Best Online News From Nepal

भोलि पाँचखाल को श्रीरामपाटि मा मापदण्ड बिपरीत सञ्चालित भट्टा बिरुद्व बृहत जनप्रदर्शन र अन्तर्क्रिया

पाँचखाल नगर कृषि शहरको  रूप देखेर  यति बेला जो कोई पनि सोच्न बाध्य हुन्छ. कुनै ताका राजा मानदेँवको बिरासत र लिछिबिकालिन भग्ननावसेस जतातते छन यि भए ईतिहासका कुरा

बर्तमानमा समेत कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् । भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन् । उनीहरू भट्टाले सहर बिगार्न थालेपछि आफूहरू भट्टा बन्द गराउने अभियानमा जुटेको बताए।

‘हामीले यसको विरोध गर्न थालेको धेरै भयो,’ स्थानीय नारायण कार्कीले भने, ‘धुवाँधुलोले बच्चा बिरामी पर्न थालेपछि बसाइँसम्म सर्नुपर्ने बाध्यता छ । तर, यो समस्या अरुलाई सामान्य लाग्यो ।’ उनले सिंगो समुदाय नै भट्टा बन्द गराउन जुट्दा पनि सरोकारवाला निकायले भट्टा सञ्चालकहरूलाई संरक्षण गरेको आरोप लगाए ।

स्थानीय टंक ढकाल (७९) ले पनि बिहान उठ्दा पाँचखाल उपत्यकामा कालो मुस्लो देखिने गरेको बताए । उनले भने, ‘लुगा सुकायो कालै हुन्छ, गाईवस्तुलाई खुवाउने घाँसपात कालै हुन्छ, धुवाँकै कारण स्वच्छ हावा लिन पाइँदैन, १० वर्षदेखि भट्टाको कालो मुस्लो सहँदै आएका छौं।’

पाँचखालभित्र २00 मिटर दूरी नजिक सञ्चालन भएका ६ वटाभन्दा बढी भट्टाले पूरै सहरलाई कुरूप र प्रदूषित बनाएको छ । यी भट्टा पाँचखाल नगरपालिकाको ७, ८, ९ र १२ मा सञ्चालित छन् । जय भिमसेन इँटाभट्टा, पलाञ्चोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा समेत दर्ता छैनन् । २४ सैं घण्टा सञ्चालनमा आउने भट्टाले कालो धुवाँ फाल्ने गरेको स्थानीयको भनाई छ।

कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् । भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन् ।

‘हामीले कति विरोध गर्नु ? वर्षाैदेखि कालो मुस्लोले पूरै उपत्यकालाई ढाक्दै आएको छ,’ स्थानीय सुरेन्द्र हुमागाईले भने, ‘यसबाट कहिले छुटकारा पाइएला, सरोकारवाला निकायको समेत मिलोमतो भएकाले स्थानीयलाई भट्टावालाले गन्दैनन् ?’ उनले पाँचखाल क्षेत्र कृषि उत्पादनको लागि उर्वर मानिएता पनि इँटाभट्टाका कारण खेतीपाती हुन छाडेको बताए । ‘सागपात र आलु उत्पादन हुन छाडेको छ,’ उनले थपे, ‘केही दिनअघि कालीमाटीमा पठाएको काउली कालो भयो भनेर फिर्ता आयो ।’ उनले मापन गर्दा तरकारीमा इँटाभट्टाको कालो धुँवाको असर देखिएको जानकारी दिए ।

भट्टा हटाउन स्थानीय लागिपरेको वर्षाै बितेको छ । पाँचखाललाई पुरानै अवस्थामा कसरी पु¥याउने भनेर जुटेका धेरै स्थानीय चिन्तामा छन् । उनीहरू पटक–पटक विरोध गर्दा पनि भट्टा हट्नुको साटो थपिँदै गएको बताउँछन् । अर्का स्थानीय प्रकाश ढकाल पनि धुवाँका कारण धेरै असर परेको सुनाए । उनले सरोकारवाला निकायलाई भट्टा बन्द गर्न पहल गर्दा पनि सुनुवाइ नगरेको गुनासो गरे । ‘हामीले जसरी पनि भट्टा बन्द गरेरै छाड्छौं,’ उनले भने, ‘भट्टाका कारण दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको छ।’

लामो समयदेखि भट्टा सञ्चालन गर्दै आएका स्थानीय राजकुमार श्रेष्ठले पाँचखाललाई औद्योगिक सहरका रूपमा चिनाउन भट्टा सञ्चालन गर्दै आएको जानकारी दिए । उनले मंसिरदेखि जेठसम्म भट्टा सञ्चालन गर्दैं आएको बताए । ‘स्थानीयलाई समस्या भएको कुरा मैले स्वीकार गर्छु,’ उनले भने, ‘हामीले पनि त गरिखान पाउनुपर्यो, सरकारले भट्टा सञ्चालनको लागि कुनै क्षेत्र तोकिदिए हामी त्यही गएर व्यवसाय गर्न सक्छौं ।’

पाँचखाल बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवालले आफूहरूले जुनै हालतमा पनि यसलाई बन्द गराएरै छाड्ने बताए । उनले व्यावसायीहरूको दम्भले गर्दा हजारौं घरधुरी प्रभावित भएकोले सरोकारवाला निकायले पनि त्यसतर्फ चासो दिनुपर्ने माग राखे।

‘हामीले संघर्ष गर्न लागेको धेरै भयो,’ उनले भने, ‘केही निश्चित व्यक्तिले आफ्नो स्वार्थ पूर्तिको लागि यसरी स्थानीयलाई नै अटेर गरी भट्टा सञ्चालन गर्दै आएका छन्, भट्टामा राजनीति गर्न पाइँदैन ।’ उनका अनुसार पाँचखाल नगरपालिकाका मेयरले चुनावअघि भट्टा हटाउने आश्वासन दिएका थिए । तर, विद्यालय नजिकै र बस्ती नजिकै सञ्चालन भएका भट्टा बन्द गर्न कसैले चासो दिएका छैनन् । ‘केही आसेपासेले मेयरसा’पलाई भाडेका छन्,’ उनले थपे, ‘भट्टामा बालश्रम शोषण हुँदा पनि जनप्रतिनिधि रमिते छन्।’

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले यस क्षेत्रमा रहेका कुनै पनि इँटाभट्टा आफूले दर्ता नगरेको बताए । उनले इँटाभट्टाले बजार क्षेत्रलाई असर पार्ने हुँदा ती सबै भट्टाहरू माथिल्लो निकायबाटै बन्द हुनुपर्ने जनाए । ‘पाँचखालमा रहेका कुनै पनि भट्टा नगरपालिकामा दर्ता छैनन्,’ उनले भने, ‘हामीले यहाँका भट्टाहरू अवैध हुन् भनेर वातावरण विभागमा पनि प्रतिवेदन पठाएका छौं ।’ उनले आफू निर्वाचित हुनुपहिले केही आसेपासे नेताहरूको आडमा दर्ता भएका रहेछन् भने तिनलाई बन्द गराउने बताए । ‘स्कुल र बस्ती नजिक त्यसरी भट्टा सञ्चालन गर्न पाइन्न, सञ्चालन भएका छन् भने त्यसको कुनै निश्चित व्यक्तिहरूको स्वार्थ जोडिएको देखिन्छ,’ उनले भने । उनले व्यावसायीहरूले इमान्दारीका साथ आफैले अवैध भट्टाहरू बन्द गर्न सुझाए ।

पछिल्लो समय उपत्यकालगायत बाहिरी जिल्लाहरूमा इँटाभट्टाले मानव स्वास्थ्य र वातावरणमा चरम समस्या निम्त्याएकाले अब सरकारले त्यसको विकल्प खोज्नुपर्ने वातावरणविद् भुषण तुलाधरले बताए । उनले यहाँका धेरै भट्टाहरू वातावरण र मानव बस्ती अनुकूल नभएको जानकारी दिए । ‘हावा पास हुने खालको डिजाइन अपनाउने र वरिपरिको संरचनालाई हेरेर भट्टा सञ्चालन गर्ने हो भने त्यसले कम समस्या निम्त्याउँछ,’ उनले भने, ‘हिउँद महिनामा सञ्चालन भएका भट्टाहरू बर्खाको बेलामा सञ्चालन गर्ने हो भने पनि प्रदूषण केही कम हुन सक्छ।’

भट्टाका गाडीले भत्कियो सडक

पाँचखाल छिर्नेबित्तिकै इँटा बोक्ने ट्रकको लाइन देखिन्छ । धुलो उडाउँदै कुँदेका ती ट्रिपरले सडक आसपासमा बुङबुङ धुलो काढ्छन् । धुलोका कारण स्थानीयवासी हैरान छन् । उनीहरु आफ्नो गुनासो लिएर वडा कार्यालय र नगरपालिका धाउँन थालेको पनि निकै भइसक्यो तर यसबारे जिम्मेवार निकायले कुनै चासो दिएको छैन ।

‘भट्टाले ठूलो विनास गरेको छ,’ स्थानीय तोरण वहादुर दनुवारले भने, ‘सडक भत्काएको छ, सबैतिर धुवाँ र प्रदुषण बढाएको छ, यसले पाँचखाललाई नै अस्तव्यस्त पारेको छ ।’ उनका अनुसार ट्रिपरकै कारण मुख्य सडकको अवस्था नाजुक बनेको हो।

भट्टाले सुकाए पानीका स्रोत

भट्टाका कारण पाँचखाल क्षेत्रमा खानेपानी हाहाकार मच्चिन थालेको छ । भट्टा सञ्चालन नआउञ्जेल पानी आउने स्रोतहरू सुक्न थालेका छन् । भट्टाले पानीको बढी प्रयोग गरेको र जमिनमुनिको पानी डिप बोरिङ गरेर निकालेका कारण स्थानीयलाई पानीको अभाव हुन थालेको स्थानीय चेतनाथ दंगालले जानकारी दिए । उनले कृषि उत्पादनको लागि पानी नभएकाले हिउँदमा खेतीपाती गर्न नसकिएको बताए।

‘पहिले–पहिले हिउँद महिनामा खानेपानीको खासै समस्या थिएन,’ उनले भने, ‘जब भट्टाहरू बढ्दै गए त्यसपछि खानेपानी र कृषि उत्पादनको लागि प्रयोग गर्ने पानीको अभाव देखिन थाल्यो ।’ उनका अनुसार अहिले इँटा भट्टाहरूले किसान हिउँदे खेती गर्न ल्याएको पानी प्रयोग गर्न थालेका छन् । जसको कारण खेतबारीमा लगाएको तरकारी खेती सुक्ने अवस्थामा पुगेको हो ।

स्रोत-

http://nagariknews.nagariknetwork.com/news/48235/

Leave a Reply

Your email address will not be published. Required fields are marked *