Best Online News From Nepal

पनामा पेपर्समा सात नेपाली

विश्वका शक्तिशाली नेता, कलाकार, उद्योगीव्यापारी लगायत धनाड्यहरूले कर छल्न र कालो धनलाई शुद्ध बनाउन सजिलो हुने ठाउँमा पैसा राख्ने गरेका छन् । बेलाबखत त्यस्तो सम्पत्ति कस्ले कहाँ लुकाएको वा राखेको छ भन्ने खुलासा हुन्छ । हालै अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जालले गरेको यस्तै एउटा खुलासालाई पनामा पेपर्स नाम दिइएको छ । पनामा पेपर्सको समाचार आइसकेको भए पनि गए राति सम्बन्धित कागजपत्र सार्वजनिक गरिएको थियो । ती कागजहरूमा नेपालीले समेत पैसा राखेको खुलासा भएको समाचार आज समीक्षितमध्ये दुईवटा दैनिक पत्रिकाले मात्रै प्रकाशित गरेका छन् ।
पनामा पेपर्समा नाम भएका नेपालीको सूचीमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाम पनि रहेको छ । नेपाली समय अनुसार मध्यरातमा सार्वजनिक गरिएको कागजपत्रमा भएको यो समाचारलाई आजका कान्तिपुर र नयाँपत्रिकाले दिन भ्याएका छन् । अन्य दैनिक पत्रिकाले याे समाचार  प्रकाशित गरेका छैनन् ।
नयाँपत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता गरिएका दुई कम्पनीमार्फत एनआरएनका संस्थापक अध्यक्ष महतोले ‘ट्याक्स ह्याभेन’मा खाता खोलेका थिए ।
कान्तिपुर दैनिकका अनुसार पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांशुकुमार चौधरी, करनकुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्मालगायतका नेपालीको नाम छ । यसबाहेक सतीशलाल आचार्यको पनि नाम थपिएको छ । पुरानो लिक्समा रेणुका प्रधान, रेखा काब्रा, डा. श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोदी, विजेश कुमार अग्रवाल, शैलेन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, विजेन्द्र जोशी, विनु श्रेष्ठ, विश्वासवरसिंह थापा, राजेन्द्रकुमार काब्राको नाम पनि सार्वजनिक भएको थियो । उनीहरूको नाम स्विस लिक्स भनेर पुनः सार्वजनिक गरिएको छ ।
डेढ कोलमको मुख्य समाचार बनाएको कान्तिपुरले ‘ट्याक्स ह्यावन’का रूपमा ख्याति कमाएका हङकङ र ब्रिटिश भर्जिन आइल्यान्डलगायत क्षेत्रबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा रहेको उल्लेख गरेको छ ।
नयाँपत्रिका दैनिकले यो समाचारलाई पानामा पेपर्सबाट जस्ताको त्यस्तै नामावली भन्दै प्रकाशित गरेको छ । पाँचकोलममा डबलडेक हेडलाइनमा पानामा पेपर्समार्फत् नेपालीको नाम सार्वजनिक भन्दै समाचार प्रकाशित गरेको छ ।
एनसेल प्रकरणमा लहरो तानिदै
पत्रिकामा प्रकाशित अरू समाचारलाई आज पनामा पेपर्सको समाचारले छायामा पारेको छ ।
आजको नागरिक दैनिकमा एनसेलको स्वामित्व हस्तान्तरणमा प्राप्त हुने लाभकर असुल नगर्न अर्थ मन्त्रालय र मातहत कार्यालयकै मिलेमतो देखिएको समाचार प्रकाशित भएको छ । तीन कोलममा प्रकाशित यस समाचारमा सरकारका मुख्यसचिव सोमलाल सुवेदीले दुई महिनाअघि नै एनसेल स्वामित्व हस्तान्तरणमा विगतमा पनि पुँजीगत लाभकर लिएको उल्लेख गर्दै त्यसै आधारमा व्यवस्था गर्न निर्देशन दिएका थिए ।
सुवेदीले माघ १८ मा अर्थसचिव लोकदर्शन रेग्मीलाई सम्बोधन गर्दै पत्र लेखेका थिए । त्यसको ७२ दिनपछि टेलियासोनेराले एक्जियटालाई एनसेलको स्वामित्व बेचेको थियो ।
त्यस्तै नागरिक दैनिकले डडेल्धुराको जंगलमा मिलेमोतोमा गोलिया जलाइँदै गरेको तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । आगजनि भएको सबै काठ नष्ट भएको बताउँदै करोडौं क्षतिपुर्ति दावी गर्न यस्तो कार्य गरिएको समाचारमा उल्लेख छ ।
आजको नयाँपत्रिका दैनिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दललाई व्यंग्य गर्दै ०७४ सालसम्म यो सरकार म्यादी सरकार भएको जवाफ दिएका छन् ।
विपक्षी नेपाली कांग्रेसले म्यादी सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा नजाने प्रतिक्रिया दिएपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।
आजको अन्नपुर्ण पोष्ट दैनिकले पनि प्रधानमन्त्रीले संसदीय दलको बैठकमा राखेका भनाइलाई मुख्य समाचार बनाएको छ ।
राजधानी दैनिकमा अन्जानको निर्णय सच्याउन कांग्रेसको संशोधन प्रस्ताव भन्ने शीर्षकको समाचार प्रकाशित गरिएको छ ।
केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक संशोधन गर्दा अन्जानमा केही निर्णय भएको भन्दै उसले सच्याउन माग गरेको छ ।
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ले तोकेको दशबर्ष कैद हुने अपराधमा सजाय घटाएर एकबर्षमा झारेको थियो । कांग्रेसले त्यसलाई सच्याउन माग गरेको छ ।
आजको गोरखापत्र दैनिकले प्रधानमन्त्रीले वुद्ध जयन्ती मुल समारोह समितिको बैठकमा बोलेका विषयलाई मुख्य समाचार बनाएको छ ।

source: baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *