Best Online News From Nepal

पुरुषार्थ चतुष्टय :सनातन धर्म प्रधान मानव जीवनका चार सोपान

            प्रवीण अधिकारी –

………………..

16806986_600496856823487_4846465328077951583_n

                 हामी मान्छेले सकारात्मक दृष्टिकोण राख्न आफ्नो सोचाई बदलिनै पर्छ | आफुलाई चाहिने विषयवस्तु तर्फको आशक्ति छोडनै पर्छ नत्र विपत्तिहरु आई रहन्छन भन्ने भनाई हाम्रा शास्त्रहरुले औंल्याएका छन् | हाम्रा पुर्खाहरुले एक स्वस्थ, चरित्रवान, संस्कारी समाज निर्माण गर्न धर्म, अर्थ, काम र मोक्ष शब्द राखेर पुरुषार्थ चतुष्टयको सिद्धान्त अपनाई सार्थक जीवन शैली अपनाउन हामीलाई प्रेरित गरेका थिए | यसको उद्द्येश्य हामीलाई अधर्म , अज्ञान र घमण्डबाट जोगीइ आफ्नो जीवनशैली भित्र समष्टिगत द्रिष्टिकोण , विवेकपूर्ण दृष्टि अपनाई जिउन सकोस भन्ने थियो | त्यसैको आधार पहिल्याउने क्रममा उनीहरुले पहिलो खुटकिलो राखे धर्म , त्यसपछि अर्थ ,काम अनि मोक्ष प्राप्ति | हाम्रो शास्त्रले हाम्रो धर्मलाई उपासना पद्घति भनेर परिभाषित गरेको भेटिन्न तर विराट , विलक्षण जीवन पद्धति भनेर अर्थ्याएको भेटिन्छ | देखावटी ताईं न तुईंको फोश्रो विषय वस्तु होइन समग्र जीवन दर्शन ठानेको पाइन्छ | प्रदर्शन होइन , प्रयोग मानेको देखिन्छ | मानव जातिकोलागि सनातन हिन्दु धर्म चिकित्सा पद्धति नै हो भनेर वताई दिएको छ | आँधि , व्याधि, उपाधि मुक्त भई सार्थक जीवन जिउने मृत्युन्जय सूत्रको रुपमा परिभाषित गरेर लगेको छ | त्यसकारण उहिले ,हाम्रो मुलुकमा धर्म भन्ने कुरो स्वयंद्वारा स्वयंलाई खोजिगर्ने माध्यम मानिएको थियो |

हाम्रो समाजमा धर्मले हाम्रो जीवनको भित्रि झ्याल खोल्ने काम गरेको हुन्छ | त्यसैले आध्यात्मिक शुद्धि हाम्रो आत्मासंग गासिन पुग्छ | मानव जातिलाई पशुताबाट मानवता तर्फ जिउन प्रेरित गर्ने , बाँच र बचाउको सिद्धान्त पालन गर्न सिकाउँने , शांतिपूर्ण जीवनको आनन्द भोगाउने सनातन धर्म हाम्रो जीवन पद्घतिको प्रमुख भाग हो | सामाजिक अनुशासन अनुसार चल्नु हाम्रो धर्म हो | आफ्नो हृदयको पवित्रता कायम गर्नु धर्मको वास्तविक स्वरूप हो | संयमित जीवन जीउन सिकाउनु हाम्रो धर्म हो | त्यसैले हामी मान्छे त्यतिखेर मात्र असल मानिन पुग्छौ जतिखेर हामीले हाम्रो श्रेष्ठता प्रमाणित गरेर देखाउन सक्छौं | धार्मिक जीवन शैली अपनाउन सक्छौं |आफु बाँचेर अरुलाई बाँच्न मद्दत गर्न सक्छौं | यहिनै सनातनी हिन्दुहरुले अपनाएको वास्तविक धर्मको स्वरुप हो | यहाँ खरानी घस्नु , गेरु वा सेतो वस्त्र लाउनु , आस्क्रम खोलेर राजनैतिक संरक्षण प्राप्त गर्नुको धर्म संग कुनै सम्बन्ध छैन र मानव जातिको पुरुषार्थ भनेर किटिएका चार बिंदुहरु धर्म, अर्थ, काम र मोक्ष संग त्यसको कुनै र केही सम्बन्ध देखिदैन | हाम्रा प्राचिन विद्वान मनीषिहरुले गहन चिंतन- मनन गरि हाम्रो कर्मका चार आधारहरुको क्रम निश्चित गर्दा उत्तम,विचारवान , चरित्रवान, सुसंस्कारित र परिष्कृत व्यक्तिहरु हुर्काउने परिकल्पना भित्र धर्म, अर्थ, काम र मोक्षलाई परिभाषित गरेर लागेका थिए |

धर्म- बाँच र बाँच्न देउ
==============
धर्मको अर्थ हो कर्त्तव्य | मान्छेले मान्छेप्रति गर्नुपर्ने कर्त्तव्य, अन्य प्राणिहरु प्रतिको कर्तब्य , रुख विरुवा र पर्यावरण प्रतिको कर्त्तव्य, समाज र राष्ट्र प्रतिको कर्त्तव्य | पूर्ण निष्ठा र ईमानदारी , निःस्वार्थ भावले आफ्नो कर्त्तव्य पालन गर्नु सच्चा धर्म हो , त्यहीनै मानव धर्म हो , त्यहिनै सनातन हिंदू धर्म हो | धर्म सबैकोलागि एक समान रहने गर्दछ | धर्म भनेको उपासना पद्धति होइन | यो विराट् एवं विलक्षण जीवनचर्या हो , जीवन जीउने कला हो , हाम्रो जीवन पद्धति हो | यसै आदर्श परम्परा भित्र हाम्रो धर्म ऋषि परम्परा द्वारा सिंचित, अवतार र महापुरुषहरु द्वारा संरक्षित भई हाम्रो धर्मको महावृक्ष सनातन कालदेखि पल्लवित एवं संवर्द्धित भएर आएको हो | हाम्रो धर्मको ‘स्व’ भित्र स्वार्थ छैन | यसले आफ्नो छत्रछायामा समस्त विश्व ‘जीवेत एवं जीवयेत’ (बाँच र बाच्न देउ ) को सिद्धान्त पालन गराई सुख- शांतिपूर्वक जीवनयापन गरि आनन्द भोग्न सिकाएको छ | हाम्रो देश र विदेशमा फ़ैलाइएको अनेकौं मत मतान्तर, उपासना पद्धति, कर्मकाण्डहरुको सह अस्तित्व स्वीकारी आफ्नो सांस्कृतिक एवं नैतिक मूल्यमान्यातालाई उत्तरोत्तर वृद्धि गर्नु हाम्रो धर्मको मूल उद्देश्य हो । यसैलाई हिन्दुत्व भनिएको हो | यसै कारण सनातन हिंदूधर्मले यस विश्वका समस्त मानव जातिको क्रियाकलापलाई शुक्ष्म अध्यन गरि सो अनुरुप संचालन गर्न सिकाएर पुष्ट समाज रचना गर्न सिकाएको हो |

अर्थ – उपार्जन यज्ञभाव बटुली गर
======================
धर्म पछि राखियो अर्थ जसको अर्थ MEANING होइन | अर्थ त्यस्तो साँचो हो जुन बिना यो संसारको कुनै पनि भौतिक काम चलन सक्दैन | त्यसकारण हाम्रा ऋषिमुनिहरुले मानव जीवनको प्रगतिको आधार यसलाई माने | उद्योग- धन्दा , व्यापार, कृषि आदि सबै काम गर्न धन चाहिन्छ | अरु त अरु धार्मिक कार्यको प्रचार, अनुष्ठान आदि गर्न पनि धननै चाहीने ठाने | त्यसैले अर्थोपार्जन मान्छेकोलागि पवित्र कर्त्तव्य हुन् पुग्यो | मानव जातिले यस प्रकृतिको विपुल संपदा आफ्नालागि अनि सारा समाजकालागि प्रयोगगर्न , त्यसलाई संवर्द्धित र पुष्ट बनाउन धर्माचरणको ठोस आधार बताएर लागे | धर्मबाट विमुख हुन् पुग्दा मान्छेले प्राकृतिक संपदाको विवेकहीन दोहन गरि यस संसारको पर्यावरण संतुलत नष्ट गर्न पुग्दछ भने अर्कोतर्फ आफ्नालागि क्षणिक लाभ लिन पुग्दा आफु बसेको समाजको लागि अनेकौं रोग व कष्टलाई जन्म दिन पुग्दछ | त्यसैले धर्मपछि दोश्रो स्थानमा राखिएको अर्थ मानव जीवनको प्रगतिको मूल आधार मानिएको हो | धर्म ले जिउन बाटो देखाउंछ | अर्थले प्रकृति संग , समाज संग , राष्ट संग र वरिपरिको परिवेश संग जति लिएको छ त्यो भन्दा बढि फर्काउन चाहिने सूत्र अर्थ नै ठानिएको छ र समाज विकासको मूल आधार हुन पुगेको छ | आर्जन र विसर्जन मा सीमित हुन पुगेको मान्छेले आफ्नो जीवन उन्नत, सुखद र प्रेरक बनाउन र समाज र राष्टलाई उन्नति तर्फ लैजान अर्थानै अर्थपूर्ण हुन पुगेको छ |

काम – त्यागभाव अपनाई भोग गर
======================
धर्म र अर्थ पछि तेश्रो श्रेणीमा रहन पुगेको छ काम ,जसलाई धर्मपूर्वक, संयम एवं मर्यादामा बांधीं चल्न हामीलाई हाम्रा ऋषि मुनिहरुले प्रेरित गरेका छन् | काम प्रति भोग पक्षको मर्यादालाई प्राकृतिक र सामाजिक नियममा बाँधी रहंदा त्यो काम हाम्रो जीवनको प्राणशक्ति हुन् पुग्छ | शास्त्रको भनाई काम धर्म र अर्थमा आश्रित रहोस भन्ने हो किनभने काम जीवनको प्राण- शक्ति हो | यदि मान्छे संग कामना नै भएन भने केही गर्ने ईक्षे जाग्दैन त्यस्तो हुन पुगे हामी मृतप्राय हुन् पुग्छौ | प्रगतिको चक्र रोकिन सक्छ |कामेच्छा बाटै प्रेरित भएका कारण यो संसारमा विभिन्न किसिमको आविष्कार सम्भव हुन पुगेको हो | मानव जातिका समग्र भौतिक सुख साधन तैयार हुन सकेको हो | हाम्रो धर्मग्रंथहरुले ‘तेन त्यक्तेन भुंजीथा’ को मंत्र पनि हामीलाई दिएका छन | यसको अर्थ हो मनमा त्याग भाव समेटी विषय वस्तु भोग गर | यो संसारमा जे जे कुराहरु छन् ती कुराहरु सबै हाम्रो समाजकोलागि हो | सनातन धर्मानुसार, विवेकपूर्ण चिंंतन गरि तिनको उपभोग गर , त्याग गर , अरुलाई ध्यानमा राखी उपभोग गर | अरुलाई ख्वाउ अनि आफुपनि खाउ | काम लाई अर्थात आफ्नो इच्छालाई सर्वोपरी सम्झी त्यसको भारले हाम्रो समाजलाई जर्जर नवनाउ किनभने त्यसो गर्यौ भने त्यो नै तिम्रो संहारको प्रमुख कारण बन्न पुग्नेछ |

मोक्ष – हाम्रो जीवन आनंदमय होस
======================
धर्म, अर्थ र काम जस्ता तीन खुडकिला उक्लिएपछि मान्छेले मोक्ष प्राप्ति गर्न सक्दछ | त्यो मान्छेको जीवन यशस्वी, प्रेरक एवं सार्थक हुन पुग्नेछ | मान्छे जब सम्म आफ्नो संस्कार संग बाँधिएको हुन्छ उसकोलागि मुक्ति भन्नेकुरा अर्थहिन हुन पुग्दछ | मानव लक्ष्य निर्धारण गरि देश, काल, समय हेरेर व्यक्तिको छनौट , दृढ़ संकल्प शक्ति, द्रिष्टिकोण , अखण्ड आत्मविश्र्वास र स्वयंको पहिचान गर्न सके हामी मान्छेको जीवन शास्त्र, धर्म गुरुहरुले होइन मान्छे स्वयमले गर्न सक्तछ | पुरुषार्थ चतुष्टय हामी मान्छेहरुको त्यस्तो प्रयोगशाला हो जसको संबंध हाम्रो उमेर संग गाँसिएको छैन | यो दृष्टिकोणको प्रेरणाको श्रोत हो | जो दिग्भ्रमित भएको हुन्छ , आत्मा केन्द्रित हुन्छ , बाटो भूलेको हुन्छ , यसले त्यस्तालाई निर्देशित गरेको हुन्छ | जो सत्य देख्न चाहान्न , सुन्न चाहान्न र जसले आँखो बन्द गरेको हुन्छ , लक्ष्य बनाएको हुन्छ ,खुट्टो चाल्न सक्तैन , धेरै कुरो गर्न खोज्छन , गर्ने तयारि गर्न सकेका हुन्नन् ,यस्ता व्यक्तिहरुलाई निर्णायक भूमिका खेल्न सक्ने बनाई तिनको विवेकको आँखो खोल्नु यो पुरुषार्थ चतुष्टय रूपी आध्यात्मिक आरोहणको प्रेरक संकल्प हो |

पुरुषार्थ चतुष्टय त्यतिखेर मात्र प्राप्त हुन सक्छ जब हाम्रो अर्थ र काम दुवै धर्म ले संचालित हुन पुग्छन | धर्मानुसार आचरण गर्न नसक्ता हामीले अर्थ सुख त पाएका हुन्छौं तर मनको शांति पाउँन सक्दैनौ अनि मोक्ष को कुरो त कंहा हो कंहा ? बाह्यदृष्टिले हामी धन- धान्य, वैभव ,सम्पन्नताले परिपूर्ण भएपनि असभ्य र असंस्कृत हुन्छौ | आर्थिक दृष्टिले सम्पन्न देखिएपनि समग्रमा घाटैमा रहेका हुन्छौ | दरिद्रता असभ्यताको प्रतिक हो । अल्छी , घमण्डी , दुर्गुणी, दुर्व्यसनी मान्छेले टन्न पैसो कमाए पनि दारु पानी पिएर बस्न सक्छ | उसको मनमा जति बेलापनि अशांति ,भय मच्चिई रहन्छ | यस्तो बेलामा गरिने मोक्षको कल्पना रात्रिकालमा खोजेको सूर्य जस्तो हो | हाम्रो समाजको लागि धर्म त्यस्तो हतियार हो जसले मान्छेको दुर्भावनाहरु र अनियंत्रित आर्थिक ईक्षालाई नियंत्रण गरि उसको जीवन सरल, शांत र आनंदमय बनाउन निर्देशित गर्दछ | यस संसारमा लौकिक र पारलौकिक सिद्धि दिने धर्म हो | मोक्ष प्राप्त गर्नु अंतिम लक्ष्य हो , धर्म धारण गर्नु पहिलो उद्देश्य हो | यसैले नेपाली संस्कृतिले विश्वकल्याणको कुरो गर्दै ” सर्व भूत हिते रत: र सर्वे भवंतु सुखिन:” भनि व्यवहारमा उतार्न धर्मको प्रधानता स्विकार्न पुगेको हो | अस्तु |||- प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *