? ? ) भनेर ठगिरहेका अधिकांश राजनीतिकर्मीलाई ज्यान जोगाउन धौधौ हुन सक्छ । के सोचेका छन् नेतागणले ? आफ्ना केही प्रियजनलाई पत्रकार, लेखक, विश्लषक र गुप्तचरको भेषमा पालेर राष्ट्र र जनताको शोषण गरिरहने ? विदेशीले बोकाएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता लादेर नेपाललाई पराधीन बनाउने ? लेन्डुप, मीर जाफर, क्विजलिङ र जय चन्दका अवतार बनेर राष्ट्रको अस्तित्वसँग खेलबाड गरिरहने ? के यो देश दलहरूको बिर्ता हो ? के जनता कमारा हुन् ? भोट दिने मेसिन हुन् ? राष्ट्रघाती र उनीहरूका हरुवा-चरुवालाई जिताउँदा राष्ट्र हार्छ भने किन चाहियो त्यस्तो पद्धति ? किन चाहिएको छ राष्ट्रघाती बथान ?

राणाशासकले सनद र इस्तिहार जारी गरे झैं सिंहदरबारको बार्दलीबाट फर्मान गरे झैं वा टुँडिखेल खरिबोटको चौताराबाट देशवासीका नाममा सम्बोधन गरे झैं टेलिभिजनका पर्दाबाट जनताका नाममा बितेका १०-११ वर्षमा १०-११ जना प्रधानमन्त्रीले अनेकौं हावादारी गफ दिए । इमानदार, श्रमजीवी, सज्जन र सरल स्वभावका निम्न आय भएका जनता आज भोकै बस्ने अवस्थामा पुगेका छन् । शिक्षा र स्वास्थ्यमा समेत बेरोकटोक कालो व्यापार भइरहेको छ । महँगीले आकाश छोएको छ । किसान, मजदुर र विद्यार्थी वर्ग रोएका छन् । नेताका गुलामी गर्ने छात्र संगठनका अगुवालाई विद्यार्थीको होइन, आफ्नै नेताको चिन्ता छ । सत्य बोल्दा विदेशी सहयोग र दान रोकिन्छ भन्ने पीरले धेरैजसो बुद्धिजीवी कमैया बनेका छन् । त्यसैले पशुका घेरामा रमाएका छन्, यन्त्रमानवजस्ता पराधीन नक्कली पशुपतिनाथहरू । आजको यथार्थ यही हो ।

स्रोत- अन्नपुर्ण पोष्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *