Best Online News From Nepal

पाइलट पनि नक्कली

नक्कली डाक्टर, नक्कली इन्जिनियरहरू धमाधम पक्राउ परिरहेका बेला प्रहरीले एकजना नक्कली पाइलटलाई पनि पक्राउ गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिपत्र पाएकाहरूको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गोमा एयरमा कार्यरत को–पाइलट विकास कार्कीको आईएससीको प्रमाण पत्र नक्कली फेला पारेको हो । उनको आईएससीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेपछि उनलाई कुपण्डोलबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले गोमा एयरलाइन्समा को–पाइलटका रूपमा कार्यरत ३६ वर्षीय कार्कीलाई आईएससीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरिएको बताए । ‘हवाई उड्डयन क्षेत्रमा पनि केही नक्कली प्रमाणपत्रधारी रहेको सूचना पाएपछि अनुसन्धान थालेका थियौं, सोही सिलसिलामा कार्कीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको हो,’ सीआईबी प्रमुख सिलवालले भने, ‘अन्य पाइलटको पनि शैक्षिक योग्यताको प्रमाण पत्र छानबिनको दायरामा रहेका छन् ।’

– राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *