Best Online News From Nepal

नेपाल आमा पनि

(शार्दूलविक्रीडित छन्द)————-

19510674_1820192181329415_4167105020555083459_n

सारा वृक्षहरू भिजेर भुइँमा हाँगा नुहेका थिए!
माटामाथि लड़ेर झार र बुटा सोध्नेगरेका थिए!
हे धर्ती जननी कतातिर गईन् नेपाल आमा भन? 
ढुङ्गो भैकन भास्सिइन् तलतलै भन्दैछ हाम्रो मन!०१।

राखेकी यदि छौ लुकाउनगई छोपेर माटोमनि!
यी हाँगा, लहरा, बुटा, सुमनले आएर हेरून् भनी!
धर्तीमाथि निकालिबक्सनुहवस् हेरौं न हामी पनि!
भन्दै वृक्ष लता र पल्लवहरू रोएर यो जीवनी!०२

व्यर्थै बित्नगयो, भनेर धरणीलाई गरी स्पर्शन,
सोधे स्थावरले विलापिरहँदै नेपाल सम्झीकन!
नेपाली जननी म ल्याउँछु भनी गर्जी घना बादल!
विद्युद्-दाम-प्रभा रचेर नभमा हेर्थे हुँदै चञ्चल! ०३

खोला धेर बढ़ी असारभरि नै साह्रो सुसाईकन!
हिँड्थे उर्लिरहेर खेततिरको माटो निकालीकन!
देखिन्नन् जननी अझै किन भनी लम्केर चारैतिर!
मानौ खोज्न गए समुद्रतिरको बाटो लिई सत्वर।०४।

झुल्के सूर्य बिहानको समयमा लाली छरी पूर्वमा!
थाले खोज्न भनी चढ़ेर रथमा सम्पूर्ण ब्रह्माण्डमा!
आफ्नो ज्योति छरेर दोड़िरहँदै पुग्दाभए पश्चिम!
नेपाली जननी बिनै भुवनमा डुब्नेभए सिन्धुमा। ०५।।

धर्तीमा जब सूर्यले किरणको आभा समेटेपछि!
सन्ध्या काल पसिन् निशामय हुँदै पोखेर कालो मसी!
रात्रीमा जननी लुकेर अवनी छोड़ेर जालिन् भनी!
झुल्के चन्द्र कला लिएर वनमा छर्लङ्ग पारे पनि।।०६।।

ताराले पनि चम्किएर नभमा नेपाल खोजौं भनी!
हेर्थे भूतलमा झरेर कतिले साह्रो चनाखो बनी!
थुप्रै टल्किरहे बिहान हुनगो अल्पे नपाईकन!
थाकेछन् सब चक्रवाक वनका एक्लै डुली रातमा।।०७।।

पानी पर्न समाप्तभो गगनमा थाके अरे बादल!
हावा खोज्छु भनेर तम्सिनगए पारेर कोलाहल!
उड्थे चञ्चलता लिएर तरुका भाँचेर हाँगा कति!
थुप्रै वृक्ष लडाउँदै डुलिरहे सर्वत्र धर्तीभरि।।०८।

सारा वृक्षहरू उडेर वनका आकाशमा देखिए!
जम्मै झ्यासहरू परेर भुँवरी उड्नेगरेका थिए!
धर्तीको कसिंगर् बडारिरहँदै सर्वत्र खोज्दा पनि!
स्वाँ स्वाँ शव्द समीरले गरिरहे नेपाल आमा भनी।।०९।।

खोजे स्थावर, जङ्गमादि सबले नेपाल आमा भनी!
खोज्थे खेचरले उडी गगनमा नेपाल आमा भनी!
खोज्छन् जीव-जगत् चराचर सबै नेपाल आमा भनी!
के भेट्थे बिचरा कतातिर पुगिन् नेपाल आमा पनि।।१०।।

नेपाली जननी हराउनगईन् संसार यो रुन्छ रे!
नेपाली जननी बिना जगतको अस्तित्व के हुन्छ रे!
नेपाली अधिकारहीन बनिए वीरत्व मासिन्छ रे!
गोर्खावीरहरू! फिजी मुलुकभो फुर्केर के हुन्छ रे! ११।

खोजून् सन्ततिले सधैं मुलुकमा नेपाल आमा भनी!
होऊन् पूज्य शहीद यो मुलुकमा नेपाल आमा भनी!
तातून् वीरहरू सधैं मुलुकमा नेपाल आमा भनी!
भेटिन्छिन् यदि स्वाभिमान छ भने नेपाल आमा पनि।।१२।।

रचनाकार:कनकधारा स्वामी स्वदेशानन्द
रचनाकालः २९ जनवरी २०१७
समयः रात्री दस बजे
स्थानः कामाख्या धाम,गुवाहाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *