Best Online News From Nepal

नेपाल नमरोस | नेपालीपन झाङ्गियोस |

प्रवीण अधिकारी 

19396873_651573915049114_7906405321824277743_n

=========================
नेपाल भित्र मौलिकता जोगाई हुर्किएर हाम्रो जनजीवनको विविध क्षेत्रमा समावेस हुन पुगेका कुरा नेपालीपना हो | नेपाली शब्दमा पना गाँसिएर बनेको यो भाववाचक संज्ञाको अर्थ हो नेपालीसंग संबंधित | यसरी हेर्दा नेपालीपना शब्दले त्यस्तो विचार र भावना संग सम्बन्ध गाँस्न पुगेको छ जसले हामीमा मौलिकपनाको वोध गराउँछ वा भनौं नेपाली तत्वहरुको झलक देखाउँछ वा भनौ जसले नेपाली संस्कृति संग अविचलित सम्बन्ध गाँस्न सकेको छ | नेपालीपनाको प्रयोग हामीले नेपाली राष्ट्रीयता व्यक्त गर्नपनि प्रयोग गर्ने गर्दछौ | अब हेरौं – नेपाल र नेपालीकालागि चाहिने प्रथम आवश्यक तत्व – नेपाली भूमि, नेपाली मान्छे , नेपाली सारभौमिकता , नेपाली भाषा र नेपाली संस्कृति | यसवाहेक प्रत्येक नेपालीमा उम्रिने , आंतरिक वा बाह्य रुपमा नेपाली भएर निष्ठापूर्वक जीउने भावना र नेपालको दिर्घायू र रक्षाको खातिर निरन्तरको प्रयाश ,नेपालीपनको कोसे ढुङ्गो हो | यस वाहेक संयम, सहिष्णुता, त्याग, उदारता , रचनात्मकता, सह-अस्तित्व, वन्धुवान्धवत्वको गुण हाम्रो नेपालीपनाका शाश्वत मूल्य मान्यताहरु हुन् |

नेपाल जहिले सम्म यो विश्वमा रहनेछ त्यतिखेर सम्म नेपालीपन यस संसारमा जिउँदो रहोस भन्ने कुरा प्रत्येक नेपालीको भित्री भावना हुनुपर्दछ , किनभने हाम्रो नेपाली पन प्राङ्गैतिहाँसिक कालदेखि आध्यात्मिक रहष्यहरुले ओतप्रोत हुँदै आएको छ | कसैले मानेपनि नामानेपनि हाम्रो नेपालीपनको श्वांस प्रश्वांसको केन्द्र विन्दू वा भनौ प्राण धान्ने श्रोत भनेको सनातन हिंदू धर्मनै हो | नेपालीपनको जगताधार धर्म हो र नेपाली भावना धर्ममा आधारित भावना हो | त्यसैले नेपालको सामाजिक, नैतिक र कलात्मक क्षेत्रले नेपाली तत्व दर्शनपरक सत्य सनातन मूल्य मान्यता जोगाएको छ भनेर हामीले भन्ने गरेका हौँ | यस विश्वमा छरिएर रहेका प्रत्येक नेपालीहरुको मनमा नेपालीहुनुको भावना जहिले सम्म रही रहन्छ तहिलेसम्म नेपालको राम्रो नराम्रो अनुभव तिनको हृदयले गरी रहनेछ, किनभने नेपालीपना त्यो बिन्दूबाट शुरु हुन पुगेको हो जुन विन्दूमा म नेपाली हुँ भन्ने आभाष हुन सक्यो |

(१) ” वसुधैव कुटुम्वकं ” को अवधारणा :
==========================
संपूर्ण विश्वलाई आफ्नो परिवार ठान्ने विशाल भावना नेपालीहरु संग मात्र थियो ,छ र रहनेछ |

अयं निजः परोवेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम।।

यो मेरो ,यो तेरो , त्यस्तो विचार विकारु , तुच्छ निम्न कोटिकाले मात्र राख्दछन | नेपाली चरित्रले समस्त संसारलाई नै आफ्नो कुटुम्ब ठान्दछ | वसुधैव कुटुम्बकम ठान्ने नेपाली मनले विश्ववंधुत्वको शिक्षा यो सम्पूर्ण विश्वलाई अनादिकालदेखि दिंदै आएको छ |

(२) विश्व कल्याणको अवधारणा :
=====================
“सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःख भाग्भवेत्॥ – ऋग्वेद बि.स. १९५८ सालदेखि नेपाल सरकारको मुखपत्र गोर्खा पत्रले सँधै सनातन हिंदू वाङ्गमयमा वर्णित विश्व कल्याणको कामना गर्दै आएको छ |यो नै सार्वभौम मानवधर्म हो |

(३) विश्वलाई श्रेष्ठ तुल्याउने संकल्प :
========================
” कृण्वन्तो विश्वमार्यम ” – यो सारा संसारलाई श्रेष्ठ, सभ्य एवं सुसंस्कृत बनाउनेछौ भन्ने संकल्प नेपालीहरुको श्रेष्ठ उद्देश्यको परिचायक हो | यो भावना नेपाली मनले आफ्नो उषाकालदेखि अभिव्यक्त गर्दै आएको हो |

(४) त्यागको भावना :
==============
ईशावास्योपनिषदको प्रथम श्लोकले नेपालीहरुमा भएको त्यागको भावना प्रष्ट संग अभिव्यक्त गरेको छ |

ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत।
तेन त्यकतेन भुंजीथा मा गृधः कस्य स्विद्धनम ॥

यस अखिल ब्रह्माण्डमा यो जड़ चेतन स्वरूपको नेपाल जहाँ रहेको छ त्यो ठाउँमा ईश्वरीय तत्व व्याप्त छ | तिनै ईश्वरलाई साक्षी राखी त्याग पूर्वक नेपालको भोग गर | त्यसमा आसक्त नहोउ किनभने धनको भोग कसैको अधिन रहन्न | यसले राजादेखि रंकसम्मलाई त्यागपूर्वक जीवन विताउने प्रेरणा दिएको छ | मिथिलाका राजा जनकदेखि यस भूमिमा सबैले यही प्रेरणा पाउँदै आएका छन् |

(५) वितरण प्रतिको दृष्टिकोण :
=====================

शत् हस्त समाहर सहस्रहस्त संकिर।
कृतस्य कार्यऽस्य चेह स्फार्ति समावह – अथर्ववेद

हे मान्छेहरु । तिमी सय ओटा हातले कमाउ अनि हजार हात बनाएर त्यो कमाई दान गर | यो उदार भावना राखेमात्र मानवजातिको उत्तरोत्तर उन्नति भएर जानेछ | यै भावाना राखिएमात्र समाजमा धन र संपत्तिको समानुपातिक वितरण सम्भव हुन सक्छ |

(६) सहिष्णुता :
==========
सहिष्णुताको अर्थ हो सहनशक्ति र क्षमाशीलता | धैर्य, विनम्रता, मौन भावना , शालीनता आदि यसका अनिवार्य तत्व हुन | नेपालीहरुमा भएको यहि तत्वले नेपाली संस्कृतिलाई अन्य संस्कृतिहरु भन्दा अलग र विशिष्ठ तुल्याउन सकेको छ | यसैकारणले नेपालले कसैलाई कहिल्यै दुख दिएनन सबै धर्मलाई आफ्ना आँगनमा फुल्ने फ़ष्टाउने प्रयाप्त अवसर दिएको छ |

(७) अहिंसात्मक प्रवृत्ति :
===============
अहिंसाको प्रारम्भिक अर्थ हो अर्काको चित्त नदुखाउनु | ‘आत्मवत् सर्वभूतेषु’ सबैलाई आफु सरह स्वीकार्नु र मनसा, वाचा तथा कर्मले अरुको चित्त नदुखाउनु | हाम्रा ऋषि मुनिहरुले त्यहि अहिंसालाई धर्मको मूल ढोका बताएका कारण त्यो शब्द हाम्रा समाजमा फ़ष्टाउन सकेको हो |

(८) आध्यत्मिकता :
============
आध्यात्मिकताकै कारण नेपालीपनालाई यो विश्वमा अन्य संस्कृतिभन्दा अलग राख्न सकेको हो | ईश्वर प्रति देखाउने समर्पण भावना नै आध्यात्मिकता हो | भक्ति, ज्ञान वा कर्म मार्गले आध्यात्मिकता प्राप्त गर्न सकिन्छ | यसले प्रत्येक आत्मामा विकास मार्ग खोल्दछ | पुरूषार्थ चतुष्टय आध्यात्म रहन सक्दा मात्रै संचालित, प्रेरित व अनुशासित हुन सक्छ |

(९) एकेश्वरवादको अवधारणा :
====================
एकं सद् विप्राः बहुनाम वदन्ति। ईश्वर एउटा छन तर विद्वानहरु ती ईश्वरलाई अनेकौं नाउँले बोलाउँछन |

(१०) सर्वधर्म समभाव :
==============
नेपालमा सनातन हिंदू धर्म प्रधान धर्म हो र त्यसैको छहारीमा अन्य धर्महरु हुर्किएको हो | पूजा गर्ने सबै पद्धतिलाई यसले स्वीकार गरेको छ | सबै धर्म प्रति सहिष्णुता राख्न सकेकै कारण यो धर्म समग्रमा हामी नेपालीहरुको ‘जीवन पद्धति’ भएर गएको हो | त्यसैले भनिएको छ –
‘‘धारयते इति धर्मः’’ अर्थात् जो धारण गरिन्छ त्यै धर्म हो | यसको अर्थ हो पवित्र आचरण र मानव कर्तव्यहरुको आचार सहिंता | धर्मको यो परिभाषा भित्र कसैले सांप्रदायिकता भेट्न सक्दैन | यस धर्मका चार पुरूषार्थ धर्म, अर्थ, काम र मोक्ष मानव जीवनका प्रेरक तत्व हुन पुगेका छन् |

(११ ) अनेकतामा एकता :
================
नेपाली संस्कृतिको महत्वपूर्ण विशेषता नै यहां रहेका नागरिकहरुको खान-पान, वेश-भूषा, भाषा, फरक भएपनि नेपाल राष्ट्रको नाऊँमा सबै एक हुनु हो |

(१२ ) राष्ट्रीयता :
===========
नेपालीपना जोगाउनु नै नेपालीहरुको राष्ट्रीय भावना हो र त्यहिनै नेपाली राष्ट्रियता हो | राष्ट्रीयता भित्र राजनीतिक निष्ठा रहेको हुन्न | त्यस शब्द भित्र देशको सार्भौमता र नेपाली संस्कृति प्रतिको अनुराग , आत्म सम्मान , गर्विलो भएर रहेको हुन्छ | राष्ट्रिय झण्डा , राष्ट्रिय गीत , राष्ट्रभाषा, राष्ट्रीय वीरहरु , महापुरूषहरु , नैतिकता तथा आफ्ना मूल्यमान्यताप्रति सम्मानको भावना प्रतिविम्वित भएको हुन्छ | यसैले नेपालीपन सबै नेपालीहरु भित्र नेपाली राष्ट्रीयता उमार्ने शसक्त माध्यम हो |- प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *