Best Online News From Nepal

पाँच महिनाअघि राष्ट्रको ढिकुटी रित्तै छ भन्नेहरूले अहिले राष्ट्र समृद्ध हुन थालेको छ भनेर त्यस्तै भ्रम छरिरहेका छन्

युवराज गौतम—

कुख्यात तस्कर पाब्लो एस्कोबारलाई कोलम्बिया सरकारले ‘फाइब स्टार’ होटलजस्तो जेल बनाएर राख्यो । सन् १९९३ मा उनको हत्या भएका दिनसम्म उनीसँग ३० अर्ब डलरको सम्पत्ति थियो । ४४ वर्षमात्र बाँचे, ती कोकिन (लागु पदार्थ) तस्कर । पत्रकारसँग भनेका थिए– समयको खेल हो, मसँग अर्बौँ डलर छ तर साह्रै दरिद्र छु।

पहिलो भ्रम– पैसा पाएपछि अपराधीलाई पनि भोट दिन्छन् जनता । एस्कोबार पनि सांसद भएका थिए सन् १९८२ मा । तर पटकपटक जघन्य अपराधमा संलग्न एस्कोबारसँग न घनिष्ट साथी थिए, न इज्जत । त्यसैले उनले आफूलाई अर्बपति दरिद्र भनेका थिए।

‘जसरी पनि’ मानिस सत्तामा पुग्न सक्छ । अर्बपति बन्न सक्छ । नेपालमा पनि अपराधी पृष्ठभूमिका ‘प्रसिद्ध’ (?) व्यक्ति धेरै छन् । तर ती ‘दरिद्र’ छन् । विचार, निष्ठा, सिद्धान्त, आचरण अनि हरेक व्यवहारमा उनीहरू ‘तेरो र मेरो’ भाग छुट्याउँछन् । त्यसैले धन हुनेलाई मात्र ‘धनी’ ठान्ने र ज्ञान, विवेक र क्षमता भएका सबैलाई गरिब मान्नु महाभ्रम हो।

आफूले भोट दिएको दल कुबाटोमा हिँडे पनि गलत भयो भन्न सक्दैनौँ। निरक्षरहरू बरु सत्य बोल्छन् तर टाठावाठामा दासत्व बढ्दै गएको छ।

दोस्रो भ्रम– राजनीति गर्नेहरू नै सबैथोक र ‘सर्वोच्च’ हुन् भन्ने ‘फोर्थ स्टेज’ क्यान्सर जस्तो भ्रम व्याप्त छ नेपालमा । म अरुभन्दा फरक हुँ भन्ने अहंकारले राजनीतिमा मात्र होइन, राज्यकोषको तलब खानेहरू प्रायः सबैलाई एउटै रोग लागेकोे छ । त्यो हो– अरुलाई सानो देख्ने र हेप्ने रोग, हेपुवाटाइटिस् । उपन्यासकार जर्ज अर्वेलले ‘एनिमल फार्म’ मा पशुराज्यको चित्रण गरेका छन् । हामी अरु पशुभन्दा अलि उच्च हौँ भन्छन् सत्तासीन पशुहरू । त्यो ‘मेगालोमेनिया’ हो अर्थात् भ्रमको उत्कर्ष र उच्चताबोध।

तेस्रो भ्रम– कहिलेकाही डोरी पनि सर्पजस्तो देखिन्छ । त्यो दृष्टिभ्रम । बालकृष्ण समले लेखेका छन्– ‘चाक्सी खानुहुन्छ बज्यै भनी एउटी सोध्थी । कीरा परोस् तेरो मुखमा तँ नै बोक्सी भन्थी ।’ चाक्सीलाई ‘बोक्सी’ सुनिछन् बज्यैले । श्रव्य–दृश्य भ्रमभन्दा घातक हुन्छ मानसिक भ्रम र पूर्वाग्रह । नेपालको संविधान (२०७२) त्यस्तै मनोवैज्ञानिक भ्रमको पुलिन्दा हो । पूर्वाग्रहले ग्रस्त छ संविधान । त्यसैले वर्तमान संविधानले स्थायित्व ल्याउने देखिन्न।

संविधानको प्रस्तावनामा नै प्रहसनको भूमिका जस्तो छ । त्यसमा ‘सामन्ती, निरंकुश, केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै’ भन्ने वाक्यांश छ । यसको अर्थ विगतमा सबै नराधममात्र थिए भन्ने लाग्छ । जबकि २०४७ सालको संविधान नेपाली कांग्रेस र वामपन्थी मिलेर बनाएका हुन् । हालको संविधानले त्यसलाई ‘सामन्ती व्यवस्थाको दस्तावेज’ ठहर ग-यो।

चौथो भ्रम– इतिहास बिर्सने र अपमान गर्ने, आफैँलाई नवीन युगको प्रवर्तक ठान्ने भ्रम त्यतिबेला बढी देखियो, जब नेताहरू गादीमा चढ्छन् । आलोचकलाई ‘गाथगादी ताक्ने’ अपराधीझैँ ठान्छन् । क्रिस्टोफर कोलम्बसले स्पेनको राजदरवारको खर्चमा पानीजहाज चढेर नयाँनयाँ ठाउँ खोज्दा अमेरिका पनि भेटे तर उनले अमेरिका बनाएको होइन । त्यस्तै ट्रिनिडाड, मध्य अमेरिका र दक्षिण अमेरिका स्पर्स गरे । इटलीका ती साहसी यात्रीले धेरैथोक देखे । उनी बौद्धिक थिएनन् तर अध्ययनशील थिए भनेका छन् इतिहासकारहरूले । उनले जहाँजहाँ पाइला टेके, त्यो उनको सृष्टि होइन।

सन् २००५ मा ७५ राष्ट्र नाजुक अवस्थामा थिए । आज १७७ राष्ट्र ‘चिन्ताजनक’ अवस्थामा छन् । समस्या थपिँदै जान्छन् तर हामी नेताको सस्तो ठट्टा सुनेर गदगद् हुन्छौँ ।

त्यस्तै, नेकपा र नेकाले प्रयोग गर्ने ‘नेपाल’ र ‘नेपाली’ ती पार्टीले रचना गरेका शब्द होइनन् । नेपालको इतिहास र नेपालीका भावना कुल्चेर विगतलाई गाली गर्ने छुट कसैलाई छैन । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा व्यक्त गर्नसमेत शरम मान्नेहरुले इतिहास आफँैबाट सुरु भएको भ्रम छरिरहेका छन्।

पाँचौँ भ्रम– फ्रेन्च साहित्यकार सात्र्रको कथन छ– ‘प्रेम र युद्धमा सबैथोक जायज हुन्छन् ।’ महाभारतको युद्धमा पाण्डवका पक्षबाट सरिक थिए भगवान कृष्ण । उनले दिएका उपदेशको सार श्रीमद्भागवत गीता विश्वकै सर्वोत्कृष्ट ज्ञान मानिन्छ । राजनेता, कूटनीतिज्ञ, सैनिक नेतृत्व, घरव्यवहारलगायत सबै क्षेत्रको पथप्रदर्शक मानिन्छ गीता । भगवान कृष्णले भीष्मलाई परास्त गर्न शिखण्डीलाई अघि सार्छन् युद्धमा । पूर्वजन्मकी अम्बा हुन् शिखण्डी । स्त्रीभेषमा युद्ध मैदानमा शिखण्डीलाई देखेपछि भीष्म हतप्रभ हुन्छन् । भ्रमित बन्छन्।

पुरुषले स्त्री वध गर्न नहुने तत्कालीन युद्धको नियम पालना गर्दा भीष्म लाचार र घाइते बन्छन् । वाण लागेर पछि उनको मृत्यु हुन्छ । यस्तै, द्रोणाचार्यलाई भ्रमित पार्न ‘अश्वत्थामा हतोहतः’ भन्न लगाउँछन् श्रीकृष्णले । द्रोणाचार्यका छोरा र युद्धमा ल्याइएको हात्ती दुवैको नाम अश्वत्थामा थियो । आफ्नो छोरा मरेछ भन्ने बुझेर द्रोणाचार्य रुन्छन्, शिथिल बन्छन् । त्यही बेला द्यृष्टद्युम्नको वाणले द्रोणाचार्यको मृत्यु हुन्छ । द्रुपदका छोरा र द्रौपदीका दाजु द्यृष्टद्युम्नको प्रवल अठोटबाट प्रभावित भएर श्रीकृष्णले उनलाई सेनापति बनाएका थिए । श्रीकृष्णको तर्क थियो– युद्धकला जानेरमात्र सेनापति हुँदैन, उसमा स्वाभिमान र प्रवल अठोट पनि हुनुपर्छ।

दुर्योधनको शरीर फलाम जस्तो थियो तर कम्मरमुनि कपडाले छोपिएको भागमा त्यो लौहशक्ति थिएन । सो रहस्य थाहा पाएका श्रीकृष्णले भीमलाई सिकाउँछन्– ‘माल्दाजु, गदाले कम्मरमुनि बेस्सरी बजाउनुहोस् दुर्योधनलाई ।’ भीमको प्रहारले दुर्योधन मारिन्छन् । यसरी पाण्डवले युद्ध जिन्छन् । भ्रमको प्रसंगमा श्रीकृष्णले सुदर्शन चक्रले सूर्यको प्रकाश छेकेको र रात परेको जस्तो वातावरण तयार पारेर अब युद्ध स्थगित भयो भन्ने भ्रम सिर्जना गर्छन् कृष्णले । जयद्रथ खुसीले रमाउँदै मैदानमा आएका बेला  पुनः उज्यालो तुल्याउँछन् । भ्रममा परेका जयद्रथ उम्किन पाउँदैनन्, अर्जुनले प्रहार गरेको वाण लागेर त्यही ढल्छन्।

सत्यका पक्षमा पनि भ्रमका त्यस्ता प्रयोग भएका छन् । तर नेपालमा राजनीतिका नाममा घृणित र अर्थहीन भ्रमहरू सिर्जना गर्ने काम भइ नै रहेको छ । जनतालाई हिजोभन्दा आज कष्ट दिने काम भ्रष्टहरुले गरेका छन् । तसर्थ, हामी समृद्ध होइन दरिद्रीपथमा अघि बढ्दै छाैँ। केही व्यक्ति धनी हुँदा राष्ट्र खुसी हुँदैन । यदि त्यस्तो सोचिरहेका छौँ भने त्यो पनि घातक भ्रम ठहरिन्छ।

छैटौँ भ्रम– अमेरिकाका पूर्व विदेशमन्त्री तथा सेनाध्यक्ष कोलिन पावेल भन्छन्– ‘नेतृत्वको मुख्य काम समस्या समाधान गर्ने हो ।’ हो, संविधानले बात–कसुर लगाएझैँ २०६३ साल पहिलेको ‘सामन्ती निरंकुश राज्य व्यवस्था’ अत्यन्त खराब थियो भने गणतन्त्र घोषणपछिका दश वर्षमा जनता खुसीले गद्गद् हुनुपर्ने के के काम भयो त ? तसर्थ, जसलाई हामीले ‘महान् उपलब्धि’ भन्दैछौँ त्यो ठेट नेपाली भाषामा ‘मूतको न्यानो’ मात्र हो । अर्थात हामी अझै पनि भ्रममै छौँ।

सातौ“ भ्रम– राजनीतिमा सक्षम नेतृत्व त्यही हो, जसले लाखौँ जनतालाई सत्कर्म गर्न प्रेरित गर्छ । जनआवाजको कदर गर्छ । राष्ट्रघाती काम बदर गर्छ । अरुलाई आक्षेप लगाउँदैन । मन, वचन र कर्मले इमानदार हुन्छ । नेतृत्वमा सरलता, धैर्य, विवेक र साहस हुन्छ । नेतृत्व दूरदर्शी हुन्छ । टाढिएकालाई पनि उसले अभिभावक बनेर समेट्छ । बितेका दश वर्षमा सिंहदरवारमा दशजना मूली फेरिए । तर पनि राष्ट्र र जनताको अवस्था किन सुध्रिएन ? २०४६ सालपछि आशैआशमा ‘नयाँ कुरा केही हुन्छ’ भन्दै भ्रममा प-यौँ हामी । परिणाम हाम्रै सामुन्ने छ।

आठौ“ भ्रम– विदेशी सहायताबेगर केही गर्नै सकिँदैन भन्ने भ्रम बितेका १५–२० वर्षमा झाँगिदै गएको देखिन्छ । एसेक्स विश्वविद्यालयकी प्रा. जीना रेनहार्ट लेख्छिन्– ‘मध्य र दक्षिणपूर्व एशियामा आएको भूकम्प र अफ्रिकामा प्राकृतिक विपत्ति आउँदा दाताहरूले गर्नु÷नगर्नु गरे । समन्वयको अभाव, आन्तरिक प्रतिभाको पलायन, जवाफदेही हुन नचाहने राज्यसंयन्त्र, भ्रष्टाचार र ‘विदेशी नभए पात पनि हल्लिँदैन’ भन्ने मानसिकताले एशिया र अफ्रिकाका कैयन् राष्ट्रमा स्वावलम्वी चरित्र हराइरहेको छ ।’ नेपालमा त विदेशी दातालाई माता/पिता मान्ने लाखौँ छन्।

भारतले ‘सोसाइटिज रेजिस्ट्रेसन एक्ट १८६० मा व्यापक संशोधन गरेर हजारौँ एनजिओ बन्द गरेको छ । विदेशी सहायता लिएर राष्ट्रिय हितविरुद्ध काम गर्ने÷गराउनेमाथि निगरानी गरेको छ । नेपालमा भने ठूला दलले नै प्रत्यक्ष÷परोक्षरूपमा विदेशीको समर्थन र सहायता खोज्ने प्रवृत्ति देखिएको हुँदा एनजिओ/आइएनजिओलाई कडा निगरानी गर्ने निर्णयबाट सरकार पछि हट्दै गएको देखिन्छ । यस अर्थमा जनता त ‘मतदाता’ मात्रै हुन् । दाता अरु नै छन् । प्रहरी–प्रशासन नै अपराधी लुकाउने ‘छाउपडी’ बन्दै गएका खबर आइरहेका छन् । विधि चलाउन सन्तुलित गिदी चाहिन्छ । कानुनभन्दा नेता महान् ठान्ने ‘राज्यसंयत्र’ नै भ्रममा छ।

नवौँ भ्रम– ‘जुलिअस सिजर’ सेक्सपियरको प्रसिद्ध नाटक हो । त्यसमा कासिअस् भन्ने एउटा अभिभानी, षड्यन्त्रकारी, क्रूर तथा अप्रिय पात्र छ । ऊ जुलिअस सिजरको सौर्य, साहस, योगदान र प्रसिद्धि स्वीकार्दैन । सिजरको बालसखा थियो कासिअस् तर सिजरलाई महारथि मान्न ऊ तयार हुँदैन । त्यसरी नै सन् १९८५ मा जन्मेको सार्कको घाँटी थिचेर बिमस्टेकको महोत्सव मनाइँदैछ काठमाडौँमा । भारतलाई सार्क मन परेन भन्दै नेपाल पनि दिल्लीका दाजुहरूका पछि–पछि दौडेको छ । कूटनीतिमा जब घरिघरि ‘क्रमभंग’ हुन्छ, पतन त्यसैबाट सुरु हुन्छ।

दशौँ भ्रम– ‘सत्य जस्तो लाग्ने विषय व्यावहारिक र जनउपयोगी हुन सकेन भने त्यो स्वादिलो भ्रम बन्न पुग्छ’ भनेका छन् अल्बर्ट आइन्स्टाइनले । हामी आज जुन राजनीतिक प्रणालीलाई जेनेभा जाने बाटो ठानिरहेका छौँ, त्यो बाटो नाइजर, लाइबेरिया, मालावी, रुआन्डा र बुर्किनाफासोतिर पनि पुग्न सक्छ । अर्थात केही बाठा नेता र भ्रष्ट, तस्कर एवं धूर्तहरूको सम्पत्तिमात्र भयो आजको प्रणाली । जनताको हुन सकेन।

मध्यरातमा जंगलको बीचमा घन्टौँसम्म बस बिग्रेका बेला यात्री निदाउँछन् । ब्युँझेपछि सोध्छन् –‘कहाँ आइपुगियो हँ ?’ कहाँ पुग्नु, उही निजगढको जंगल । हामी २०६३ सालदेखि त्यसरी नै भ्रममा छाैँ। चालकमात्र फेरिएका हुन् । राष्ट्रको अवस्था झन् भयाबह बन्दैछ।

एघारौँ भ्रम– अमेरिकामा सन् १९५७ मा  स्थापित ‘फन्ड फर पिस’ नामक संस्था (थिंक ट्यांक) ले आत्मनिर्भर बन्न नसक्ने राष्ट्र विस्तारै धराशायी हुन्छन् भनेको छ । सत्य त्यही हो । विदेशीको ऋणमा लाखौँलाई तलव भत्ता र सुविधा दिइरहनुपर्ने बाध्यतालाई हामी ‘उपलब्धि’ भनिरहेका छौँ । पाँच महिनाअघि राष्ट्रको ढिकुटी रित्तै छ भन्नेहरूले अहिले राष्ट्र समृद्ध हुन थालेको छ भनेर त्यस्तै भ्रम छरिरहेका छन्।

बाह्रौँ भ्रम– ‘सामन्ती, निरंकुश, केन्द्रीकृत राज्य व्यवस्था’ छँदा हामी सबै ‘साँच्चै नेपाली’ थियौँ । अचेल बाहुन, क्षत्री, नेवार, थारू, तामाङ, मधेसी, लिम्बू, राई, शेर्पा, गुरुङ आदि अनेक पहिचान (?) टाँसेर हिँडेका छौँ । देशका लागि चिन्ता होइन, प्रदेशका लागि चासो बढेको छ । यो मनोवैज्ञानिक लघुताभाषमात्र हो । संकीर्णता हो र राष्ट्र कमजोर बन्दैछ भन्ने प्रमाण हो।

ब्रह्मसुत्रमा भनिएको छ– ‘आचार्य (गुरु) बन्ने हक उसैलाई छ जसको आचरण सही छ ।’ आत्मज्ञान नै छैन भने ऊ गुरु (मार्गदर्शक) हुँदैन । राजनीति, प्रशासन, कूटनीति जहाँ हेरे पनि शुद्ध आचरणको अभाव स्पष्ट देखिन्छ । त्यसैले नेपालमा एउटा कुरा निश्चित छ, त्यो हो– अनिश्चितता । यो भ्रम होइन, यथार्थ हो।