Best Online News From Nepal

न दक्षिण न उत्तर न पश्चिम न पूर्व, अरुको भर पर्नेलाई परिरहन्छ कष्ट

Dr.Nirmala Mani Adhikary

अन्तर्राष्ट्रिय सम्बन्धका परिप्रेक्ष्यमा नेपालीजनले भुल्नै हुँदैन कि :—
न दक्षिण न उत्तर न पश्चिम न पूर्व, अरुको भर पर्नेलाई परिरहन्छ कष्ट । अरुको निगाहमा बाँच्ने होइन, स्वावलम्बी स्वाधीन समृद्ध बनाउने हो देशलाई ।।
(१) एउटा देश र अर्को देशको बीचमा जहिले पनि स्वार्थको सम्बन्ध हुन्छ । स्वार्थको प्रकृति र प्रवृत्ति परिवर्तनशील हुन्छन् । दक्षिणको छिमेकीले माया गर्छ कि उत्तरको छिमेकीले माया गर्छ भनेर आफू आफू गलफत्ती गर्नु, कित्ताकाट गर्नु, विदेशीका लागि आफू आफू नमिली बस्नु मूर्खता मात्र हो । कसरी उत्तर र दक्षिण दुवैतिरका छिमेकीलाई उपयुक्त तरिकाले उनीहरुका यथास्थानमा सन्तुलनमा राखी नेपालको आफ्नो हित साध्ने भन्ने नै हाम्रो मुख्य कुरा हुनु पर्छ । यथास्थानको तात्पर्य बुझ्न पानीढलोको सिद्धान्त पनि बुझ्नु पर्छ ।
(२) रणनीतिक स्वार्थवश एक देशले अर्को देशलाई महत्व दिने हुन् । अन्तर्यमा चाहिँ, बलियो देशले कमजोर देशलाई आफ्नो कठपुतली बनाउन खोज्छ । कमजोर देशले यो वा त्यो बलियो देशको साथ लिएर अर्कोसँग शत्रुता मोल्नु अहितकारी हुन्छ । वास्तवमा आफूभन्दा बलिया देशलाई धेरै नजिक र धेरै टाढा राख्दा दुइटै अवस्था खतरनाक हुन्छ, तसर्थ सन्तुलन नै वैदेशिक सम्बन्धको उत्तम सूत्र हो । आफ्नो खुट्टामा टेक्न सक्नेले मात्र सन्तुलन कायम गर्न सक्ने हो ।
(३) छिमेकी बदल्न नसकिने हुनाले छिमेकीसँग औपचारिक राम्रो सम्बन्ध वा तथा मित्रता नबनाई सुखै छैन । छिमेकी आफू भन्दा बलिया छन् भने त झन् सदैव चनाखो रहनै पर्छ । तिब्बतले पनि स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता गुमायो र सिक्किमले पनि स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता गुमायो । भुटान झण्डै चिरिप्प भएको थियो डोक्लाम विवादमा । बलिया छिमेकीहरु आपसमा मिले भने पनि खतरा, मिलेनन् भने पनि खतरा । अन्तर्राष्ट्रिय मञ्चहरुमा सदैव सक्रिय रहँदा छिमेकीहरुले बुन्ने माखेसांग्लोबाट बच्न मद्दत मिल्छ ।
(४) दक्षिणको छिमेकीले दुःख दिएको झोँकमा उत्तरको छिमेकीसँग धेरै नजिकिनु वा उत्तरको छिमेकीले दुःख दिएको झोँकमा दक्षिणको छिमेकीसँग धेरै नजिकिनु हुँदैन र उत्तर र दक्षिणका छिमेकी चिढिने गरी अल्लि परका (जस्तै पश्चिमा) देशहरुको पिछलग्गू बन्न त झन् हुँदैन । धर्म, संस्कृति, सभ्यताको जोसँग परम्परादेखि नै निकटता छ, त्यो स्वाभाविक रहन्छ र रणनीतिक सुरक्षाको परिप्रेक्ष्यमा चाहिँ विदेशीजति सबैसँग सतर्क नै रहनु पर्छ । आफ्नो खुट्टा दरोसँग टेक्ने र आफ्नो मस्तिष्कको केन्द्र आफैलाई बनाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *