Best Online News From Nepal

‘पेट्रोलियम पदार्थको भण्डारण थप्ने प्रक्रिया शुरु’

भविष्यमा इन्धन संकट हुन नदिने प्रयासस्वरुप नेपालमा ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काम अघि बढिरहेको आपूर्ति मन्त्रालयले जनाएको छ।

नयाँ भण्डार डिपो स्थापनका लागि केही ठाँउमा जग्गा खोज्ने र केही ठाँउमा जग्गा अधिग्रहण गर्ने काम भइरहेको बताइएको छ।

भण्डार डिपो स्थापनाको निम्ति राजमार्ग र संघीय प्रदेशलाई पनि ध्यान दिइएको मन्त्रालयको भनाई छ।

पहिलोपटक ग्यास भण्डारणको काम पनि थालिएको छ।

हाहाकार

भारतबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कारणले एक सातामात्रै अवरोध हुँदा देशभरि पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ।

पेट्रोल पम्प र निगम भण्डारमा रहेको डिजेलले ३ साता र पेट्रोलले त १ सातामात्र धान्ने आयल निगमको भनाई छ।

पेट्रोलियम पदार्थको माग बढदै जाँदा समेत लामो समयदेखि भण्डारण क्षमता नबढाएको निगममाथि सीमा नाका अवरोधपछि क्षमता बढाउन दबाब परेको थियो।

सरकारले थालेको कामबारे जानकारी दिँदै आपूर्तिमन्त्री गणेशमान पुनले भने, “राष्ट्रसंघको मापदण्ड अनुसार कम्तीमा पनि ३ महिनालाई मौज्दातले पुग्ने गरी त्यो अनुसारको काम शुरु गरेका छौँ।”

नुवाकोटको बेत्रावती, तनहुँको खैरेनी र काभ्रेको पाँचखाल क्षेत्रमा डिपो स्थापनाका लागि जग्गा अधिग्रहणको काम शुरु भइसकेको बताइएको छ।

अहिले भइरहेका डिपोको पनि भण्डार क्षमता बढाउने योजना निगमको छ।

चरणबद्ध

Image copyrightbharat bandhu thapa

पूर्व-पश्चिम र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ भण्डारण केन्द्र स्थापन गर्न जग्गा खोजी भइरहेको छ।

आपूर्तिमन्त्री पुनका अनुसार सात प्रदेशमा पर्ने गरी भण्डारण डिपो स्थापना गरिने छ।

उनले भने, “पूर्वको चारआलीदेखि धनगढीसम्म र मध्यपहाडीका पनि केही स्थानमा गर्ने गरी दाङ लगायतका ठाँउमा यो आर्थिक वर्षभित्रै शुरु गर्छौँ र चरणबद्ध रुपमा सक्छौँ।”

विगतमा डिजेल र पेट्रोलको भण्डारमात्रै गर्दै आएको निगमले धनुषा र काभ्रेको पाँचखालमा ग्यास पनि भण्डारण गर्ने तयारी थालेको छ।

विगतमा भारतले गरेको नाकाबन्दीपछि २०४८ सालमा भण्डारण क्षमता केही बढाइएको थियो।

बढ्दो मागसँगै भण्डारण क्षमता अपर्याप्त हुँदा त्यसयता त्यो चर्चामै सीमित हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *