Best Online News From Nepal

नेपाल भित्र लुकेको अर्को स्वर्ग, पर्यटकका लागि रुकुमको कमलताल

रुकुम  । बाक्लो जंगल, जंगलकै बिचमा ताल । त्यहीबाट आखैअघि देखिने धौलागिरी र काञ्जिरवा हिमसृङ्लाका हिमालहरु । पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो–दिनभर तालको सौन्दर्यसंगै रमाईरहु । त्यसैले  त दैनिक जसो तालमा घुमघामको लागि एक दर्जनबढि आन्तरिक पर्यटकहरु आउने गर्छन । रुकुम जिल्लाको रुकुमकोट गाविसमा पर्ने कमलताललाई नेपाल पर्यटन वोर्डले गन्तव्यको सुचिमा समेत राखेको छ । दुर्लभ जडिबुटि कमल पाईने राप्तीको एकमात्र कमलताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो तालसंगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा रहेकाले र वरपर आधादर्जन मठमन्दिर समेत रहेकाले पनि पर्यटकहरुको रोजाईमा छ ।

हिमसृङ्खलाका रमाइला दृश्यहरु 

धार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा करिब १५ जातका जलपन्छिहरुले डुबुल्कि मारिरहेको हेर्दा पर्यटहरुलाई मन्त्रमुग्ध पार्छ । वरीपरीका दर्जनबढि गाउको मनमोहकता पनि पर्यटकहरुको रोजाईमा छ । तालवरीपरी देखिने डाडापाखा,नजिकै पर्ने सिस्ने हिमाल तथा कारिञ्जिवा हिमसृङ्खलाका हिमालले पनि कमलताललाई थप सौन्दर्यमय बनाएको छ । यस तालबाट हिमसृङ्खला अन्तर्गत पर्ने सबै हिमालहरु देख्न सकिन्छ ।मौसमअनुसार फरक– फरक दृश्यालवलोकन गर्न सकिने तालमा कमल फुलेको हेर्न आउनेहरुको कात्तिक मंसिर महिनामा निकै भिड लाग्ने गर्छ । २ किलोमिटर क्षेत्रफलमा फैलिएको कमलदह पुग्न रुकुम सदरमुकाम हु“दै तिन घन्टाको जीप यात्रापछि पुग्न सकिन्छ । सदरमुकामसम्म पुग्न भने काठमान्डौ“ र नेपालगञ्जबाट हवाई उडानहरु उपलव्ध छ भएपनि हाल बिमानस्थल निमार्णको क्रममा रहेका कारण केहि समयका लागि यो संभब छैन । सडकमार्गबाट आउनका लागि काठमान्डौ र दाङबाट आधा दर्जन  गाडिहरु संचालनमा छन् ।जिल्लामा यो तालमा मात्र पाईने कमल लगायत तालको छेउछाउमा पाईने पाँचऔले, चुर्था, सिलपारो लगाएतका मुल्यवान जडिवुटिहरु तथा यस क्षेत्रमा बस्दै आएका विभिन्न वन्यजन्तुहरुले पनि ताललाई अझ महत्वपूर्ण बनाएका छन् ।तालकै बिचमा रहेको विष्णुको मन्दिरले पनि पर्यटकहरुको आकर्षन बढाएको छ ।

घुमन्ते चराहरुको आकर्षण 

तालवरपर बर्षेनी शिवरात्रि, चैते दशै, हतिालिका तिज, वडादशैमा रमाईला कार्यक्रमहरु आयोजना हुने गरेका छ । यो  तालमा कमल पाईने भएकाले तालमा नुहाएमा  विभिन्न रोग निको हुने विश्वास समेत गरिन्छ । जाडो समयमा आर्कषक प्रकृतिका तालमा घुमन्ते चराहरु आउने गरेको स्थानिय बासिन्दाहरुले बताएका छन् ।  आन्तरिक पर्यटकहरु सगै कहिलेकाही जिल्लामा आउने बाह्य पर्यटकहरु समेत कमलदहको सौन्दर्य हेरेर फर्कन्छन् । कमतताल पर्यटन विकास समितिका सदस्य पूर्ण गौतमले पर्यटकहरुका लागि तालछेउ रहेका घरहरु र स्थानिय होटेलहरुमा सजिलै बास र खाना पाईने बताए । अधिकांश पर्यटकहरु तालनजिकै क्याम्पिङ गरेर बस्ने गरेको गौतमले जनाए ।पर्यटकहरुका लागि स्थानियहरुले सांस्कृतिक कार्यक्रमहरु पनि देखाउने गरेका छन । यहाबाट फर्कदा कमलको चाना, मगर समुदायले बुनेका राडिपाखीहरु उपहारको रुपमा ल्याउन सकिन्छ । स्थानियहरुले आगन्तुकहरुलाई मकैको ढिडो र स्थानिय आलुको स्वाद खुवाउने स्थानिय शिक्षक ऋषिप्रसाद शर्माले जनाए । स्थानियहरुका अनुसार तालमा पौडि खेल्नसमेत सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *